देश–समाज राजनीति राष्ट्रिय समाचार स्थानीय

१५ औं महाधिवेशनबाट सभापति गगनसहित तीन पद निर्विरोध, निर्वाचन बिहीबार विहानदेखि हुने

दमक । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेसँगै पार्टीभित्र सहमतिको प्रयास तीव्र बनेको छ । सभापतिमा पदमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले बुधबार उम्मेदवारी फिर्ता लिएपछि अब गगनकुमार थापाको बाटो खुल्ला भएको हो । दिनभरको प्रयासले गगन सभापतिमा निर्विरोध भए पनि औपचारिक घोषणा भने यो समाचार तयार पर्दासम्म भएको छैन । यसअघि वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन् । कांग्रेसले यसपटक विधान संशोधनमार्फत वरिष्ठ उपसभापतिको पद थप गरेको छ ।
सभापतिसँगै पदाधिकारी तहमा पनि उम्मेदवारी फिर्ताको क्रम देखिएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले खुलातर्फ उपसभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् । यसअघि मिनेन्द्र रिजालले पनि उम्मेदवारी फिर्ता लिने निर्णय गरेका थिए । चालिसे र रिजालको उम्मेदवारी फिर्तापछि खुला उपसभापतिमा धनराज गुरुङ, फारमुल्लाह मन्सुर, जीवन परियार, विनोद चौधरी, दीपक गिरी, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, मधु आचार्य, सीता गुरुङ, रञ्जित कर्ण र चन्द्रमोहन यादव प्रतिस्पर्धामा छन् ।
यसैगरी १९ निर्वाचित पदाधिकारीका लागि प्रारम्भिक रूपमा ७९ जनाको उम्मेदवारी परेको थियो । सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष पदमा निर्वाचन हुँदैछ ।
बुधबार कांग्रेसको बन्दसत्र भने वर्षा र हावाहुरीका कारण प्रभावित भयो । खुलामञ्चमा सञ्चालन भइरहेको बन्दसत्रमा मौसम खराब भएपछि प्रतिनिधिहरूलाई समस्या भएको थियो । बन्दसत्रमा राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची थियो । सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका छ । प्रारम्भिक सूचीअनुसार ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि मतदानका लागि योग्य छन् । थापाले बन्दसत्रलाई सम्बोधन गर्दै पार्टीमा पदलाई स्थायी हैसियत नभई जिम्मेवारीका रूपमा बुझ्नुपर्ने बताएका छन् । उनले कांग्रेसलाई गुट र पक्षको आधारमा विभाजित नगरी एउटै परिवारका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
विशेष महाधिवेशनदेखि नियमित महाधिवेशनसम्म आइपुग्दा कांग्रेसभित्र देखिएको विवाद र विभाजनलाई सहमतिमार्फत व्यवस्थापन गर्ने प्रयास अहिले निर्णायक चरणमा पुगेको छ । अब खड्गीले लिने निर्णय र अन्य पदाधिकारीमा हुने अन्तिम सहमतिले महाधिवेशनको स्वरूप निर्धारण गर्नेछ । कांग्रेसको नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र संगठन सञ्चालनको शैलीसमेत प्रभावित हुने देखिएको छ ।
प्रतिष्पर्धामा को–को ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी फिर्ता र दाबी–विरोधको प्रक्रिया सकिँदै जाँदा पदाधिकारीतर्फको प्रतिस्पर्धा पनि स्पष्ट हुँदै गएको छ । सभापतिमा किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता लिएपछि गगनकुमार थापा निर्विरोध हुने भएपछि सभापतिको निर्वाचनको च्याप्टर क्लोज भएको छ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका छन् । खुला उपसभापतिका दुई पदका लागि चन्द्र भण्डारी, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, धनराज गुरुङ,
दीपक गिरी, गोविन्द भट्टराई, चन्द्रमोहन यादव र देवराज चालिसेको उम्मेदवारी कायम रहेको छ । यसअघि उम्मेदवारी दिएका मिनेन्द्र रिजालले फिर्ता लिएका छन् ।
समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फरमुल्लाह मन्सुर, रञ्जित कर्ण र सीता गुरुङ प्रतिस्पर्धामा छन् ।
खुलातर्फका दुई महामन्त्री पदका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, नैनसिंह महर, सुनिल शर्मा, अमरसिंह पुन, शंकर तिवारी र प्रकाश उपाध्याय उम्मेदवार छन् ।
महिला महामन्त्री पदमा डिला संग्रौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनालबीच प्रतिस्पर्धा हुँदैछ ।
यसैगरी विभिन्न समावेशी समूहबाट सहमहामन्त्रीका लागि पनि ठूलो संख्यामा उम्मेदवारी परेको छ । महिला, खस–आर्य, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक÷अपाङ्गता समूहबाट उम्मेदवारी परेको छ ।
पदाधिकारीको अन्तिम सूचीमा केही उम्मेदवारी फिर्ता तथा प्राविधिक संशोधन हुन सक्ने भएकाले निर्वाचन समितिले सार्वजनिक गर्ने अन्तिम नामावली नै आधिकारिक हुनेछ ।
सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ३, महामन्त्री ३, सहमहामन्त्री ९ र कोषाध्यक्ष १ गरी १९ पदाधिकारीका लागि निर्वाचन हुँदैछ ।

Author

You may also like