दमक \ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशको दोस्रो महाधिवेशनको बन्दसत्रमा भएको निर्वाचनबाट अध्यक्षमा रामकुमार थापा पुनः निर्वाचित भएका छन् । बुधबार दमकस्थित कस्मिक पार्टी प्यालेसमा भएको सो अधिवेशनको निर्वाचन प्रक्रियामा अध्यक्षका प्रत्यासी थापासहित दुर्गा बस्नेत र विश्वमोहन थापा चुनावी प्रतिष्पर्धामा थिए । निर्वाचनमा थापाले २ सय ७० मत, बस्नेतले २ सय ३१ मत र विश्व मोहनले ४१ मत प्राप्त गरेका छन । थापाले बस्नेतलाई ३९ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् । सो अधिवेशनमा कुल ५ सय ४८ प्रतिनिधि सहभागी थिए । तीमध्ये ५ सय ४४ जनाले मतदान गरेका थिए । मतदानका क्रममा ६ मत बदर भएको थियो । अन्य पदाधिकारी नतिजा भने यो समाचार तयार पर्दासम्म सार्वजनिक गरिएको छैन ।
यसैबीच खुल्ला सत्रमा अध्यक्षता गरेका थापाले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमा सुदृढीकरण, आगामी निर्वाचनको तयारी र पार्टीका मूल राजनीतिक एजेन्डालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ । सो प्रतिवेदनमा विगतका कमजोरीको समीक्षा गर्दै संगठनलाई थप एकताबद्ध, अनुशासित र जनमुखी बनाउने आवश्यकता औंल्याइएको छ । प्रतिवेदनमा पार्टी विभाजन, आन्तरिक मतभेद, निर्वाचनमा प्राप्त परिणाम, संगठनका तह नियमित रूपमा परिचालित हुन नसक्नु, निर्णय तथा निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन नहुनु र जिम्मेवारीअनुसारको समन्वयको कमीलाई पार्टीले आत्मसमीक्षा गर्नुपर्ने विषयका रूपमा उल्लेख गरिएको छ ।
कोशी प्रदेशका १४ वटै जिल्लामा संगठन विस्तारलाई प्राथमिकता दिँदै तेस्रो अधिवेशनसम्म ५० हजार सक्रिय सदस्य बनाउने लक्ष्य राखिएको छ । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रत्येक जिल्ला, पालिका र वडाको संगठनात्मक अवस्था तथा स्थानीय जनअपेक्षाका आधारमा निर्वाचन रणनीति बनाउने प्रतिवेदनमा उल्लेख छ । प्रत्येक वडामा कम्तीमा एक जनप्रतिनिधि तथा सक्रिय संगठन निर्माण गर्ने लक्ष्यसमेत अघि सारिएको छ ।
अधिवेशनले संवैधानिक राजसंस्थाको
अध्यक्षमा….पुनःस्थापना, हिन्दु राष्ट्र, संघीयताको पुनरावलोकन, सुशासन, भ्रष्टाचारविरुद्ध अभियान, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानलाई पार्टीको प्रमुख राजनीतिक मुद्दाका रूपमा अघि सारेको छ । प्रदेश संरचनाको खारेजी तथा अधिकारसम्पन्न स्थानीय तहसहित प्रभावकारी केन्द्रीय शासन प्रणालीका लागि अभियान सञ्चालन गर्ने नीति पनि प्रतिवेदनमा उल्लेख छ ।
अधिवेशनले ‘जनसरोकारका विषयमा आन्दोलनमुखी दमक संकल्प–पत्र’समेत अघि सारेको छ । संकल्पपत्रमा राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक आत्मनिर्भरता, रोजगारी, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, भूमिहीन नागरिक, राष्ट्रिय सुरक्षा र वातावरण संरक्षणलगायतका विषय समेटिएका छन् ।
कोशी प्रदेशलाई आर्थिक, पर्यटन तथा उत्पादनको केन्द्रका रूपमा विकास गर्न जलविद्युत्, कृषि, उद्योग, व्यापार र पर्यटनलाई एकीकृत रणनीतिमा जोड्ने प्रस्ताव गरिएको छ । जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो तथा हिमतालजन्य जोखिम न्यूनीकरणका लागि सरकारलाई दबाब दिने नीति पनि अघि सारिएको छ ।
अधिवेशनले आगामी केन्द्रीय महाधिवेशन सफल बनाउने तथा विगतको निर्वाचन परिणामबाट शिक्षा लिएर संगठनलाई आगामी निर्वाचनका लागि अहिलेदेखि नै तयार पार्ने निर्णयको प्रस्ताव गरेको छ ।
अधिवेशनमा प्रदेश अध्यक्ष थापाले प्रस्तुत गरेको प्रतिवेदन हलले पारित गरेको छ । थापाको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन राप्रपाका केन्द्रीय महामन्त्री राजेन्द्र गुरुङले गरेका थिए । सो कार्यक्रममा प्रदेशका सबै जिल्लाबाट करिब ७ सय हाराहारीमा प्रतिनिधिहरु उपस्थित रहेका थिए ।