देश–समाज समाचार स्थानीय

दमकका ट्राफिक लाइटहरू प्रयोगविहीन, जनताको सुरक्षा जोखिममा

:– सुजन गाैतम :–

दमक/ सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि जडान गरिएका ट्राफिक लाइटहरू अहिले दमकमा प्रयोगविहीन बन्न पुगेका छन्। दमक नगरपालिकाको वडा नं. ५ बेल्डाँगी रोड र वडा नं. ६ का विभिन्न स्थानहरूमा जडान गरिएका ट्राफिक लाइटमध्ये केही बिग्रिएका छन् भने केही पूर्णरूपमा प्रयोगमै नरहेका छन्।

ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले रंगीन सिग्नल बत्तीहरूको माध्यमबाट सवारी चालक र पैदलयात्रीलाई संकेत दिने गरिन्छ। तर, दमकमा जडान गरिएका ट्राफिक लाइटहरूको उचित मर्मत तथा सञ्चालन नभएको कारणले ती सवारी साधन र पैदल यात्रु दुबैका लागि मार्गनिर्देशक बन्न सकेका छैनन्।

स्थानीय बासिन्दाहरूका अनुसार ट्राफिक लाइटहरू केही समय बलेपछि बन्द भए र त्यसपछि पुनः सञ्चालनमा ल्याउने प्रयास समेत गरिएन। नगरपालिकाद्वारा ठोस पूर्वाधार निर्माण बिना हचुवामा आयोजना अघि बढाइएको तथा त्यसको दीर्घकालीन उपयोगबारे सोचविचार नगरेको आरोप उनीहरूले लगाएका छन्।

स्थानीय चन्द्र प्रसाद उपाध्याय खतिवडाले भने, “ट्राफिक लाइट जडान गरिएको छ तर न उपयुक्त स्थानमा छ, न प्रयोगमै छ। यस्तो लाग्छ, केवल देखावटीका लागि गरिएको योजना हो। न ट्राफिक नियमको पालना भएको छ, न ट्राफिक लाइटको कुनै अर्थ बाँकी छ।”

यसैबीच ट्राफिक प्रहरी कार्यालय र सम्बन्धित निकायहरूले समेत ट्राफिक लाइटहरूको अनुगमन नगरेको र त्यसको प्रयोगबारे कुनै जिम्मेवारी नलिएको भन्दै आलोचना भइरहेको छ।

सडकमा यात्रुहरूले मनोमानी ढंगले बाटो काट्ने र सवारी साधन अनियमित रूपमा गुड्ने अवस्थाले दुर्घटनाको सम्भावना बढाएको भन्दै स्थानीयहरू चिन्तित छन्।

यसतर्फ सरोकारवाला निकायको छिटो ध्यान जानु आवश्यक देखिएको छ, अन्यथा ट्राफिक लाइटजस्ता महत्त्वपूर्ण पूर्वाधारहरू केवल सजावटको वस्तुमा सीमित हुने खतरा बढेको छ।

Author

You may also like