देश–समाज स्थानीय

प्रदेश सरकारका ८ निर्णय, मृतक परिवारलाई २ लाख राहत

दमक÷ सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्ने उद्देश्यले बसेको सर्वपक्षीय बैठकले आठबुँदे निर्णय गरेको छ । बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बैठकले राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षबीच समन्वय गरी सामाजिक सद्भाव कायम गर्न पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्ने निर्णय गरेको छ । साथै, स्थानीय प्रशासनसँग समन्वय गरी समुदायस्तरमा मेलमिलाप र सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न तथा सबै धार्मिक समुदाय र संघ–संस्थाले संयुक्त रूपमा शान्ति र सद्भावका लागि अपिल जारी गर्ने निर्णय पनि गरिएको छ ।
त्यसैगरी, सीमावर्ती क्षेत्रबाट कुनै पनि प्रकारका घुसपैठ वा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा सतर्कता बढाउने, घटनामा घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकले यस्ता घटना अन्य जिल्लामा फैलिन नदिन प्रदेशस्तरीय निकाय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबीच आवश्यक समन्वय गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।
यसैबीच, प्रदेश सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा आगजनीबाट जलेका घर, पसल, कबाड र घाइतेहरूको उपचार तथा राहतका लागि ५० हजार रुपैयाँसम्म उपलब्ध गराउने निर्णय गरेको बैठकले जनाएको छ ।

Author

You may also like