बबिता गेलाल
आधुनिक युगमा सूचना र ज्ञानको पहुँच अभूतपूर्व रूपमा विस्तार भएको छ । इन्टरनेट, कृत्रिम बुद्धिमत्ता र डिजिटल माध्यमले केही सेकेन्डमै हजारौँ जानकारी उपलब्ध गराउँछन् । तर जानकारी र ज्ञान एउटै कुरा होइन । जानकारीले तथ्य दिन्छ, तर ज्ञानले सही निर्णय गर्ने विवेक दिन्छ । यही विवेकको मार्ग देखाउने व्यक्ति नै गुरु हुन् । त्यसैले गुरु पूर्णिमा कुनै धार्मिक अनुष्ठान मात्र होइन, ज्ञान, संस्कार र आत्मपरिवर्तनको सम्मान गर्ने दिन पनि हो ।
आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने गुरु पूर्णिमा महर्षि वेदव्यासको स्मृतिसँग जोडिएको छ । वेदको वर्गीकरण, महाभारतको रचना र पुराणहरूको सम्पादनमार्फत वेदव्यासले ज्ञानलाई पुस्तान्तरण गर्ने आधार निर्माण गरे । त्यसैले उनलाई ’आदि गुरु’का रूपमा सम्मान गरिन्छ । यही कारण यो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ ।
नेपाली समाजमा गुरु भन्नासाथ विद्यालयका शिक्षक सम्झिने गरिन्छ । तर हाम्रो सांस्कृतिक परम्परामा गुरुको अर्थ धेरै व्यापक छ । जसले जीवनमा सही बाटो देखाउँछ, नैतिकता सिकाउँछ, अन्धविश्वासबाट मुक्त गराउँछ र व्यक्तित्व निर्माणमा योगदान पु¥याउँछ, ऊ गुरु हो । यस अर्थमा आमाबुवा, शिक्षक, आध्यात्मिक मार्गदर्शक, समाजका अग्रज वा जीवनका अनुभवसमेत मानिसका गुरु बन्न सक्छन् ।
गुरु(शिष्य सम्बन्धको सार श्रद्धा र अनुशासनमा आधारित हुन्छ । श्रद्धा भनेको अन्धभक्ति होइन, सिक्ने इच्छा र मार्गदर्शन स्वीकार गर्ने विनम्रता हो । शिष्यले प्रश्न गर्न पनि सिक्नुपर्छ र गुरुले उत्तर मात्र होइन, सोच्ने क्षमता पनि विकास गरिदिनुपर्छ । वास्तविक गुरु त्यही हो, जसले अनुयायी होइन, स्वतन्त्र चिन्तक तयार पार्छ ।
आज शिक्षा प्रणालीमा ज्ञानभन्दा परीक्षा, अंक र प्रमाणपत्रको प्रतिस्पर्धा बढिरहेको छ । यस्तो अवस्थामा गुरुको भूमिका अझ जिम्मेवार बनेको छ । शिक्षकले पाठ्यपुस्तक मात्र पढाउने होइन, इमानदारी, सहिष्णुता, जिम्मेवारी र मानवीय मूल्य पनि सिकाउनुपर्छ । समाजले पनि शिक्षकलाई केवल कर्मचारीका रूपमा होइन, भावी पुस्ता निर्माण गर्ने अभियन्ताका रूपमा सम्मान गर्न आवश्यक छ ।
गुरु पूर्णिमाले शिष्यलाई पनि आत्ममूल्यांकन गर्ने अवसर दिन्छ । हामीले आफ्ना गुरुबाट के सिक्यौँ, त्यो ज्ञानलाई जीवनमा कति उतार्न सक्यौँ भन्ने समीक्षा यही दिनको मुख्य सन्देश हो । गुरुको सम्मान फूल, माला वा उपहारले मात्र पूरा हुँदैन; उनले दिएको ज्ञानलाई व्यवहारमा उतार्नु नै सच्चा श्रद्धाञ्जली हो ।
आजको समाजमा गुरुको सम्मानसँगै असली र नक्कली मार्गदर्शक छुट्याउने विवेक पनि आवश्यक छ । प्रभावशाली भाषण गर्ने वा ठूलो भीड जम्मा गर्ने व्यक्ति मात्र गुरु हुँदैन । जसले सत्य, नैतिकता, मानवता र विवेकको बाटो देखाउँछ, त्यही गुरु सम्मानका योग्य हुन्छ ।
गुरु पूर्णिमाको सन्देश स्पष्ट छ(ज्ञानले मात्र मानिसलाई उज्यालोतर्फ डो¥याउँछ र त्यो ज्ञान सही गुरुबाट प्राप्त हुन्छ । त्यसैले यो पर्व केवल धार्मिक आस्थाको विषय होइन, सभ्य, नैतिक र जिम्मेवार समाज निर्माण गर्ने प्रेरणाको दिवस पनि हो । गुरुप्रतिको सम्मानले मात्र होइन, गुरुबाट प्राप्त ज्ञानलाई जीवनमा आत्मसात् गर्न सके गुरु पूर्णिमाको वास्तविक अर्थ सार्थक हुन्छ ।
– इटहरी, सुनसरी