दमक/ देश भरिमै चासो पूर्वक हेरिएको झापा क्षेत्र नंं ५ मा चुनावी गतिविधिले तिव्रता पाएको छ । यहाँ एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बालेन्द्र साहाको चुनावी प्रतिष्पर्धाका कारण पनि यो क्षेत्र धेरैको चासो बनेको छ । यसै क्रममा उम्मेद्वारी मनोनयनका लागि आएका बेला निर्वाचन केन्द्रित गतिविधि गरेर फर्किएका साह पुनः निर्वाचन क्षेत्रमा आई सक्रिय बनेका छन् ।
आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवारको रुपमा अघि सारिएका शाहले चुनावी अभियानका क्रममा ग्रामिण क्षेत्र प्रवेश गरेका छन् । उनले झापा–५ का सुकुम्बासी बस्तीका स्थानीयहरूसँग मंगलबार छलफल गरेका छन् । त्यस क्रममा उनले प्रदेश संरचनाबारे भ्रम सिर्जना गरिएको टिप्पणी गरेका छन् । बालेनले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत भएको बताएका हुन् ।मतदातासँग कुराकानी गर्दा बालेनले शिक्षा र स्वास्थ्यका विषयमा संविधानमा भएको व्यवस्थाअनुरूप काम गर्न बजेट अभाव रहेको कुरा बताएका थिए । जसको जवाफमा एक मतदाताले ‘बजेट छैन भने प्रदेश संरचना खारेज गरे पर्याप्त पैसा बच्ने’ दाबी गरेका थिए ।
त्यसपछि बालेनले भने, ‘होइन–होइन, प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो । त्यो पनि एक भ्रम हो । मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन ।’ प्रदेश तह प्रति बालेनको यस अघिको दृष्टिकोण भने फरक रहेको थियो । उनले २०७९ सालको निर्वाचनमा प्रदेश तहको मतदाननै बहिष्कार गरेका थिए ।
कमलको भेलामा स्थानीयहरूले विभिन्न एजेन्डा र नीतिका बारेमा प्रश्न गरेपछि बालेनले सबै एजेन्डा समेटेर विस्तृत घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका छन् । उनले फागुनको पहिलो साता पार्टीको, प्रधानमन्त्री उम्मेदवारको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउने बताए । बालेनले स्वास्थ्य, शिक्षा, पूर्वाधार र व्यापारसम्बन्धी स्पष्ट तथा छुट्टाछुट्टै नीतिहरू ल्याउने योजना रहेको बताए ।
टोल तह पुग्दै एमालेले
नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा टोल तह सम्म पुगेर चुनाव केन्द्रित समितिहरु गठन गरेको छ । यस क्षेत्रमा पर्ने दमक, कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न वडा र टोल सम्म पुगेर निर्वाचन परिचालन, प्रचार प्रसार लगायतका समितिहरु गठन गरेको छ । यी बाहेक महिला, युवा, विद्यार्थी, मजदुर, बुद्धिजिवी लगायत समेत समितिहरु गठन गरि परिचालन भएको निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले जनाएका छन् ।
उनका अनुसार एमालेका केन्द्रिय, प्रदेश स्तरका तथा स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुट्दै विगतका उपलब्धी र आगामी योजनाबारे जानकारी गराइरहेका छन् । दाहालका अनुसार युवा, महिला र किसानलाई लक्षित कार्यक्रममार्फत समेत एमाले सघन रुपमा मतदातामाझ पुगि रहेको छ ।
यसै क्रममा नेकपा एमालेले गौरिगञ्जमा ५०७ सदस्ययीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । समितिको संयोजक सर्वतलाल राजवंशी छन् भने ह्रृदय ठाकुर, श्याम ढकाल र मनिका मनिका राई सहसंयोजक रहेका छन् । यसरी नै सचिवमा कृष्ण महतो र सहसचिवमा अशोक ताजपुरिया रहेका छन् । भेलाले मनोज दाशको सयोजकत्वमा २१ सदस्यीय नेशनल भोलेन्टियर्स युथ फोर्स समेत गठन गरेको । निश्चल राई,चक्र भुजेल र दुर्गा राजवशी सहसंयोजक र सचिव परमेश्वर ताजपुरिया रहेका छन् । यस अघि विभिन्न पालिका, वडा र टोलमा समेत निर्वाचन लक्षित समितिहरु गठन गरिएको एमालेले जनाएको छ ।
सबै सक्रिय
यस क्षेत्रमा नेपाली कांग्रेसबाट मन्दरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला, श्रम संस्कृति पार्टीबाट समिर तामाङ् लगायत चुनावी मैदानमा छन् । चुनावी प्रतिस्पर्धामा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी, र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलहरूले पनि आफ्ना उम्मेदवार उठाएका छन् ।
यस क्षेत्रको मत आफ्नो पक्षमा पार्न सवै राजनीतिक दल तथा उम्मेद्वारहरु सक्रिय रहेका छन् । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा समेत उपस्थित भई कार्यकर्ताहरुलाई उच्च मनोबलका साथ परिचालित हुन आग्रह गरेका छन् ।
यस्तै नेकपाका उम्मेद्वार तामाङ् पनि विभिन्न क्षेत्र र समुहसँगको भेटमा सक्रिय रहेका छन् । यस्तै श्रम संस्कृति पार्टीले समेत यहाँ आफ्नो सक्रिय गतिविधि अघि बढाई रहेको छ । राप्रपाका उम्मेद्वार पनि विभिन्न टोल समुहमा पुगेर मत माग्न व्यस्त रहेका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेद्वारहरु पनि चुनावी गतिविधिमा लागेका छन् ।
झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।
झापा क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन् । यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् ।

Author

You may also like