अर्थ देश–समाज समाचार स्थानीय

दमकमा व्यवसाय अनुगमन तथा राजश्व संकलनको अभियान

दमक/ दमकमा व्यवसाय अनुगमन तथा राजश्व संकलनको अभियान शुरु भएको छ । पहिलो वर्षको सफलता र प्रभाव पछि चालू आ.व.मा दोश्रो वर्ष पनि यस्तो अभियान थालनी गरिएको हो । खास गरेर व्यवसायको स्थिति पहिचान र उद्योगी व्यवसायीहरुको समस्याका बारेमा जानकारी लिन र चुनौतीहरुलाई सम्बोधन गर्न पनि यस्तो अभियान संचालन गरिएको दमक नगरपालिकाले जनाएको छ ।
अभियानको मंगलबार दमक नगरपालिका प्रमुख राम कुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले संयुक्त रुपमा शुभारम्भ गरे । त्यस क्रममा राजश्व प्रशासन शाखा प्रमुख डम्बर राज बराल, शाखाका जिम्मेवार अन्य कर्मचारी, नगर प्रहरी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, आन्तरिक राजश्व कार्यालय दमकका प्रतिनिधि र दमक उद्योग वाणिज्य संघका प्रतिनिधिहरुलाई खादा र अविर टीका लगाइदिएर अभियानमा सरिक हुन अभिप्रेरित गरिएको थियो । यि सबै निकायहरुको संयुक्त टोलीले अबको ७० दिन सम्म व्यवसाय अनुगमन तथा राजश्व संकलनको कार्य गर्ने भएको छ ।
गत आर्थिक वर्ष २०८१÷०८२ मा यस्तो अभियान पहिलो पटक संचालन गरिएको थियो । अभियानका टोली संयोजक तथा राजश्व प्रशासन शाखा प्रमुख बरालले सो क्रममा १ करोड भन्दा बढी राजश्व संकलन भएको जानकारी गराएका छन् । यो वर्ष पनि अभियानले दमकको व्यवसायलाई थप व्यवस्थित र राजश्वको दायरामा आउने उल्लेख्य मद्दत पु¥याउने विश्वास व्यक्त गरे । दर्ता नगरी व्यवसाय संंचालन गरिरहेकाहरुलाई दर्ता हुन, नविकरणको म्याद गुजारेकाहरुलाई नविकरण गर्न तथा प्रकृयामा आउन ढिलाइ गरेकाहरुलाई जरिवाना लिएर वैधानिक हुन र तिर्नुपर्ने राजश्व घरदैलोमै तिर्न विशेष अवसर प्रदान गरेको उनको भनाई छ ।
यो अभियानका कारण नगरपालिका या सम्बन्धित वडा कार्यालयमा आउनुपर्ने झन्झटबाट पनि उद्योगी व्यवसायीहरुलाई मुक्ति मिल्ने देखिएको छ  । ‘व्यवसाय दर्ता, नविकरण र राजश्व संकलन ठाउँको ठाउँ हुन्छ, जहाँ व्यवसाय संचालन भएको छ, त्यही ठाउँमा यस्तो सुविधा उपलब्ध हुन्छ ।
दस्तुरहरु पनि त्यहीँ बुझाउन पाइन्छ । त्यसैले यो एउटा अवसर पनि हो ।’ नगरपालिको राजश्व प्रशासन शाखाले जनाएको छ । यस्तो अवसर र मौकाको फाइदा उठाउन सम्बन्धित सबै उद्योगी व्यवसायीहरुलाई दमक नगरपालिका प्रमुख राम कुमार थापाले अनुरोध गरेका छन् ।
अनुगमन टोली आयो भनेर डराउनुपर्ने या त्रास लिनुपर्ने कुनै कारण छैन । यो त अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने अभियान भएको पनि नगर प्रमुख थापाको भनाई छ । यसमा व्यवसाय दर्ता, नविकरण तथा जरिवानाका बारेमा उद्योगी व्यवसायीहरुलाई कसरी गर्ने भनेर प्रंकृयाका बारेमा जानकारी गराइन्छ, कानुनी प्रकृयाका बारेमा भनिन्छ, साथै कुनै साह्रो गाह्रो र अप्ठ्यारो छ भने त्यसको गाँठो फुकाएर सहयोग र सहजीकरण गर्ने काम गरिन्छ । यसमा सबैको सहयोग र सहभागिता अपेक्षित रहेको दमक नगरपालिकाले जनाएको छ ।
अभियानको शुरुवात दमकको वडा नं. १ बाट गरिएको छ । नगरपालिकाका सबै वडाहरुमा अभियान संचालन हुने र सबैको घरदैलोमै सेवा प्रदान गरिने दमक नगर उप–प्रमुख भट्टराईले बताएकी छन् । मंगलबारको अभियानमा वडा नं. १ का वडाध्यक्ष हरि प्रसाद न्यौपानेको सहभागिता रहेको थियो । अभियानका क्रममा सबै वडामा जाँदा वडाध्यक्षका साथै स्थानीय जनप्रतिनिधिहरुको पनि सहभागिता रहनेछ । अभियान संचालनका लागि दमक नगरपालिकाको सूचना प्रविधि शाखाका प्राविधिक कर्मचारीहरु पनि खटिएका छन् । उनीहरुले कम्युटर प्रविधिको काम गर्नेछन् । त्यस क्रममा राजश्व तथा व्यवसाय कर र जरिवाना लिने काम पनि फिल्डमानै हुनेछ भने व्यवसाय दर्ता र नविकरणको कागज पनि उपलब्ध गराइनेछ ।
यो अभियान प्रभावकारी र सफल देखिएकाले चालू वर्षमा पनि संचालन गरिएको बताइएको छ । यसबाट राजश्वमा वृद्धि हुने मात्र नभइ उद्योगी व्यवसायीहरुको अवस्था र समस्या बुझ्न पनि विशेष सहयोग मिलेको विगतको अनुभव रहेको नगर कर्मचारीहरु बताउँछन् । नगरपालिकाको लागि मात्र होइन, उद्योगी व्यवसायीहरुका लागि पनि अभियान फाइदाजनक भएको विश्वास गरिएको छ । दमक नगरपालिकाको १७ औं नगर सभा तथा कार्यपालिका बैठकले पारित गरेको नीति, योजना तथा कार्यक्रम अनुसार यो अभियान संचालन भइ दोश्रो वर्षमा प्रवेश गरेको हो ।

Author

You may also like