स्थानीय

रणनीतिक सडकको रूपमा बिकास गरिने

उर्लाबारी, ०४ माघ | उर्लाबारी – मधुमल्ला – दारेगौंडा – रवि सडक स्तरोन्नतिका लागि पहलकदमी थालिएको छ । यसलाई रणनीतिक सडकका रुपमा विकास गर्न सरोकारवाला पक्ष एकजुट भएका छन् ।

सम्बन्धित ठाउँका जनप्रतिनिधि, दलका प्रतिनिधि, सरोकारवालाहरु ब्यापक छलफल तथा अन्तरक्रिया गरी सडक निर्माण तथा सुधारका लागि एकजुट भएका हुन् । यस सडक खण्डलाई नेपाल सरकारले तोकेको नेपाल रोड स्ट्याण्डर्ड २०७० अनुसारको मापदण्ड बमोजिमको क्षेत्राधिकार कायम गरी स्तरोन्नति गर्न सरोकारवाला पालिकाहरुले साझा रणनीति तथा धारणा अवलम्बन गरेका हुन् । मिक्लाजुङ गाउँपालिका सभाहलमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई, इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, प्रदेश सभाका पूर्व सदस्य कुशल साम्बा लिम्बू, मिक्लाजुङ गापा उपाध्यक्ष दिनेश पौडेल, समाजसेवी मानबहादुर श्रेष्ठ, मिक्लाजुङ ८ का वडाध्यक्ष पुर्णबहादुर कुँवरलगायत सडक सरोकारवाला, दलका प्रतिनिधि र स्थानीयबीच छलफल भएको थियो । सो सडकको समस्या दिगो रुपमा समाधान गर्ने बिषयमा पहल गर्न घनिभूत छलफल गरिएको उर्लाबारी नगर प्रमुख खरेलले बताए । सो सडक सरोकार समितिलाई पालिकाहरुकोतर्फबाट आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउने पनि उनले बताए ।

यस्तै, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले सो खण्डलाई रणनीतिक सडकको रुपमा स्थापित गराई पूर्णरुपमा संचालनमा ल्याउन प्रदेश सरकार र संघीय सरकारसंग समन्वय र पहल गरिने जानकारी दिए ।

Author

You may also like