दमक, ०४ माघ । ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार ( आज) गणतन्त्र युगाण्डा प्रस्थान गर्दैछन् ।
यही माघ ५ र ६ गते युगाण्डाको राजधानी कम्पालामा हुने सम्मेलनमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको शत्रलाई माघ ५ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उनी गणतन्त्र युगाण्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री प्रचण्ड युगाण्डा भ्रमणमा जाने भएपछि बुधबारको मन्त्रिपरिषद्को बैठकले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । बैठकले, सरकारले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ । यो सहित ६ वटा निर्णय भएको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जनाइन् ।