लेख विज्ञान/प्रविधि

नेपालमा बढ्दो साइबर अपराध

अपराध गर्नु भनेको आफ्नो गरिमालाई नामेट बनाउनु हो । जो जोले जसजसले अपराध गर्छन् उनीहरू समाजका कलङ्क हुन् किनकि अपराध जानेर, बुझेर पनि गर्नै हुन्न । अपराध गर्नेहरुलाई कोहि कसैले पनि स्वीकार गर्दैन । आखिर यो जान्दाजान्दै पनि किन आजको आधुनिक मानव दिनदिनै अपराध गरिरहेको छ ? आफ्नो मानवीय गरिमालाइ किन भुल्दैछ ? अर्काको चरित्र हत्या गर्न किन उद्दत छ ? अपराध गरेर के फाइदा छ र अपराध गर्नु ? हो हिजोआज जानेर बुझेर पनि मानिस अपराध गरिरहेको छ ।

साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् । बिज्ञान र प्रविधिको विकाससङ्गै अपराधको संसार पनि विकसित हुँदै गएको छ । साइवर अपराध पनि बिज्ञान र प्रविधिसँग जोडिएको अपराध हो । हो, कम्प्युटर र इन्टरनेटबाट गरिन्छ साइवर अपराध । यसैको हब र जोखिम दिनानुदिन बढदै गएको छ नेपालमा । यस्तो अपराध अन्तरगत पर्ने अपराधहरु हुन् – कसैको चरित्र हत्या, वेवसाइट तथा इमेल ह्याकिङ, डाटा चोरी, इन्टरनेटमार्फत ब्लाकमेलिङ , इन्टरनेट बैङ्किङ जालसाजी, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विधुत्तीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति र जालसाजी गर्नेहरुको भीड हिजोआज ह्वात्तै बढेको छ । यस्तै साइवर अपराधमा इन्टरनेट र एक्स्ट्रानेटसँग सम्बन्धित अपराधका सबै गतिविधिहरु पर्दछन् । पछिल्लो आँकडा अनुसार इन्टरनेटको प्रयोग युवादेखि बृद्धवर्गले यसको प्रयोग ह्वात्तै बढाएका छन् । आफ्ना घरपरिवारका सदस्यहरु बिदेशी बसाइले गर्दा उनीहरूसँग सम्पर्क बढाउनका लागि र सुख – दुःखका अनुभूति साटासाट गर्नका निम्ति यसको प्रयोग धेरै गरिरहेका हुनाले पनि साइबर ह्याक गरेर गलत क्रियाकलाप गर्ने ब्यक्तिहरुको झुण्ड बढेका कारणले साइबर अपराध बढेको हो । आज यहीँ कारणले पनि इन्टरनेटले एकातर्फ मानवलाई जोडिराखेको छ भने यो सङ्गै टाढापनि बनाएको छ । पछिल्ला केही घटनाहरु हेर्ने हो भने नेपालको साइबर स्पेसमा कम्प्युटर, मोबाइल र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम अहिलेसम्म रोकिएको छैन । यसमा सम्बन्धित सरोकारवाला पक्ष कहाँ छ ? के गर्दैछ ? यसलाई कसरी रोक्न सकिन्छ भन्नेतर्फ ध्यान जान सकेको देखिन्न । सरकार, दूरसंचार र इन्टरनेट सेवा प्रदायक, बैंक, एयरलाइन्स लगायतका कम्पनीका सिस्टममा अझै आक्रमण भइरहेका छन् । आखिर किन भइरहेको छ त ? यसको सूक्ष्म अध्ययनसम्म हुन नसकेको देखिएकाले पनि आपराधिक गिरोहहरु बढिरहेका छन् । यसरी दिनदिनै साइबर ह्याकरहरु बढिरहदापनि सबै घटना बाहिर नआउनु अलग पक्ष छ । कतिपय अवस्थामा नेपाल साइबर अपराधको हब बन्दै जान सक्ने सम्भाव्यतालाई भने नकार्न सकिन्न । नेपालमा यस्ता घटनाको अनुसन्धान गर्न भने कठीन छ । यसको जड कारण भनेकै कानुनको अपर्याप्तता हो । साइबर समस्याको मुल जड भने अधिकांश इन्टरनेट तथा कम्प्युटर प्रयोगकर्तामा साइबर थ्रेटबारे आधारभूत जानकारी नहुनु नै हो जसले साइबर सुरक्षाको चुनौती बढ्दै गएको हो । आज सरकारी तथा निजी विद्यालयमा अध्ययन गर्ने जो १३ वर्ष ननाघेकाहरु आफ्नो फेसबुक आइडी बनाएर एकअर्काबीच नराम्रो काम गरिरहेका छन् । सामाजिक संजालका अनेकन साइबर लिङ्क बाढिरहेका छन् । अनैतिक भिडियो शेयर गरिरहेका छन् । विशेषत ः सरकारले कुन उमेर समूहकाले सामाजिक सञ्जालको प्रयोग गर्ने हो भन्ने उमेरगत समूह नछुट्ट्याइ दिएको कारणले पनि यहाँ बिकृति बढिरहेको छ । साना उमेर समूहका बालबालिकाले यसको दुरुपयोग गरिरहेका छन् । नियन्त्रण कुनै पक्षबाट गरेको देखिन्न । यही कारणले पनि सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थपूर्ति गर्नेहरुको भीड बिगबिगी रूपमा बढ्दै गएको छ । आज केही मानिसहरुको लागि त सामाजिक सञ्जालमा नकारात्मकता फैलाउने महत्वपूर्ण क्षेत्र बनेको छ । मान्छेको भावनामा खेलेर होस् या बहेर होस् यानेकि ब्लाकमेल गरेर होस् साइबर दुरुपयोग दिनानुदिन बढिरहेको छ । रोकिनेवाला छैन, झन बढदो छ । यस्तो नकारात्मक मनोबिज्ञानमा पिसिएका बालबालिका तथा युवाहरु कुन दिसामा जादैछन् । यो चिन्ताको बिषय बन्नु जरुरी छ तर यस बिषयमा सार्वजनिक सरोकारको बिषय भने हुन सकेको देखिदैन । सिमित क्षेत्रलाई छोडेर यसको सचेतना फैलाउनमा पनि सक्रियता खासै देखिन्न । यसैका कारण सार्वजनिक सेवा प्रदायक प्रत्यक्षसरोकार राख्ने लगायत विभिन्न सरकारी वेवसाइट एवं वेव एप्लिकेसन आज अवरुद्ध हुन पुग्यो । सुरक्षा प्रणाली मजबुत बनाउन नसक्दा ह्याकरहरुको आक्रमणमा परेर सरकारी वेवसाइट एवं वेव एप्लिकेसन अवरुद्ध हुने तथ्यांक हराउने समस्या बारम्बार पुनरावृत्ति हुँदै आएका छन् । यतिहुँदाहुँदै सरकारी वेवसाइट सुरक्षित बनाउन सरकारले केही नीतिगत एवं संरचनागत व्यवस्था त गर्दै आएको छ तर पर्याप्त देखिएका छैनन्, जसको पुष्टि बारम्बार भइरहेका समस्याले पनि गर्छन् । गत वर्ष माघमा डेटा सेन्टरमा डिडस आक्रमण हुँदा झण्डै एक सातासम्म कतिपय सरकारी वेबसाइट राम्ररी चलेनन् । अघ्यागमनको अनलाइन सेवा अवरुद्ध हुँदा अन्तर्रास्ट्रियतर्फका उडान प्रभावित भएका दृष्टान्त पनि छन् । सेवा घण्टौ अवरुद्ध हुने गरी पटकपटक आक्रमण भइरहनुले वेबसाइटको सुरक्षा सरकारको प्राथमिकतामा पर्न नसकेको देखाउँछ ।

वेबसाइट एवं साइबर सुरक्षाका लागि प्रयोग गरिने सुरक्षा साधनको लाइसेन्स नवीकरणसमेत बेलैमा नगरिनुले पनि सरकारको उदासीनतालाई थप प्रष्ट्याउछ । लाइसेन्स नवीकरण नगरिएका कारण पनि कतिपय सरकारी वेवसाइटमा समस्या आइरहेको देखिन्छ त्यो क्रम अहिलेपनि जताततै जतासुकै छ । यस्तो समस्या अहिलेसम्म आइरहदासम्म सरोकारवाला पक्षको नेत्रज्योति नखुल्नु कतिको लज्जास्पद कुरा हो । यतिमात्र होइन सरकारले २०७२ मा ल्याएको सूचना तथा सञ्चार प्रविधि नीतिमै ‘साइबर आक्रमण पहिचान, रोकथाम, प्रतिरक्षा लगायतका आयामहरुलाइ सम्बोधन गर्ने , साइबर सुरक्षा सम्बन्धी क्षमता अभिबृद्दि कार्यक्रम सञ्चालन गर्ने’ जस्ता प्रावधान राखिएका थिए ्र तर त्यही अनुसारको ब्यबस्थापन सम्बन्धी निर्देशिका २०७८ ले ‘सरकारी कार्यलयले सूचना प्रविधि विभागबाट वेबसाइटको सुरक्षा र विश्वसनियताको सम्बन्धमा वर्षको कम्तिमा एकपटक सुरक्षा परीक्षण ( अडिट ) गर्नेपर्ने भनेको छ । तर अफसोच, अहिलेसम्म नियमित सबै सरकारी वेवसाइटको सुरक्षा परीक्षण नै नियमित रुपमा भइरहेको छैन । यो अनिवार्य रूपमा गर्न सम्बन्धित सरोकारवाला पक्षको ध्यान जान सकोस् । नत्र साइबर आक्रमण थेग्न नसकेर सरकारी वेबसाइट ठप्प हुने निश्चितप्रायः छ । यसमा सम्बन्धित निकायले उच्च सतर्कता अपनाउनु जरुरी छ ।

You may also like