==== छिमेकी मुलुकहरुले हाम्रो मुलुकलाई राम्ररी प्रयोग गरे । यो उनीहरुको राजनीतिक कला थियो । कलाविहिन कलाकारिता गर्ने कलाकार हुँदैन । हाम्रो मुलुुकमा अर्काले नचाउने राजनीतिक स्वाँठहरु पनि जन्मे । अर्काको हितलाई अप्रत्यक्ष राखेर जनचाहनाको निहुँमा मुलुकनै बर्बाद पार्नेहरु पनि जन्मे । =====
–नरपति पाण्डे
व्यक्तिगत विभिन्नताको प्राकृत नियम अनुसार विचार र दृष्टिकोण व्यक्तिका अलग हुन्छन् । विचार र दृष्टिकोण क्रमशः जन्माउँदै शक्रिशाली बनाउने माध्यम राजनीति हो । समाजको साङ्गोपाङ्गो विकासको गति निर्माण गर्ने आधार राजनीति भएको कारणले त्यसलाई चलाउने पात्रहरु लट्ठक होइन चिन्तक, भक्षक होइन रक्षक, दुस्साहसी होइन साहसी, कर्कश होइन मृदुभाषी, आलोचक मात्र होइन समालोचक, अपराधी होइन परोपकारी, हुनु पर्दछ । यो चिरकालसम्म परिष्कृत हुँदै जान्छ ।
हिंसात्मक विचार र दृष्टिकोणबाट नकारात्मक नतिजाहरु मात्रै देखापर्दछन् । यसबाट प्रभावित र प्रत्यक्ष परिचालित राजनीतिक गतिविधि दशक वा केही दशकको अन्तरालमा पुग्दा निराशा र अधोमुखि हुने गरेको छ । समय परिस्थितिले यो प्रमाणित गर्दै आएको छ । जनचाहनाको कथित आवरणमा दम्भ र कुण्ठाबाट आर्जित मुढेबललाई राजनीतिको संज्ञा दिँदै जाने हो भने राजनीति राजनीति नभएर कुस्तीको अनन्त अपराधी सञ्जाल मात्र हुँदै जान्छ ।
राजनीति मानव समुदायदेखि निरपेक्ष हुँदैन । कोही पढेका बुज्रुक समेत समाजका संस्कृति विशेषका विधाहरु राजनीतिदेखि निरपेक्ष हुनुपर्छ भन्दै लिँडेढिपी गर्न पुग्छन् । मानवको हितका लागि सम्पूर्ण मार्गलाई परिचालित गर्ने राजनीति हो । तसर्थ राजनीति हरेक पक्षहरुसँग सापेक्ष हुन्छ । मानवले चलाउने र प्रयोग गर्ने भाषा, साहित्य, तथा संस्कृति विशेष सबै पक्षहरुमा राजनीतिको गहिरो सम्बन्ध गा“सिएको हुन्छ ।
मानव संवेदनशीलताको सम्बोधन राजनीतिले गर्दछ । दार्शनिकहरुको विचार र दृष्टिकोणले समाजलाई गति प्रदान गरेको छ । ति विचारहरुको सारले पनि समाजका कमजोर हैसियतमा रहेका र सिमान्त हैसियतमा रहेका जनताहरुको हितमा राजनीतिले प्रतिवद्ध समायोजनपूर्ण जिम्मेवारी पूरा गर्नु पर्दछ । हो यही नभएका कारणले नकारात्मक राजनीतिक द्वन्द्वले टाउको उठाउँदै आएको छ ।
नागरिकहरुको मानवीय मूल्य र मान्यताको विकासका लागि मानव श्रमको व्यवस्थापन गर्न राजनीतिक क्रियाकलापहरुले कहिंकतै चुक्नु हुन्न भनेको यही कारणले हो । राजनीतिक व्यवस्थाले आºनो अर्थनीतिमा मौलिक कार्यक्रमहरु तर्जुमा गर्न सक्दा मात्र नागरिकहरुको आर्थिक उन्नति हुन्छ । आफ्नो भूभागभित्र बसोबास गर्ने नागरिहरुको चाहना विपरीत अतिरञ्जनापूर्ण राजनीतिक नामका घटनाहरुले जनचाहनाको सम्बोधन गर्दैनन् । आफ्ना कार्यकर्ताहरुलाई के भनेर उत्तेजित पार्न सकिन्छ भन्ने मनोविज्ञानबाट प्रशिक्षित नेतृत्वले दर्शनको दुहाई दिने प्रथाले शास्त्रीय जडताको प्रतिनिधित्व गर्दछ र उत्पन्न परिणाम निराशाजनक हुन्छ ।
संसारका अरुहरुले इमान र कर्तव्यलाई राजनीतिको चालक बनाउन सक्नेहरुले आºनो जन्मभूमि र कर्मभूमिलाई वैभवशाली बनाएका छन् । आफ्नो देशका नागरिहरुको सुविधाहरुलाई चुल्याएका छन् । देशलाई आइपर्ने विपत्तीहरुबाट जोगाउन सफल भएका छन् । सामरिक महत्वलाई राम्ररी बुझेर अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरेका छन् । आर्थिक आत्मनिर्भरतालाई सम्पन्न बनाई गरिब राष्ट्रहरुलाई निरन्तर सहयोग पु¥याई आफूहरुमाथि परेका छन् ।
हाम्रो मुलुकमा विदेशीहरुको अप्रत्यक्ष र प्रत्यक्ष रुपमा देखिने हस्तक्षेपहरु यसैका कारणहरु हुन् । तर हाम्रोमा आफूले आफूलाई चिन्न बुझ्न नसक्ने अनि अर्कालाई सत्तोसराप गर्ने प्रवृत्ति आफूभित्र रहेको अज्ञानतालाई लुकाउने दुष्प्रयत्न मात्रै हुँदै आएको छ । प्राकृतिक स्रोतसम्पन्न र मानवीय शक्ति सम्पन्न मुलुक नेपाल निरन्तर खस्कँदै जानुमा कसको लापरवाही हो ? पुर्पुरोमा हात राखेर सोचौं त ।
नागरिकहरुको चाहना विपरीत निरपेक्ष राजनीति गर्ने परिपाटी नै मुलुकलाई बर्बाद गर्ने प्रवृत्ति हो । आफ्नो मुलुकको सामरिक महत्व बुझेर जनताको भावना जित्न सक्ने राजनीतिक कुशलता मुलुकले पाएन । कुशल विचार र व्यवहार हुने राजनेताहरुले मुलुकको नेतृत्व गर्न नै पाएनन् । बैज्ञानिक विचार र दर्शन जनता सापेक्ष बन्न सकेन । गर्न खोज्ने राजनीतिक व्यक्तिहरु षड्यन्त्रको शिकार भए । निश्चित व्यक्ति र समूहको राजनीतिक आनन्दको साँघुरो घेरामा असल दार्शनिक राजनीति कैद हुँदै आयो ।
जनचाहनाको बहानामा अयोग्यहरुले अर्कै बाटो समातेर नागरिकहरुको गतिशीलतालाई बलात् तोडमोड गरे । घातप्रतिघात र हिंसाप्रतिहिंसाले चक्रधुम मच्चाइ रयो । जडतामा राजनीति फस्यो । राजनीतिको विषय जनचाहना भएन । अस्थिरतालाई मात्रै बोक्न मुलुकलाई बाध्य बनायो । यो स्वीकार्न सम्बन्धित पक्षहरुलाई गाह्रो त पर्ला तर यथार्थ भने यही नै हो । जनवाद र प्रजातन्त्रको नाममा गरिब मुलुकको अपार जनशक्ति आपसको मुठभेडमा कुहिराको काग बनाइए । यो जनचाहना थिएन । झुटा काम गरेर राजनीतिको लेप लगाउनेहरु कार्टुनका पात्र भए ।
छिमेकी मुलुकहरुले हाम्रो मुलुकलाई राम्ररी प्रयोग गरे । यो उनीहरुको राजनीतिक कला थियो । कलाविहिन कलाकारिता गर्ने कलाकार हुँदैन । हाम्रो मुलुुकमा अर्काले नचाउने राजनीतिक स्वाँठहरु पनि जन्मे । अर्काको हितलाई अप्रत्यक्ष राखेर जनचाहनाको निहुँमा मुलुकनै बर्बाद पार्नेहरु पनि जन्मे । विद्वान भनिनेहरुले नरसंहारलाई जनचाहना समेत बनाए । के राजनीतिक कुशलता भनेको यस्तै विभत्सताहरु नै हो ? तर स्वाभिमानको राजनीतिक चिन्तन गर्ने राजनीतिक विद्वानहरुलाई आरोपहरुको पगरी लगाई दिन्छन् र जिम्मेवारीमा आउन नसक्ने गरी सामाजिक प्रदूषण खन्याई दिन्छन् । यो जनचाहना होइन । आफू दृष्यमा आउनलार्ई पहिले जे जे कुराको विरोध गर्छन्, पछि जिम्मेवारीमा पुगेपछि तिनै परम्परागत कामहरु गर्न पुग्छन् ।
अनि अग्रगामीको न्यानोमा आत्मरतिमा रमाउन पुग्छन् । यो हाम्रो देशमा देखिएको विडम्वना हो । युगले मागेको आवश्यकताको तर्जुमा गर्न सक्ने राजनीति मात्रै जनचाहना हो । कुटअभिष्ट बोकेर गरिने कामहरुलाई राजनीति भन्दै जाने हो भने राजनीति दुर्गन्धहरुको गन्धेखाडी बन्दै जानेछ ।
आन्तरिक कुशल शासन जनचाहना हो । शान्तिपूर्ण राजनीतिक र साँस्कृतिक वातावरण जनताको इच्छा हो । शान्तिपूर्ण वातावरणमा मात्र अग्रगामी राजनीति कामहरु हुनसक्छन् । अग्रगमनको नाममा पेलपाल गर्ने कामरु राजनीति नभएर स्वार्थ पूरा गराउने प्रपञ्च मात्र हुन् । वैयक्तिक स्वतन्त्रता र सामाजिक मेलमिलाप राजनीतिले सिर्जना गरिदिनु पर्दछ । नागरिकहरुले श्रम र सिर्जना गर्ने वातावरण राजनीतिले मिलाई दिनु पर्दछ । सहिष्णुतापूर्वक मावन व्यवहार गर्ने संस्कृति बनाइ दिनु पर्दछ । पक्षपातपूर्ण व्यवहारहरु हटाइ दिनु पर्दछ । यो नै जनचाहना हो ।
राजनीतिक लेपन गरिएका हत्या, हिंसा र लुटपाटको अन्त्य जनचाहना हो । राजनीतिकर्मीहरुको जीवनशैली र नागरिकहरुको जीवनशैली बीचको एकरुपता नै जनचाहना हो । आरोप, षड्यन्त्र, विध्वंस र छलकपटहरु जनताका राजनीतिका चाहनाहरु होइनन् । जवाफदेही, उत्तरदायी र कर्तव्यमुखी राजनीति नै जनचाहना हो । जनताको इच्छामा सुदन्रताको प्रतिबिम्ब हुन्छ । श्रमले आरोग्यता प्राप्त गरेर काम गर्ने थलोहरुमा शान्त र निष्फिक्री मनइच्छा नै नागरिकहरुको प्रतिक्षा हो । बोक्रे प्रतिबद्धताले उनीहरुको चाहना तृप्त हुँदैन ।
संक्रमणको अस्थिरतामा अपराधको छायाँ सक्रिय भैरहन्छ । अपराध एउटा ग्रहण हो । त्यसभित्र जनताविरोधी तत्व जनताकै नाममा राजनीतिक रङ्गमा खेल खेलिरहन्छ । निर्वाचनीय राजनीतिमा भाग लिएर राजनीति गर्ने शक्तिहरुमा कम्तिमा नागरिकहरुलाई नछक्याइ आफ्नो इमान नबिग्रिने गरी राष्ट्रिय राजनीतिमा गतिविधि गर्दा मात्र जनताको आशामा ठेस लाग्दैन । कुपोषित नीतिको जनक जनता अलाप्ने ढङ्गबाट प्रक्षेपित हुनु आफैँमा दुःखद घटना हु“दैछ ।
जनताको मनोइच्छा बुझेको स्वाङ पार्ने तर त्यसअनुरुप काम गर्न उद्यत नहुनु शकुनी ज्ञानपासा निर्वाचनको हतियार हुँदै आएको छर्लङ्ग छ । अन्त्यमा कर्ममा धन्नुकारी प्रवृत्ति प्रदर्शन गर्न पुग्दछन् । मपाइँ मोहनी बोक्रेहरुको निर्वाचनीय धुत्र्याइँ घोषणापत्रको मायावी चाल हुनेगरेको छ । आफैँ अत्याचारको विरोध गर्छन् र अचाक्ली अत्याचार गर्न लागी पर्छन् । यिनीहरुको घोषणा मिथ्या छ ।
प्रतिवद्धताहरु सिमले भुवाझैं कहाँ पो बिलाउँछन्, यिनीहरुलाई नै पत्तो हुन्न । दर्शनको आड दिएर अदर्शनीय क्रियाकलाप र अपराध गर्नु यिनीहरुको महान् उपलब्धि हुँदै आएको छ । हो यिनीहरुले यो अदर्शनीय प्रवृत्ति त्यागेर सत्यको सत्मार्गमा फर्किनु पर्दछ । त्यही सत्यको संसारमा दर्शनको सच्चाइ छ । अदेशीय अह्रनखटनमा होइन आºनो विवेकमा मुलुकको व्यथा निको पार्ने सद्बुद्धि फर्कियोस् भन्ने नागरिकहरुको इच्छा हो ।
navinnp45@gmail.com