सम्पादकीय

भूकम्प प्रतिरोधी संरचनाको आवश्यकता

पटक पटक गएका भूकम्पका कारण मुलुकले ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नु परिरहेको छ । नेपाल भूकम्पको जोखिममा पर्ने विश्वका मुलुकमध्ये ११ औँ स्थानमा रहेको भूगर्भविद्हरूले भन्ने गरेको तथ्यलाई पटक पटक गएका भूकम्पले पुष्टि गरिरहेको छ । भूकम्पबाट हुने क्षति न्यूनिकरणमा सावधानी अपनाउनुपर्ने विज्ञहरूको सुझाव पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।

प्राकृतिक विपत्ति भन्ने कुरा यति नै बेला आउँछ भन्न सकिँदैन । न त टारौँ भनेर टार्न सकिन्छ, न त रोक्न भनेरै नै रोक्न सकिन्छ । यस्ता विपत्तिले पु¥याउने क्षतिको मात्रा भने मानव निर्मित भौतिक संरचनामा निर्भर रहन्छ ।

बाढीपहिरो जस्ता विपत्ति सानो स्थानविशेषमा आउने हुँदा उद्धार तथा राहत र पुनर्निर्माणमा जुट्न सहज हुन्छ तर भूकम्प जस्तो विकाशकारी विपत्ति व्यहोर्नु पर्दाको स्थिति निकै गम्भीर हुने गरेको छ ।

२०७२ साल बैशाख १२ मा गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पका कारण करिब नौ हजार जनाको ज्यान गएको दःुखद यथार्थ छ । भूकम्पबाट भएको भौतिक क्षतिको पुनर्निर्माण कार्य नसकिँदै पुनः ०८० कात्तिक १७ गते जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट, रुकुमपश्चिम, बाजुरा र अन्य केही जिल्लामा जनधनको ठूलो क्षति हुन गयो । घरबारविहीन बनेकामध्ये अधिकांशले यस पटकको जाडो प्लास्टिकका पाल र त्रिपालमै बसेर खपिरहेका छन् । सरकारले जाडोअघि नै पीडितलाई अस्थायी निवासमा सुरक्षित बसोबास गराइसक्ने भने पनि कार्यव्यवहारमा अल्मल भयो । त्यहाँका भूकम्पपीडित जीवनको लयमा फर्किन सकिरहेका छैनन् ।

यसैवीच माघ २ गते ‘राष्ट्रिय भूकम्प दिवस’ सरकारीस्तरबाटै मनाइयो । संवत् १९९० माघ २ गते गएको ८.४ रेक्टर स्केलको महाभूकम्पको स्मरण गर्दै २०५४ देखि भूकम्प दिवस मनाइँदै आएको हो । भूकम्प दिवशको सन्दर्भकै एक समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले भौतिक संरचनाको बीमा गर्ने व्यवस्थामा जान आवश्यक रहेको बताउँदै ‘अब बिस्तारै देशभरिका निजी आवास र सरकारी संरचनाको बीमाको व्यवस्था गर्नुपर्छ भन्ने सुझावलाई मनन गरेर व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको बताए । यो कति कार्यान्वयन हुने हो या होइन हेर्न बाँकी नै छ ।

प्राकृतिक विपत्ति जतिबेला पनि आउन सक्ने भएकोले अनुमान गरिए अनुसारको विनाशकारी भूकम्प गएको खण्डमा कसरी जोगिने र कसरी भौतिक क्षतिको न्यूनिकरण गर्न सकिन्छ भन्नेतर्फ योजनाबद्ध कार्यदिशा अवलम्बन गर्न सम्बन्धित निकायको ध्यान पुग्न नसकेको भूकम्पविद्हरूको सुझावलाई सम्बद्ध सबैले गम्भीर रूपमा मनन गर्नुपर्ने हुन्छ ।

दिवसका अवसरमा पूर्वसावधानी एवं क्षति न्यूनीकरणका सम्बन्धमा जनतालाई सुसूचित गराउने सामान्य काम हुन्छ तर भोलिपल्टदेखि कुनै किसिमको न त सचेतना कार्यव्रmम गरिन्छन्, न त जागरण अभियान नै निरन्तरता दिइन्छ । इतिहासबाट पाठ सिकेर वर्तमानका भौतिक संरचना निर्माणमा सजगता अपनाउनेतर्फ भने कत्ति पनि राष्ट्रको ध्यान जान नसक्नु विडम्बनापूर्ण भएको भूकम्पविद्हरूको ठहरलाई नकार्न सकिने अवस्था छैन । भूकम्प दिवस औपचारिकताकालागि मात्र मनाइएजस्तो आभास भइरहेको छ । आगामी दिनहरुमा यस्ता कार्यक्रम निरन्तर हुनकासाथै जनस्तरमा सचेतना जागृत गराउनेतर्फ लक्षित हुन र भूकम्प प्रतिरोधी संरचना निर्माणको नीति कडाईकासाथ कार्यान्वयन आवश्यक देखिन्छ ।

You may also like