यतिखेर देशमा शान्ति छैन । जताततै अशान्तिका नाराजुलुस भईरहेका छन् । सरकारका विरुद्धमा नाराजुलुल सडकमा संसदभित्र पनि भईरहेका छन् । यस्तो परिस्थितिमा स्थितिलाई काबुमा राख्न र सामान्यकरण गर्न तर्फ सरकार अग्रसर हुन आवश्यक छ नकि तुच्छ, निराश बनाउने आक्रोशित र होपाहा प्रवृत्तिका भाषण । किसान, विद्यार्थी, राजनीतिक दल, विभिन्न संघसंगठनका आन्दोलन चलिरहेका छन् । कसैले केही दिनपछिबाट गर्दैछन । लाग्छ देशको ७५ प्रतिशत जनमत सरकारको विरुद्धमा छ र पनि सरकार भने टसकोमस भएको छैन । समस्यालाई सामान्यकरण गर्नुको सट्टा अझ आक्रोशित बनाउने र आगोमा घिउ थप्ने कामहरु सरकारले अगाडि बढाईरहनु पक्कै पनि शुभसंकेत होइन ।
त्यसै पनि अनेकन मुद्दा लिएर आन्दोलन गरिरहेका दल तथा समूहमाथि फरी विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई सरकारले बर्खास्त ग¥र्यो । हिजो जनमतको दबाबमा घाटामा गएको प्राधिकरण अनि १८ घण्टा अँध्यारोमा बसेका जनतालाई उज्यालो दिएका कुलमानप्रतिको सरकारको बदनियतपूर्ण कारवाहीले राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित मात्र बनाएर आन्दोलन गरिरहेकाहरुलाई मुद्दा थपिदियो । गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरका छुट्टाछुट्टा शक्ति प्रदर्शन आजै हुँदैछ । गणतन्त्र पक्षधरबाट समाजवादी मोर्चा बनाएर सत्ता बाहिरबाट शक्ति प्रदर्शन गरिँदैछ भने उता राजतन्त्रको पक्षमा नवराज सुवेदीको नेतृत्वमा छुट्टै शक्ति प्रदर्शन चलिरहेको छ । यसमा मुठभेडको स्थिति आउन सक्ने तर्फ सुरक्षा निकाय सचेत र सम्वेदनशिल बनेको छ । सुरक्षा व्यवस्था कडा बनाइरहेको छ । कतिपय निषेधित क्षेत्र रहेका छन् । आन्दोलन र विरोधका अन्य कार्यक्रम पनि परेका छन् ।
यता संसदमा घिसिङ बर्खास्तीको चित्त बुझ्दो जवाफ नदिए पुनः आन्दोलन गर्ने चेतावनी प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दिइरहेको छ तर सरकार भने सडकबाट उत्तर दिँदै हिंडिरहेको छ । युवा संघको कार्यक्रमबाटै प्रधानमन्त्रीले भनिदिए– एउटा कर्मचारी निकाल्यो अर्को राख्यौ । सकियो । एउटा कर्मचारीका लागि छाती पिटि पिटी रोरुरहेका जस्ता अत्यन्तै निकृष्ट, अव्यवहारिक र अशोभनीय शब्दहरु प्रयोग गरेर उनले संसदीय अभ्यासको खिल्ली समेत उडाए । संख्यात्मक रुपमा प्रतिपक्ष सानो भएको र झण्डै दुई तिहाईको दम्भमा बसेको सरकारले यसरी हेपाहा प्रवृत्ति गर्नु कुनै पनि मानेमा सही छैन र हुँदैन । संसदको सन्दर्भ संसदबाटै हल गरिनुपर्दछ, बाटोबाटै उत्तर दिन मिल्ने सन्दर्भ होइन । सरकारको कर्मचारी हेरफेरको अधिकार रहेपछि संसदभित्रैबाट परिस्थिति बताइदिए सकिएन र ?
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले जनअपेक्षालाई अंगाल्न नसकेको कारणले पनि अहिले सरकार विरुद्धमा युवाहरु लागेको देखिन्छ । यसवीचमा भ्रष्टाचार अनियमितता, विकृति विसंगतिहरू बढेर विश्व समुदायको माझ देशको प्रतिष्ठामा चोट पुगेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध चिसिएको छ र आर्थिक जीवन पनि शिथिल बन्दै गएको भन्दै आलोचना भइरहेको छ । पूर्व राजाले पनि यहि आशय व्यक्त गरेका थिए । जुन आशयले राजावादीहरु एक ठाउँमा उभ्याउन बाध्य बनायो । पूर्वराजाको सन्देशपछि राजसंस्थावादीहरुले निरन्तर प्रदर्शन लगायतका कार्यक्रम गर्दैछन् ।
राजतन्त्रको पक्षधर मात्र होइन गणतन्त्रभित्रैबाट सरकारका विरुद्धमा हुँदै आएका विरोध र सभासम्मेलनलाई अब सरकारले सम्बोधन गरेर निकास निकाल्न जरुरी देखिन्छ । एक अर्कामा कटाक्ष गरेर आरोप प्रत्यारोपमा होइन आमूल परिवर्तनको प्रत्याभुति जनतामा गराउने काम गर्नका लागि सबै एक ठाउँमा उभिन जरुरी छ । अब के होला, अब के होला भन्ने अन्योलताले जनतामा आशंका र त्रास फैलाएको छ । यहि बीचमा सरकार व्यक्तिवादी भईदिँदा अझ निरासा बढेको छ । सरकारले आम जनतालाई अभिभावकीय भूमिका निर्वाह सकेन भन्नेहरुलाई अबको यो छोटो अवधिलाई भरपुर सदुपयोगमा सरकार लाग्नुपर्दछ । सरकारले अब शैली र नीति प्रवृत्ति परिवर्तन गर्नुपर्दछ । बाह्य तथा अन्तरिक परिस्थितिमा देखिएको अप्ठ्याराकाबीचमा सरकारले प्राप्त उपलब्धीलाई संस्थागत गर्न दृढतापूर्वक लाग्नुपर्दछ । सतहमा विद्यामान वेथिति, विकृति र विसंगतिलाई अन्त्य गरेर संयमतापूर्वक राष्ट्रिय हितमा काम गर्नु वान्छनीय देखिन्छ ।