:— सत्यवाद केशरी —ः
मेरो आँगनको गेट बाहिर आइपुग्दैदेखि ऐंसेलु झाँगेले, थोता दाँत देखाएर हाँस्तै, भन्दै आयो
–“मेरो अइबादन छ हए हओ सत्तेबाधी केसारीजी !… हन मेरो कुक्कुर, कुख्रा, परेबाहेरू त भुर्कुट्टै हुने भए नि यार !… अन्तखेरी आज म तपइँसित लागु पधार्थ दुर्भेओलीकोस्यानी विरोदी अभ्यान गर्नेमा एक लम्बरी अभेन्ता इन्(र पर्सात मोबिलको अनलैन अथ्बा इन्टयन्याट(फेसुक जेको भा पनि कन्टेक लम्बर छ कि भन्(र सोद्न पो आएँ हओ तपइँसित ! ती ओली साहेप मौहोदे त झापाबड गाएप भ’का भयै पो हुनु भए त हँ ?“…
ऊ, म बसिरहेको बरण्डामा सरासर आएर, मोही किसानको सिकुवामा जग्गाधनी आएर सामन्त–शैलीमा हाकाहाकी बसे झैं, बसेपछि मैले नमिठो पाराले सोधें –“के भयो र के भन्न आको अरे ?“
उसले आफ्ना दुवै हातका अरबख्रे ओैंला आफूतिर कोप्रे पारेर गोब्रे नङ एकले अर्काे कोट्याउँदै, एक्कसी अँध्यारिँदै भन्यो– “ती क्या त, मेरो भाइ कम्रेट हरिराम छ नि ? हो, तेल्ले के–के ट्याउटिसले कन्भिस गरेर मलाई पनि कमिनिसको सर्खारी कम्रेटमा उल्था गरेसि मैले जाँड्क्सी, गाँजा(भाङ र बजारमा पाइने अंग्रेजी डग्सका टपलेट, केप्सुल र इन्जेसनहेरू यूज गर्न चटक्कै छोडें । मैले ती होल–टोट्टल कुभच्छे छोडेसि मेरो कुक्कुर, मेरा कुख्रा(परेबा त दुब्लाए–दुब्लाए, मच्छट पनि एडिग–उडिग भ’र हो कि क्या हो, म भा’ठाममा मात्तै लठारिन्छन्, झ्याक्नेहरू ! मेरो बलडको रगतमा मात्तै मात्ने भिटामिन पाइँछ भन्ने तेति स्याना मच्छटका चल्ला(चल्ली समेतमा दिव्वे ग्यान सरुवा भ’र हो कि क्या हो कोनि, मैमाथि धुरिन्छन् राँडा–राँडीहरू र वाक्क ! मेरो भान्से बाउन् हापेन मात्तै ला’र झुल पनि नलाई नाङ्गै सुत्छ, तेस्कातिर मच्छट खलकका कोही जाँदैनन्, तेस्सिमालाने हर्रामीहरू ! “…
मैले उसको कुरो सत्यानाशसम्म बुझें र एकखेप फुल भोल्यूम हाँँसेपछि उसको रुन्चे मुखतिर हेर्दै भनें (“लौ मच्छड त तिम्रो खुन खाने गरेकाले मादक पदार्थको दुव्र्यसनी भएका हुनन् र त्यही सम्झेर तिमीमै झुमिन्छन् होला तर कुकुर र कुखुराहरू चाहिँ किन दुब्लाए नि ?“
उसले अनुहार अझ अँध्यारो पार्दै भन्यो –“म झुइँक्क नभई खाना खाँदिनथें र तेस्तो अवस्तामा मलाई पस्केको खाना आद्दै उभ्रिन्थ्यो । अन्खेरी तो उभ्रल खाना कुक्कुर र कुख्रा–परेबाले खान्थे नि त !… तेसबेलाको मेरो जुठो खाने जे पनि मात्थ्यो क्यार र तेसरी मात्ने कुलत लाग्नु नै त एडिग कि सेडिग भन्ने जिनिस होे नि, होइन्त अन्तखेरी ?“
म फेरि एक रील हाँसें र भनें –“अनि चेतना नेपालका इन्द्र ओलीबाट तिम्रो यो समस्या समाधान हुन्छ र खोजेको त ?“
ऊ एकछिन् अक्मकियो र भन्यो –“तइ दुभ्र्यसनको ओखति ह्वाँसित छ भने, म पनि नेपका एम्मालेको ओली पाटीकै कम्रेट हुँ भन्दा ह्वाँबड कुनै उपाए हुन्थ्यो कि भन्(र ह्वाँको लम्बर खोज्या ।…एस्बेला ह्वाँ अस्टेल्याको सउनदर्जे हेर्दै मेडामसँग डानस–उनस रामरम्माइलो रिल्यास गर्दै हुनुहुन्छन् अरे भनेर ढुक्क हुँदै मेरा प्याचे डफ्फाका साथीहेरूले अस्ति कैले हो प्याचे अयामा भनेका थे । साएत ह्वाँ ओली साहेपलाई पनि अन्तखेरी अस्टेल्याको अङरेजी सुग्गर देशाँ डानस(उनसको एडिग–फेडिग नै पो भो कि ! …हामेरको तो प्याचे अया पनि अैले त भद्रपुरको मेची हस्पिटाल पूर्व गणेश मन्दिर छेउको एउडा भूतपूर्बक ’ठूलै सर’–को थोत्रो घरमा सरेर चल्दैछ भन्ने सुन्छु, खै मैले प्याचेगिरीबड रिजाएन दिहालें र प्याचेहेरूसँग कन्टेक पनि छैन !“
मैले बित्थामा भनें–“अनि इन्द्रप्रसाद ओलीको लागु पदार्थ दुव्र्यसन विरोधी अभियानको म्याद पूरा भएको होला नि त ? यी क्या त तिमीले पनि ’कम्रेट भएसि चटक्क छोडें’ भन्दैछौ, त्यस्तै । तिमी जस्तै अरूले पनि जाँड–रक्सी र अन्य मादक खान छोडे होलान् र अब अभियानको कोर्स पूरा भयो होला नि त ?“
उसले अलिक झर्काे माने झैं गर्दै भन्यो –“यत्राका कोरस पूरा हुन्छ! अैले त झन पराइमरी इसकुलका र कलेच–बोडिङ्गका सर–सरनीहेरू र इस्टुड्यान–इस्टुड्यान्नीहेरूले पनि मिली–मिली चाप्छन् अरे भन्ने सुन्दैछु । कुरो किन लुकाउनु र ? मेरै छोरो ड्याबिट ह्यारी पर्सात साइत्ते र समसकिर्तिको अन्नुयसन्दान र परबर्दन गर्दै डग्सकै बेपारबड लोद्रो कमाइ गर्दैछ भनेसि उल्लाई एटुजेठ था छ र मैले उबडै जानेको ।…आआआ… अरू जाँसुकै मरुन् कि किरा परुन् पढ्केहेरू, आफू र आफ्ना पाल्तुहेरू बाएक अरू कुन्नै मुलाको गन्थन नसुन्ने त हामेरको पाटीको सिदान्तै छ । सर्खारले जन्ता मोरा पुकुपुकु मरे नि मरुन्, तेसको क्यारलेसै नगर्ने बाटो हिन्नुपर्छ भन्ने एजाम्पल दिइराख्या त तपइँले देखिरकै होउलाउ । तेसो हुँदाखेरिन्लाई चाइनेकेरे, मेरा कुख्रा–परेबा, मेरो कुक्कुर दुब्ला’र चिलिम फर्किने पीरले गर्दाउँदी मेरो पेटाँ कडा हेडेक र कलेजामा समेत मुडफ भइराख्या छ र तपइँ चइँ कैले हाँस्छौ, कैले अपिसको खरर्दारले गोरुचोरबड बइन झारे जस्तो गर्छाै! …तपइँ त लास्टै सामान्ती पो भ’छौ त ! अब ठेर मत्तै न, म र मेरा कम्रेट साथीहेरू मिलेर तपइँमाथि के(के चइँ झमेला लाद्न सक्छम् ! म कति पाओरमा पुगिरछु भन्ने पत्या’नौ तपइँले । लाखेस् न । ….बरू अब फेरि मइँ आफ्फै खान थाल्छु नि जाँड्क्सी र डग्स—उक्स जे—जे भेट्टाउँछु तेइ–तेइ । यत्राको टिकटिक ! तब त मेरा पल्तुहेरू बाँत्लान् नि च्याट्टसँगले र म ढुक्क हुन पाम्छु क्या ! लाखेस् न लाखेस् “–…इत्यादि धम्की लाउँदै ऊ त हिइँ…ड्यो पो गाँठे !…
बाटोमा निकै पर पुगुन्जेल उसको धम्की जारी थियो र उसको बोली नबुझिने सुनिन थालेपछि मैले मनमनै भनें –“पार्टीमा पस्नासाथ मान्छे यस्तो जब्बर र अरिमठे हुने कस्तो जादू छ हौ यो ऐंसेलु झाँगे र हरिरामेले मानेको पार्टीको हँ ? कि कुख्यात ठगहरू इण्डियन नटवरलाल र कुइरे चाल्र्स सोभराज जस्ताहरू मिलेर खोलेका पार्टी पनि छ हँ नेपालमा ?“….