देश विषम परिस्थितिमा रहेको छ । हाम्रा दैनिकीहरु निकै कष्टकर बित्दैछन । दशैंलाई जसोतसो बिदा गरेका छौं अब उज्यालोको पर्व, फुलहरुको पर्व दीपावली नजिकिँदै आइरहेको छ । दीपावलका बेलामा पर्व सक्न कसैलाई धौधौ परेको हुन्छ भने कसैले हजारौं रुपैयाँ पर्ने पटका पडकाएर, जुवातास, ढाइसलगायतका अनेकन खेल खेलेर उडाउने गरेको हुन्छन । दीपावली (तिहार) यमपञ्चक पनि भनिन्छन । यो पर्वमा बत्तिले चारैतिर उज्यालो बनाएर मनाउने परम्परा रहि आएको र धार्मिक महत्व पनि रहेको छ ।
जहा“ दीप प्रज्वलित हुन्छ, त्यहाँ नकारात्मक ऊर्जाले स्थान लिन सक्दैन। दीपसँगै राखेको जलको ऊर्जाशक्ति नै परिवर्तन हुन्छ र त्यसले समग्र घर, वरपरको वातावरण र व्यक्तिको मनस्थिति पनि सकारात्मक बनाउँछ। हामीलाई बाहिरी वातावरण मात्र सकारात्मक बनाएर जीवन ऊर्जा सकारात्मक हुँदैन, आन्तरिक प्रकाश प्रज्वलित गरेर ज्ञान र प्रज्ञाको विकास गर्न ध्यान, साधना र मनका रिपुहरूलाई जलाउनुपर्छ। औंसीको रातमा नै मनाइने दीपावलीले बाहिरको उज्यालो जस्तै आन्तरिक ज्ञानको प्रकाशले अज्ञानता र अहंकारलाई मेटाउने संकेत गरेको हो। चारैतिर झिलिमिली बत्ती जल्दा जसरी मन खुसी हुन्छ र रमाइलो अनुभूति हुन्छ, त्यो खुसी आन्तरिक रूपमा सदा बनिरहोस्, दीपावलीको सन्देश पनि यहि हुन्छ ।
घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतहरु गुञ्जिने र घरघरमा उज्यालोको बत्तिहरु लगाउने काम सुरु भईसकेको छ । यस्तो बेलामा हरेक व्यक्तिले निकै सजग र सतर्क रहन आवश्यक देखिन्छ । विगतमा पनि दिपावलीका कारणले धेरैको जनधनको क्षति भएका छन् । यस पटक त्यस्तो नहोस् । दियो बाल्दा आगलागीबाट जोगिने गरी बाल्नु पर्दछ । पटक पड्काएर पनि कतिको ज्यान गएको, अंगभंग भएका छन त्यसतर्फ पनि होसियारी अपनाउनु पर्दछ । सकेसम्म पटकाको प्रयोग नगर्नु नै उत्तम हुनेछ । आआफ्नो आर्थिक अवस्था अनुसारले खर्च गर्नुपर्दछ । पर्व गईसकेपछि ऋण लाग्यो वा बर्बाद भए भन्नुभन्दा बेलैमा सोचेर मात्र खर्च गर्दा राम्रो हुनेछ । परिकार बनाउँदा पनि आफ्ना बस्त्र, पकाउने ठाउँको वस्तुस्थिति हेरेर मात्र पकाउने र सजगता अपनाउने गर्नुपर्दछ । कुनै पनि खेल खेल्दा रमाइलोको लागि र पर्वको महत्व बढाउने किसिमले मात्र खेल्नुपर्दछ नकी भएभरको जायजेथा लगेर अर्कालाई बुझाउने । पर्वका आ–आफ्ना छुट्टै विशेषता हुन्छन । चोरी लुटपाटको सम्भावना उत्तिकै रहन्छ । धेरै रातिसम्म नहिंड्ने, हिंड्दा घरको बन्दोबस्तो राम्रो गर्ने, महँगा गरगहना लगाएर नहिंड्ने गर्र्यो भने यसबाट पनि जोगिन सकिन्छ । तिनै विशेषताका आधारमा कसैलाई कुनै हानीनोक्सानी नपुग्ने गरी पर्व मनायौं भने त्यसले सकारात्मक सन्देश प्रवाह गर्दछ ।
सकारात्मकताको प्रतिक पनि दीपावली वा तिहारलाई मानिन्छ । सकारात्मक सोच र सकारात्मक तौरतारिकाले पर्वलाई मनाउने चेष्टा गर्र्यौ भने पक्कै पनि अनिष्ठ आउँदैन र हामी आगामी दिन पनि सुखद र उपलब्धीमूलक बन्न पुग्छन । सबैमा चेतना भया ।