कला/साहित्य/संस्कृति देश–समाज प्रवास राष्ट्रिय विचार/वहस

नेपाली कला र संस्कृतिको उत्थानमा लागेको छु : एमडी बोहोरा

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईका अध्यक्ष हुन एमडी बोहोरा । भोजपुरको श्यामशिलामा जन्मेका बोहोरा परिवार बसाईसराईका क्रममा अहिले सुनसरीको रामधुनी नगरपालिकामा स्थायी बसोबास गर्दै आएका छन् । परिवारिक गर्जो टार्नैका लागि २००६ मा युएई पुगेका बोहोरा हालसम्म गैरआवासीय नेपालीका रुपमा युएईमै बस्दै आएका छन् । नेपाली कला, संस्कृतिको उत्थानका लागि आफ्ना कला र प्रतिभालाई अन्तर्राष्ट्रिय कलाकार समाजका माध्यमबाट आम नेपालीमाझ पुर्‍याएका छन् । उनले नेपालीपन झल्कने, नेपाली कला र संस्कृतिको उत्थान हुने धेरै म्युजिक भिडियो बनाउनेदेखि मोडलिङ र सांस्कृतिक कार्यक्रमहरु गर्ने कामहरु युएईमा गर्दै आइरहेका छन् । संस्थागत र व्यक्तिगत रुपमा गैरआवासी नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघका अभियानमा समेत महत्वपूर्ण योगदान र सक्रियता देखाउँदै आएका बोहोरा सदस्य हुँदै अहिले युएई च्याप्टरको सचिवको रुपमा कार्यरत छन् । त्यसो त उनको सक्रियता, लगतशिलता र दक्षताका आधारमा अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्यमा समेत चयन भईसकेका छन् । गैरआवासीय नेपाली संघ युएई च्याप्टर र अन्तर्राष्ट्रिय समन्वय समितिमा रहेर नेपाली श्रमिकका समस्या समाधान तथा अन्य सामाजिक कार्यमा आफूलाई अभ्यस्त गराउदै आएका छन । यसका अलवा युएईमा भएका अन्य धेरै संस्थाहरुमा सल्लाहकारको भूमिका रहेर साथ, सहयोग र सल्लाह दिँदै आएका बोहोरा सामाजिक अभियानमा पनि उत्तिकै खरो उत्रिएका छन् । युएईमा अलपत्र परेका नेपालीलाई साथ र सहयोग गर्दै स्वदेश फर्काउने वा अनुकूलता मिलेमा र डकुमेन्ट पुगेमा युएईमै अन्यत्र काममा लगाईदिनेसम्मका कामहरु गर्दै आएका छन् तिनै बहुप्रतिभाका धनी प्रवासी नेपाली बोहोरासँग गरिएको संक्षिप्त कुराकानी ।
  • अन्तर्राष्ट्रिय कलाकार मञ्च के हो ? प्रवासमा यसको आवश्यकता किन पर्‍र्यो ?
  • – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईको स्थापना युएईमा रहेका नेपाली कलाकारहरुलाई एकताबद्ध र सहयोग गर्ने र प्रतिभा प्रष्फुटन गराउने उद्देश्यका साथ भएको हो । हामीले नेपाली कला र संस्कृतिलाई प्रोत्साहन गर्ने, समान उद्दश्य प्राप्तिका लागि गोलबद्धताको अवसरहरू प्रदान गर्ने र हाम्रो समुदायको प्रतिभालाई प्रवर्द्धन गर्ने मञ्च सिर्जना गर्ने लक्ष्य राखेका छौं। हाम्रो लक्ष्य एक पुलको रूपमा सेवा गर्नु हो, कलाकारहरूलाई दर्शकहरूसँग जोड्नु, साथै उनीहरूलाई व्यावसायिक रूपमा बढ्न मद्दत गर्ने रहेको छ । यसका अलवा नेपाली कला, संस्कृतिलाई विश्वमाझ पुर्‍याउन कलाकारिताको माध्यमबाट सक्दो सहयोग गर्ने पनि रहेको छ भने अर्कोतिर युएईमा मात्र नभएर विश्वमै नेपालीहरु रोजगारीका लागि आएका हुन्छन् । उनीहरु हप्ताभरि निकै शिथिल र हतास मनस्थितिमा रहेका हुन्छन् । त्यो हप्ताभरिको आलस्यता, बोझ र हतास मनस्थितिलाई यसो कहिलेकाँही मनोरञ्जन गराएर उनीहरुलाई फ्रेस बनाउने र उर्जा थप्दै मनोरञ्जन गराउने काम पनि यस संस्थाले गर्दै आएको छ ।
  • युएईमा कलाकार चुनौति के कस्ता छन ?
  • – चुनौति नै नभएको क्षेत्र त कुन चाहि होला । स्वभावकैले युएईका कलाकारमा पनि धेरै चुनौतीहरू छन। धेरै कलाकारहरू सीमित स्रोतहरू, एक्सपोजरको कमी, र अन्य जिम्मेवारीहरूसँग आफ्नो रचनात्मक कार्यहरू सन्तुलन गर्ने चुनौतीसँग संघर्ष गर्छन्। यसबाहेक, नेपालबाट टाढा भएकाले कलाकारहरूलाई स्वदेश फर्केर दर्शकसँग जोडिन र सांस्कृतिक सम्बन्ध जोगाउन गाह्रो हुन्छ। हाम्रो समाजले कार्यक्रमहरुहरू आयोजना गरेर यी चुनौतीहरूलाई सम्बोधन गर्दछ जसले हाम्रा कलाकारहरूको व्यावसायिक वृद्धिको लागि अवसरहरू सिर्जना गर्दछ। हामी भिसा वा रोजगारी समस्याहरूको सामना गरिरहेका कलाकारहरूको लागि कानुनी मार्गदर्शन र प्रशासनिक सहयोगमा पनि सहयोग पनि गर्दै आएका छौं ।
  • खास यो प्रवासी भुमिमा रहेर यो संस्था मार्फत के कस्ता कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन ?
  • – हामी वर्षभरि विभिन्न कार्यक्रमहरू जस्तै कला प्रदर्शनी, सांस्कृतिक प्रदर्शन, र सांगीतिक कन्सर्टहरू आयोजना गर्छौं। यी कार्यक्रमहरूले युएईमा नेपाली संस्कृतिको प्रवद्र्धन मात्र गर्दैन, कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने बहुमूल्य अवसरहरू पनि प्रदान गर्दछ। हामीले बर्षेनी नेपाली साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौं । जुन युएईमा आयोजनामा आउने गरेका ठूला एवं प्रतिष्ठित कार्यक्रमका रुपमा गणना हुँदै आएको छ । र यसलाई नेपाली समुदाय चासोपूर्वक हेर्दै आएको हामीले पाएका छौं । यस्तै कार्यक्रममार्फत ड्युटीबाट आलस्यता भएका, शिथिल मनस्थिति भएका र हतास मनस्थितिहरुलाई नेपालकै सम्झना हुने गरी फ्रेस बनाउने गरी युएईमा काम गरिरहेका आम नेपाली श्रमिकलाई समेत मनोरञ्जन दिँदै आएका छौं ।
  • कलाकारितमा कति उदियमान हुन्छन? कतिको प्रतिभा प्रष्फुटन गर्नुपर्ने हुन्छ ? यसलाई कसरी हेर्नु भएको छ ?
  • – उदीयमान कलाकारहरूलाई समर्थन गर्नु र नयाँ कलाकार जन्माउन प्रतिभा प्रस्फुटन तथा छनौट गर्ने त हाम्रो संस्थाको उद्देश्य र लक्ष्य नै हो । अनुभवी कलाकारहरूले हाम्रा युवा प्रतिभाहरूलाई आफ्नो ज्ञान साझा गर्न प्रोत्साहित गर्छौ। हामी विशेष गरी नयाँ कलाकारहरूलाई उनीहरूको कला प्रदर्शन गर्न प्रोत्साहित गर्ने मात्र नभई उहाँहरुलाई आफनो कला प्रदर्शन गर्न प्लेटफर्महरू पनि उपलब्ध गराउने गर्दछौं। हामी संगठित रुपमा अघि बढन आवश्यक स्रोतहरूको परिचालन साथै सामुहिकताको भावनाका साथ सबैलाई हुने गरि आयोजना हुने कार्यक्रममा प्रायोजन र साझेदारी खोज्दै नव कलाकारहरु समेतको हितमा हुने काम गर्छौ।
  • तपाईबाट संस्थागत र व्यक्तिगत रुपमा युएईमा रहेका कलाकारले के पाए ?
  • – साँच्चै भन्नुपर्दा समाजले नेपाली कलाको संरक्षण एवं जगेर्ना गर्न आफनो स्थानबाट सक्दो प्रयास गर्दै आएको छ । हामीले युएईमा रहनुभएका नेपाली कलाकारहरूलाई मात्रै नभई नेपालबाट युएई आएर कार्यक्रम गर्नुहुने कलाकारहरुलाई समेत सहयोग गर्दै आएका छौं । यो मेरो दोस्रो कार्यकाल हो । मेरो नेतृत्वकालमा मैले हाम्रो समुदायलाई बलियो बनाउँन र नेपाली कला संस्कृतिलाई प्रबद्र्धन गर्न सक्दो प्रयास राखेको छु भन्ने लाग्छ ।
  • अन्तमा, भावी योजना र लक्ष्यहरू के छन ?
  • – हाम्रो भविष्यका योजनाहरूमा हाम्रो पहुँच र स्रोतहरू विस्तार गर्ने रहेको छ। हामी युएईमा समर्पित भएर लागेका विभिन्न नेपाली संघ संस्थासँग हातेमालो गर्दै हाम्रो विविधतायुक्त कला संस्कृतिको जगेर्ना गर्न अझ सकृय रहने छौं । युएई स्थित विभिन्न जातजाती, भाषाभाषी, जिल्ला एवं भेगिय, प्रदेश आदी स्तरका संघ संस्थाहरुसँगको सहकार्यमा नेपालमा प्रचलित कला र संस्कृतिको विकास गर्ने गरि अगि बढने छौं । कलाकारहरूले भेला हुन, सहकार्य गर्न र सिर्जना पस्कन सक्ने वातावरण रहिरहोस भन्ने चाहना हो। समाजप्रति विश्वसनीयता कायम राख्न हाम्रो कला संस्कृतिलाई विश्वव्यापी रूपमा देखाउँदै नेपाली कलाको लागि अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन हामी हरभग्दुर प्रयत्नशील रहने नै छौं भन्ने धारणा व्यक्त गर्न चाहन्छु ।

Author

You may also like