कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

दमक प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरुको सपथ ग्रहण

दमक/ दमक प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुलाई मंगलबार सपथ ग्रहण गराइएको छ । दमक नगरपालिकाले जनप्रतिनिधि हरुको कार्यकाल डेढ वर्ष मात्र बाँकी रहँदा ढिलोगरी गएको पुस २५ गते डा. गोपाल भण्डारीको अध्यक्षतामा २७ सदस्यीय प्रज्ञा परिषद् गठन गरेको थियो ।
सो परिषद्का अध्यक्ष तथा प्राज्ञ सदस्यहरुलाई नगरपालिकाको बैठक कक्षमा सपथ ग्रहण गराएपछि अब प्रतिष्ठानले औपचारिक रुपमा आफ्ना गतिविधिहरु अघि बढाउन बाटो खुलेको छ ।
नवनियुक्त अध्यक्ष डा. भण्डारीले अब केही देखिने कामहरुको थालनी गरिने बताएका छन् । प्रज्ञा प्रतिष्ठानका सचिव जयबहादुर श्रेष्ठले दमकको प्राज्ञिक क्षेत्रको उन्नयनका लागि सकेको काम गर्र्ने बताए । मंगलबारको सपथ ग्रहण समारोहमा अध्यक्ष डा. भण्डारीलाई दमक नगर प्रमुख राम कुमार थापाले सपथ ग्रहण गराएका थिए भने बाँकी कार्यसमिति सदस्य तथा परिषद् सदस्यहरुलाई अध्यक्ष डा. भण्डारीले सपथ गराएको नगरपालिका शिक्षा शाखा प्रमुख प्रविण खड्काले जानकारी गराए । नगर उप–प्रमुख रेगिना भट्टराई प्रसाईले अध्यक्षता गरेको कार्यक्रममा नगर प्रमुख थापा प्रमुख अतिथि थिए । नगर प्रमुख थापा, उप–प्रमुख भट्टराई, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला र नगर शिक्षा समिति अध्यक्ष तथा वडा नं. ९ का वडाध्यक्ष कुवेर भट्टराईले दमक प्रज्ञा प्रतिष्ठान जस्तो महत्वपूर्ण र गरिमामय जिम्मेवारी सम्हाल्न पुगेको सबै प्राज्ञहरुलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।
त्यसपछि नवनियुक्त अध्यक्ष डा. गोपाल भण्डारी र सचिव शैक्षिक व्यक्तित्व जय बहादुर श्रेष्ठले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
प्रतिष्ठानको दमकको साहित्यिक तथा प्राज्ञिक उन्नयनको क्षेत्रमा काम गर्ने उद्देश्य रहेको जानकारी गराइएको छ । सपथ ग्रहण समारोहको कार्यक्रम संचालन शिक्षा शाखा प्रमुख खड्काले गरेका थिए । तर सपथ ग्रहण समारोहमा २७ मध्ये १७ जना प्राज्ञहरुको मात्र उपस्थिति रहेको थियो । कार्यक्रममा नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख केशवप्रसाद प्रसाईको पनि उपस्थिति रहेको थियो ।

Author

You may also like