दमक, २२ असोज –
झापाको दमकमा यसबेला बर्मेली नेपालीहरुको पीडादायी भोगाइ समेटिएको नाटक ‘जयमाया आफू मात्रै लिखापानी आईपुगी’ को प्रदर्शनको समय ३ दिन थप गरिएको छ ।
असोज १२ देखि स्थानीय कदम थिएटरको आयोजनामा असोज २१ सम्मको प्रदर्शन अवधि निर्धारण गरिएको भएपनि दर्शकको माग बढेपछि ३ दिन समय थपिएको थिएटरका कला निर्देशक सिजन दहालले जनाए । दैनिक रुपमा दर्शकहरु खचाखच भइरहेको अवस्थामा अझै पनि दर्शकहरु आउने क्रम रहेको उनले उल्लेख गर्दै नाट्य क्षेत्रप्रतिको यस्तो मायाले प्रोत्साहन मिलेको वताए ।
दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि त्यहाँ रहेका नेपालीमुलका मानिसहरु ज्यान जोगाउन लिखापानी भागेको अवस्थाको जीवन भोगाइलाई कलाकारहरुले सो नाटकमा जीवन्त रुपमा उतारेका छन् । नाटकको कारुणिक कथामा उस्तै जीवन्त अभिनयले नाटक हेर्दा दर्शकको आँखा ओभाना रहेनन् । साहित्यकार इन्द्रबहादुर राईले लेखेको कथामा आधारित नाटक असोज २१ गतेसम्म १० दिनमा १५ शो मञ्चन गर्नेछ । नाटकको निर्देशन पथरीशनिश्चरेका अनुभवी नाट्यकर्मी जीवन वरालको रहेको छ ।
९५ जना दर्शक क्षमताको हल दैनिक खचाखच हुने गरेको छ । विद्यार्थी सहुलियतका लागि १ सय ५० देखि १ हजार रुपैयाँसम्मको टिकट काटेर आउने दर्शक हलमा अट्न हम्मे परेको छ । शनिबार २ शो र अन्य दिन साँझको एक शो हुने गरेको छ । दमक र आसपासको क्षेत्रका अलावा विर्तामोड, भद्रपुर, काँकडभिट्टा, धरान, विराटनगर, इलामसम्मबाट दर्शकहरु नाटक हेर्न आउने गरेका छन् ।
नाटकमा अनिल दुलाल, आयुुश खतिवडा, जंग मगर, पारुमा राई, पुनम भुजेल, पुष्प राई, भरत मगर, नविन भण्डारी, नविन रिजाल, रश्मी उप्रेती, रोशन मुर्मु, विवेक राउत, संचिता लामा, सुष्मा रानाको अभिनय रहेको छ ।