मुख्य लेख

नेपालमा किन आवश्यक छ होमियोप्याथिक चिकित्सा ?

विश्वमै दोस्रो ठूलो उपचार पद्धती हो हेमियोप्याथिक चिकित्सा प्रणाली । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सबैभन्दा आधुनिक र प्रभावकारी अनि सुरक्षित उपचार पद्धती हो भनेर प्रमाणित गरेको यो उपचार पद्धती विश्वका सबैजसो देशमा लागू गरिएको छ । त्यसमा पनि दक्षिण एशियाली मुलुकमा त सबैभन्दा धेरै नागरिकले सस्तो र भरपर्दो चिकित्साका रुपमा प्रयोग गरेका छन् । अझ छिमेकी देश भारतमा त यो चिकित्सा अध्यायन गर्ने ३०० भन्दा धेरै मेडिकल र १०० भन्दा धेरै होमियोप्याथिक औषधि कम्पनी संचालनमा रहेका छन् । तर, उसकै छिमेकी देश नेपालमा भने एउटा पनि कलेज र औषधि उत्पादन कम्पनी नरहनु दुखद विषय हो ।
हाल नेपालका छिमेकी देश भारतबाट होमियोप्याथिकमा बीएचएमएस अध्ययन गरेर आएका २०० भन्दा धेरै चिकित्सक छौं भने विगतमा नेपालमै खुलेको होमियोप्याथिक मेडिकल कलेजबाट अध्ययन गरेका करिव १०० चिकित्सक नेपालका विभिन्न स्थानमा निजी स्तरमा सेवा दिइरहेका छन् । सो कलेज आज बन्द अवस्थामा छ । यसरी नै पोष्ट ग्रेजुएट अथवा एमडी गरेका १० भन्दा धेरै चिकित्सक निजी स्तरमा सेवारत छन् । सबै भन्दा दुःखको कुरा के छ भने नेपालमा यत्रो जडीबुटी उत्पादन हुन्छ छिमेकी देश भारतमा कौडीको भाउमा बेचिन्छ र त्यसैबाट बनेको अरबौंको महंगो आयुर्वेदिक र होमियोप्याथिक औषधि नेपाल भित्रिन्छ । लाजमर्दो कुरा त के छ भने नेपालकै बासिन्दाले भारतमा विश्वमै ठूलो होमियोप्याथिक औषधि कम्पनी स्थापना गरेर विश्वमा व्यापार गरिरहेका छन् । नेपालमा भने त्यही र त्यस्तै राम्रा कम्पनीको औषधि आयात गर्न औषधि व्यवस्था विभाग इच्छुक नदेखिएका कारण हामी चिकित्सक, औषधि व्यवसायी उच्च स्तरीय औषधिको अभावमा छटपटाइरहेका छौं । सस्तो, सर्वसुलभ, साइडइफेक्टरहित सबै उमेर समूहले सहजै सेवन गर्न सक्ने र सल्यक्रिया गर्नुपर्ने धेरै प्रकारका रोगको उपचार यो उपचार पद्धतीमा हुँदाहुँदै पनि यसको समुच्च उपयोग हुन सकेको छैन । नेपाल सरकारले कम्तीमा पनि हरेक जिल्लामा होमियोप्याथिक उपचारस्थलको स्थापना र एउटा रेफरल अस्पतालको व्यवस्था गर्नसके धेरै भन्दा धेरै विरामीले नेपालमै पुरक चिकित्साका रुपमा सेवा पाउने थिए भने उपचार र औषधि आयातका रुपमा विदेशिने वार्षिक अरबौं रुपैया नेपालमै रहन थियो । त्यसैले नेपाल सरकार र सरोकारवाला सबैलाई निम्न अनुसारका माग राखिएको ध्यानाकार्षण पत्र प्रदान गर्दछौं ।
१, सर्वप्रथम नेपालमा होमियोप्याथिक औषधि कम्पनी नभएकोले औषधि व्यवस्था विभागमा होमियोप्याथिक चिकित्सक या विज्ञको बहाली गरि औषधि आयातमा सहज बनाउन माग गदैछौं ।
२, नेपालीले नै भारतमा संचालन गरेको एसबीएल कम्पनीलाई सरकारका तर्फबाट पत्र लेखि औषधि आयात र भविष्यमा नेपालमै होमियोप्याथिक औषधि कम्पनीको साखा स्थापना गर्न नेपाल सरकार सहयोगीको रुपमा काम गर्ने छ भन्ने आशयको पत्र पठाउन हामी होमियो चिकित्सक र औषधि व्यवसायी जोडदार माग गर्दछौं ।
३, हरेक जिल्लामा रहेका आयुर्वेद या जिल्ला अस्पतालमा कम्तिमा एक चिकित्सक र एक सहायक चिकित्सकको दरबन्दी स्थापना गरि पुरक चिकित्सकका रुपमा सेवा प्रदान गर्ने । केहि वर्ष अघिदेखि कोशी र मधेश प्रदेशका केहि स्थानमा स्थापना गरिएका यस्ता होमियोप्याथिक सेवाले आम नागरिकमा राम्रो प्रभाव पारेको र होमियोप्याथिक सेवा लिनेको सख्या वढिरहेको देखिएको छ । त्यसैले यो सेवाको हरेक जिल्ला र शहरमा विस्तार होस भन्ने माग राख्दछौं ।
४, होमियोप्याथिकलाई हेर्ने बेग्लै शाखा आयुर्वेद विभागमा स्थापना गरियोस् । हाल आयुर्वेदकै मातहतमा रहेर उनीहरुकै बुझाइमा काम गर्दा होमियोप्याथिकको सुनुवाई कम हुन गई सेवा विस्तार हुन सकेको देखिदैन ।
५, नेपालमा प्रसस्तै जडीबुटी उत्पादन हुने भएकोले नेपाल सरकारको आयुर्वेद औषधालयमा होमियोप्याथिक औषधि उत्पादन गर्न सकिने या नसकिने भन्ने विषयमा र भारतमा रहेका होमियोप्याथिक औषधि कम्पनीको अध्ययन गर्नका लागि एउटा टोलीको गठन गर्न माग गर्दछौंं । यसो गर्न सके सम्भाव्यता अध्ययन र भारतीय कम्पनी विशेषत एसबीएललाई नेपालमा औषधि उत्पादन गर्न बाटो खुल्ने थियो, र नेपालको जडीबुटी नेपालमै उपयोग हुने थियो ।
६, नेपालमा हालसम्म मेडिकल कलेज स्थापना हुन नसकेको र २००७ सालमा स्थापना भएको पशुपति होमियोप्याथिक अस्पतालको पनि सेवा विस्तार हुन नसकेको अवस्थामा यो अस्पताललाई सेवा विस्तार गर्दै विराटनगरको रानीमा निजीस्तरमा बनेको नेपाल होमियोप्याथिक मेडिकल कलेजलाई पुनः सञ्चालनमा ल्याएर बीएचएमएस र स्वास्थ्य सहायकको अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । साथै होमियोप्याथिक चिकित्सकलाई पनि उच्च शिक्षा अध्ययन र तालिमको व्यवस्था लागु होस भन्ने माग राख्दछौं ।

Author

You may also like