मुख्य

बम्जनसँगको ३ करोड बढी रकम सार्वजनिक

काठमाडौं,२६ पुस। धर्मगुरुको नाममा हत्या, जबरजस्ती करणीजस्ता आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनको हात्तिगौडास्थित घरबाट प्रहरीले बरामद गरेको १६ देशका विदेशी मुद्रासहित ३ करोडभन्दा बढी नगद रकम बुधबार सार्वजनिक गरेको छ ।
परिवारका सदस्य भेटघाट गर्न आएका बेला मंगलबार प्रहरीले बम्जनलाई पक्राउ गरेपछि खानतलासीको क्रममा उनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँभन्दा बढी नगद बरामद गरेको थियो । ३ करोड ३ लाख ७५ हजार नगद, ल्यापटप, १५ थान मोबाइल र ३५ थान पेन ड्राइभसहित १६ देशका मुद्रा पनि फेला परेको प्रहरी अपराध अनुसन्धान व्यूरो (सीआइबी) प्रमुख एआइजी किरण बज्राचार्यले बताइन् । बम्जन सहित बरामद सामग्री सार्वजनिक गर्दै उनलाई मुद्धाको प्रक्रियामा अघि बढाइएको उनले जनाइन् ।
लिटिल बुद्ध उपनामले परिचित तपस्वी बम्जन मंगलवार साँझ हात्तिगौडाबाट पक्राउ परेका थिए । चार वर्षयता सीआइबीको खोजी सूचीमा रहेका बम्जन आफू विभिन्न जंगलमा बस्दै आएको र भारतको केही स्थानमा पुगेको बयान दिएका छन् ।
बम्जनलाई हत्या, जबरजस्ती करणी तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको थियो । प्रहरीको नजरमा उनी २०७६ सालदेखि नै फरार रहेका थिए । २०७६ माघ २३ गते जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएको भएपनि प्रहरीलाई छक्याउँदै उनी फरार रहँदै आएका थिए । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका ८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल
बम्जनसँग….अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । ब्युरोको टोलीले उनलाई पक्राउ गर्न २०७७ असार ४ मा छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए । त्यसअघि प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती ६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो । त्यहाँ उनको करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रम थियो । त्यहाँबाट हेटौंडाका सञ्चलाल रुम्बा बेपत्ता भएको पनि प्रहरीमा जानकारी आएको थियो । अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका बम्जनका समर्थकहरु ठूलो संख्यामा बुधबार सीआईबीको कार्यालय नजिक भेला भएपछि उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । बमजनलाई भेट्न भन्दै बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु सीआईबी कार्यालयमा पुगेका छन् ।

You may also like