दमक, २६ पुस। सम्झौता अवधि सकिएको तीन वर्ष बितेपनि आयोजनास्थलको जग्गा व्यवस्थापनको टुंगो नलाग्दा मोरङ उर्लाबारी–८ को सन्थाल बस्ती नबन्ने सम्भावना बढेको छ । ८ करोड ८८ लाख ५६ हजार लागतमा ठेक्का लागेको बस्तीको निर्माण कार्य सुरु हुनै नपाई ठेक्का नै रद्ध हुने अवस्थामा पुगेको छ ।
सम्झौता अवधि सकिएको तीन वर्ष बितेपनि आयोजनाको साइट नै क्लियर भएन । त्यही कारण बस्ती बन्नुको साटो आयोजना नै रद्द गर्ने परिस्थिति बनेको हो । संघीय कार्यान्वयन इकाइ मोरङका सूचना अधिकारी इन्जिनियर अशोक रामका अनुसार बस्ती निमार्णको सम्झौता अवधि २०८० असोज २४ सम्म थियो ।
बस्तीका लागि छुट्याइएको जग्गाको विवाद नसुल्झाई हतारमा शिलान्यास गरिएको कारण काम अगाडि बढ्न नसकेको उर्लावारीका नगरप्रमुख गंगाप्रसाद खरेलले बताए । उनले भने– ‘नगरले बैकल्पिक जग्गाको खोजी गरिरहेको छ, त्यस ठाउँमा बस्ती नबन्ने लगभग निश्चित नै भयो, पहिलो त त्यहाँको खोला तटबन्धन गर्न नै २ करोडबढी लाग्ने देखिन्छ, दोस्रो, त्यहाँको ठूलो बस्ती हटाएर त्यहाँ अर्को बस्ती बसाउने योजना नै गलत छ ।’
उर्लाबारी ८ का वडाध्यक्ष कुलबहादुर कार्कीका अनुसार उर्लाबारी ८ र ९ को सीमानामा रहेको रातोहोली खोल्सी किनारमा निर्माण गर्न लागिएको एकीकृत बस्तीको जग्गा ऐलानी भएपनि स्थानीयले वर्षौदेखि भोगचलन गर्दै आएका छन् । आफूहरुले धेरै वर्षदेखि भोगचलन गर्दै आएको जग्गा भएकाले विकल्पबिना आफूहरुले सो स्थान नछोड्ने भन्दै शिलान्यासकै बेला स्थानीयवासीले विरोध गरेका थिए । जग्गाको विषयलाई लिएर कुरा नमिल्दा बस्ती निर्माणको ठेक्का लागेपनि काम अघि बढ्न नसकेको वडा अध्यक्ष कार्कीले बताए ।
काम अगाडि बढ्न नसकेको विषयमा शहरी विकास मन्त्रालयका उपसचिव डिल्लीराज श्रेष्ठ र सीडीआइ राजेन्द्र खतिवडासहित प्राविधिक टिमले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणपछि सोमबार बसेको बैठकले ठेक्का प्रक्रिया रद्द गर्न सुझाव दिएको छ । सुझाव अनुसार संघीय आयोजना कार्यान्वयन इकाई मोरङले प्रक्रिया अगाडि बढाउने तयारी सुरू गरिएको आयोजना प्रमुख सुरेन्द्रकुमार साहले बताए ।
सन्थाल जातिका
निर्माण…..
स्थानीय अगुवा बुद्धिलाल सोरेनले सरकारले निर्माण गरिदिएको घरमा बस्ने सपना अधुरै रहेको गुनासो गरेका छन् । ‘ठूला नेताहरूबीच समन्वय नहुँदा हामी अन्यायमा प¥यौं । घर बन्ने सपना अधुरै भयो । तामजामको साथ शिलान्यास भयो । त्यसपछि निर्माणको काम अगाडि बढेन ।’ उनले भने ।
दयनीय अवस्थामा खोला किनारामा बसोबास गर्दै आएका सन्थाललाई व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण हुने चाहना अधुरै रहने चिन्ता छ ।
२०७४ सालमा बक्राहा खोलामा बाढी आएपछि धेरै सन्थाल परिवार विस्थापित भएका थिए भने अहिले पनि खोलाको किनारमा केही परिवार बसिरहेका छन् । निर्माणस्थल रातो होलीको उत्तर–दक्षिण फैलिएको ७८० मिटर लम्बाइभित्र पर्ने ५२ हजार ८२८ वर्ग मिटर जग्गामध्ये ३१ हजार ७६८ वर्ग मिटरभित्र बस्ती विकास गरिने बताइएको थियो ।
सडक, खानेपानी, मनोरञ्जनस्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायतको निर्माण गर्ने गरी ‘मास्टर प्लान’मा उल्लेख गरिएको छ । बस्ती निर्माणका लागि साइड क्लियर नहुँदा ठेक्का रद्ध गर्नुपर्ने अवस्था आएको संघीय आयोजना कार्यान्वयन इकाई मोरङले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा ओलीले १८ महिनापछि सन्थालहरू झुपडीबाट घरमा सर्ने आश्वासन दिएका थिए । सोही अनुसार २४ असार २०७८ मा १२३ वटा सन्थाल सामुदायको स्थानीय शीप र कलाको प्रयोग गरी भान्सासहित तीन कोठा र शौचालयसहितको घर बनाउने सम्झौता भयो । भ्याटबाहेक ७ करोड ८६ लाख ३४ हजार ३४७ रुपैयाँ २३ पैसामा काठमाडौंको सगुन क्षितिज अग्रिम जेवीसँग ठेक्का सम्झौता भएको थियो ।