अर्थ देश–समाज समाचार स्थानीय

दमकका गाईभैँसीको बाँझोपन न्यूनीकरण गर्न घरदैलोमा उपचार

:– पंकज दाहाल –:

दमक/ झापाको दमकमा गाई भैँसीमा हुने बाँझोपन न्यूनीकरणका लागि निःशुल्क घुम्ती शिविर संचालन गरिएको छ । यही जेठ २६ र २७ गतेगरी दुई दिन सम्म पशुपालक किसानका घर घरमा गइ संचालन गरिएको शिविरका क्रममा २५ पशुपालकका घरगोठमा रहेका ४० वटा गाईको बाँझोपनको अवस्था परीक्षण गरिएको दमक नगरपालिका पशुपन्छी विकास शाखाका पशु विकास अधिकृत विपु अधिकारीले जानकारी गराएका छन् ।
दमक नगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार यस्तो शिविर संचालन गरिएको हो । बाँझोपनको समस्या पहिचान भएका गाईहरुको गर्भ र पाठेघर मेशिनले जाँच गरी आवश्यक औषधी समेत दिइएको अधिकारीले बताए । ती गाईलाई आवश्यकता र अवस्था हेरी इन्जेक्सन समेत दिइएको पनि उनको भनाई छ । कतिपय गाईमा प्राकृतिक या कृक्रिम गर्भाधान गरेपनि पटक पटक गर्भ नबसी उल्टिएको कुरा पशुपालक किसानहरुबाट सूचना पाएकोले मागका आधारमा विज्ञ पशु चिकित्सकहरु समेत ल्याइ यस्तो घुम्ती शिविर संचालन गरिएको हो ।
यस्तो शिविर दमक नगरपालिकाको वडा नं. १, २, ३, ४, ९ र १० मा दुई दिन सम्म चलेको हो । पशुपालक किसानहरुको घरदैलोमा पुगेर दमक नगरपालिकाले दिएको यस्तो शिविरबाट सम्बन्धित किसानहरुलाई महत्वपूर्ण लाभ मिलेको बताइएको छ । गाईमा गर्भाधान पश्चात गर्भ उल्टिने समस्याले धेरै किसानहरु पीडामा पर्दै आएका छन् । कतिपयले त अनेकन प्रयास गर्दा पनि गाईमा गर्भ स्थायी नभएपछि पशुनै थोरै दाममा बिक्री गर्न गरेका जानकारीहरु सुन्नमा पाइन्छ ।
दमक नगरपालिकाले संचालन गरेको यस्तो घुम्ती शिविरका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख विज्ञ डा. राघवेन्द्र तिवारीले पनि सेवा दिएका थिए । घुम्ती टोलीमा दमक नगरपालिका पशुपन्छी विकास शाखा प्रमुख डा. आकृति सिंह, पशु विकास अधिकृत विपु अधिकारी र पशु स्वास्थ्य सेवा प्राविधिक निरुता चापागाई लगायतको सक्रिय सहभागिता रहेको थियो । गाई भैँसीमा हुने बाँझोपन न्यूनीकरणका लागि दमक नगरपालिकाले वर्षेनीजसो पशुपालक किसानहरुको घरदैलोमै पुगेर निःशुल्क घुम्ती शिविर संचालन गर्दै आएको छ । शिविरमा सम्बन्धित पशुको गर्भ, पाठेघर जाँचका साथै आवश्यकता अनुसार औषधी दिने र इन्जेक्सन समेत लगाउने गरिएको छ ।

Author

You may also like