नेपाल लामो समयदेखि आफ्नो आन्तरिक राजनीतिमा अल्झिएर देशको दशा दिशा र अर्थतन्त्रलाई नकारात्मक र बोझिलो बनाउँदै लगेको अविछिन्न परम्परा रहेको छ । कहिले सरकारलाई कमजोर बनाइदिने त कहिले सरकारभित्र गुट र उपगुटहरु पैदा गराइदिने स्वार्थी समूह हरुलाई घुसपैठ गराइदिने र राष्ट्र राष्ट्रियता र लोकतन्त्रलाई संस्थागत हुन नदिने जस्ता सकुनी नीतिले गर्दा देशभित्रको माटोलाई सुनमा रुपान्तरण गर्न सक्ने प्रविधि र हौसला लाई निरन्तर कमजोर बनाउँदै जाने वास्तविकतालाई जनताले बिस्तारै बिस्तारै बुझ्न थालेका छन् । अहिले नेपालका सबैभन्दा घनिष्ठ र छिमेकी मित्रराष्ट्र भारत आर्थिक विकासको दौडमा दुनियालाई उछिन्दै आर्थिक महाशक्ति बन्दै जाने प्रतिमानहरू बनाउँदै गइरहेको छ र भारत विश्वको महाशक्ति राष्ट्रको रुपमा आफूलाई उभ्याउन सफलता हासिल गर्दै लगि रहेको परिप्रेक्ष्यमा नेपालले अत्यन्त घनिष्ठ र बेटीरोटीको आत्मीय सम्बन्ध रहेको आधारमा भारतसँग आर्थिक विकासका क्षेत्रमा धेरै कुराहरू र आफ्नो अपेक्षाहरू राख्दै जानु सान्दर्भिक नै रहेको छ ।
नेपालका जल, जमिन, जङ्गल, जलवायु र भूराजनीति पनि कमोवेश रूपमा भारतीय माटो पानीको राजनीतिसँग जोडिएको हुनाले पनि भारत र नेपालबीच भरोसा गर्न लायक सम्बन्ध स्थापित हुनु जरुरी छ । देशको समसामयिक राजनीति विकास केन्द्रित हुनुपर्दछ। देशको राजनीतिले विगतमा भोगेका तितो यथार्थलाई सम्झेर नयाँ विकासको ढोका खुलाउनु जरुरी छ र देशलाई नयाँ उचाइमा पुर्याउनु जरुरी छ । आज मानवीय विकास सूचकाङ्कमा नेपाल धेरै नै परिसूचकहरूमा पिछडिएको अवस्थामा रहेको छ । शिक्षा, स्वास्थ्य, रोजगार, जीवनस्तर, प्रतिव्यक्ति आम्दानी, उपभोगको अवस्था, उत्पादनको अवस्था, बजार प्रणालीहरू, उच्च प्राविधिक क्षमताको विकास गर्नु, देशको अर्थतन्त्रलाई स्वयं धान्न सक्ने क्षमतामा पु¥याउनु लगायतका कार्यहरू नेपालले एक्लै आफ्नै बलबुतोमा गर्न कठिन मात्र होइन असम्भव नै रहेको देखिएकोले भारत र चीन जस्ता अत्यन्त सन्निकटका मित्र राष्ट्रहरूको सहयोग र सहकार्यबाट देशलाई विकासको मार्गमा अग्रगमन गराउन सकिन्छ ।
भारतले नेपाललाई आफ्ना सबै छिमेकी मुलुकहरूमध्ये सबैभन्दा बढी चिन्ता चासो देखाउने र आवश्यक पर्दा सरसहयोग गर्ने राष्ट्रको रुपमा एउटा असल छिमेकी मुलुकको रुपमा आफ्नो भूमिका खेल्न तत्परता देखाइरहेको अवस्थामा भारतको भूराजनीति र सांस्कृतिक धार्मिक संरचनाको सहकार्यबाट नेपालले विकास र समृद्धिको नारालाई विकासको गोरेटोमा उभ्याउनु जरुरी छ । नेपाल र भारतबीच सिमाना मात्र जोडिएका होइनन् नेपाली र भारतीय जनता जनताबीचका मन पनि जोडिएको छ, भावना पनि जोडिएको छ ,संस्कृति र संस्कार पनि जोडिएको छ, देवी देवताहरू पनि जोडिएका छन् र धेरैजसो हदसम्म अर्थतन्त्र पनि जोडिएको छ । विश्वको सर्वोच्च शिखर भएको सगरमाथा जसलाई हिमाली क्षेत्र भन्ने गरिन्छ त्यसको हावापानीले नै दुईटै देशको अन्नपानी र खाद्यान्न सुरक्षाको प्रतिभूतिलाई रेखाङ्कित गर्दछ। हिमालय क्षेत्रमा हुने गरेको वातावरणीय प्रदूषणले र जलवायु परिवर्तनका घटना चक्रहरुले हिमालयदेखि समुद्र पर्यन्तसम्मका क्षेत्रहरूलाई ठूलो महाविनाशको अवस्थासम्म पुर्याइदिने गरिएको देखिएको छ ।
नेपालका ६००० जति नदीनालाबाट बगेका पानीहरू बर्सातमा भारतीय क्षेत्रमा प्रवेश गर्दा ठूलो बाढीको संकट सिर्जना हुने गर्दछ जसलाई नियन्त्रण गर्नु भारतको लागि अत्यन्त नै कठिन छ तर नेपाल र भारत दुवैले मिलेर नदीनालाहरूलाई व्यवस्थित गर्न वैज्ञानिक तवरले प्रबन्धन गर्न सफल भए भने यस भारतीय महाद्वीपका क्षेत्रहरूबाट नै बाढी, पहिरो, जलजमाव, भूस्खलन, लगायतका प्राकृतिक सङ्कटहरूलाई समाधान गर्न सकिन्छ । भारत र नेपाल दुवै मिलेर विश्वमै दोस्रो जलस्रोतको धनी देशको रूपमा रहेको नेपाललाई सदुपयोग गर्न अनियन्त्रित बाढीलाई नियन्त्रण गर्ने कार्यदेखि जलविद्युतको उत्पादनमा समेत ठूलो सफलता हासिल गर्न सक्छ । नेपाल र भारतबीच जल संसाधन र जलविद्युतको उत्पादन र वितरण क्षमता बढाउने लगायतका कार्यहरूमा दुवै देशले मिलेर काम गर्नु आवश्यक छ । हरेक वर्ष वर्षायाममा उत्पन्न हुने गरेको जल प्रलयलाई नियन्त्रण गर्न दुवै देशले हृदय खोलेर सहकार्य गर्नु जरुरी छ ।
नेपालमा वर्षौंदेखि रेलमार्गको विकास गर्नको लागि भारतले तत्परता देखाइरहँदा पनि नेपालमा यदा कदा देख्ने गरिएको राजनीतिक सङ्कटले पनि त्यसलाई निकास दिन नसकेको अवस्थामा नेपालमा रेलमार्गको अपेक्षित विकास हुन नसकेको सत्य र तथ्यलाई नेपाल सरकारले चासोमा राख्नु जरुरी छ । आज भारतमा दुर्गमभन्दा दुर्गम क्षेत्रमा पनि रेल यातायातले सुविधा पुगि रहेको अवस्थामा नेपालमा पनि पूर्व मेचीदेखि महाकालीसम्म र दक्षिणदेखि उत्तरसम्म रेल्वे यातायातबाट देशलाई जोड्न सकिन्छ । नेपाल सरकारले गर्ने आँटबाट नै नेपालको रेलवे यातायातको विकास सुनिश्चित हुन सक्छ । अहिले भारत रेलवे यातायातको क्षेत्रमा आत्मनिर्भर भइसकेको देश बनिसकेको छ । भारतले रेल्वे यातायातको लागि चाहिने सरसामान र प्रविधिहरू भारतमा नै उत्पादन गरेकोले नेपालले भारतबाट रेल्वे यातायातको विकासको लागि ठूलो अपेक्षा राख्न सक्छ । भारतले आफ्ना सबै तीर्थस्थलहरूलाई रेल, रोड र हवाई यातायात बाट जोड्ने संकल्पमा काम गरिरहेकोले पूर्व पश्चिम र दक्षिण दिशाबाट पुरै भारतबाट नै घेरिएर रहेको नेपालको भूबनोट र भूराजनीतिको लागि नेपालमा रेलवे यातायातको विकासमा पहुँच बढाउन भारतबाट ठूलो अपेक्षा गर्न सकिन्छ र यस सन्दर्भमा नेपाल सरकारले अग्रसरता देखाउनु जरुरी छ ।
सूचना र सञ्चारको क्षेत्रमा पनि भारत विश्वमा नै आइटी हब बनिसकेको छ । नेपालका जेन्जी पुस्ताका नागरिकदेखि अन्य सबै पुस्ताका र उमेरका नागरिकहरू पनि त्यसबाट लाभ लिन अत्यन्तै नै उत्सुक रहेका छन् । विगतका सरकारले केही दिनको लागि मात्र फेसबुक ट्विटर इन्स्टाग्राम लगायतका सूचना प्रविधिहरु बन्द गर्दा नेपालमा ठूलो राजनीतिक क्रान्ति नै सफल हुन गएको थियो । त्यसकारणले नेपाल सरकारले भारतसँग इन्फर्मेसन टेक्नोलोजीको सम्बन्धमा ठूलो सहकार्य गरी नेपालको विकास लाई अगाडि बढाउनु जरुरी छ ।
नेपालीहरूको लागि नेपालको भौगोलिक अखण्डता अत्यन्त नै संवेदनशील मुद्दाको रूपमा रहेकोले नेपाल र भारतबीच रहेका साझा सिमानाहरूको सवालमा उठ्ने गरेका नयाँ नयाँ विवादहरू लाई टुङ्गोमा पु¥याउनु जरुरी छ । लिम्पियाधुरा, कालापानी, लिपुलेकको सम्बन्धमा नेपाली जनताले सत्य र तथ्यलाई स्वीकार गर्नु जरुरी छ । नेपालका नयाँ प्रधानमन्त्री बालेन्द्र शाह छिटै भारत भ्रमणमा जान सक्ने सम्भावना प्रबल हुँदै गइरहेकोले दुईपक्षीय वार्ताको टेबलबाट भारत र नेपालबीच रहेका सबै सिमाना विवादहरुलाई सकेसम्म विवादरहित बनाउनु र समाधान गर्नु जरुरी छ । देशका जनताको विश्वास र भरोसालाई बचाइ राख्न पनि सरकारले आवश्यक पर्दा सबै किसिमका रणनीतिहरू तथा कूटनीतिहरूलाई प्रयोग गरी भारत र नेपालबीच देखिने गरिएका असमझदारीलाई हटाउनु जरुरी छ । नेपाल र भारतबीच दुईपक्षीय हितका सवालहरूमा दुईटै देशले आफ्ना विचारहरू साझा गर्नु र जनताको मनमा बेलाबेलामा उठ्ने गरेका सवालहरूलाई सम्बोधन गर्नु जरुरी छ ।
नेपालको राजनीतिमा भारतीय राजनीतिको वर्चस्व र चासो कसैसँग लुकेको छैन । भारतमा अङ्ग्रेजहरूलाई धपाउन भारतीय जनताले गरेका आन्दोलनहरूमा नेपालीहरूको पनि व्यापक सहभागिता रहेको थियो। त्यस्तै नेपालमा लोकतन्त्रको बहालीमा पनि पटकपटक भारतीय राजनीतिका शीर्ष व्यक्तित्वहरूले नेपाललाई मार्गदर्शन गरेको इतिहास छ । नेपालमा २०४६ सालको आन्दोलन ताका भारतीय राजनीतिमा शीर्ष व्यक्तिको रूपमा उदाएका चन्द्रशेखरको भाषणले नेपालका लोकतन्त्रवादीहरूलाई ठूलो आत्मबल र प्रेरणा प्राप्त भएको थियो र नेपालमा लोकतन्त्रको बहाली भएर बहुदलीय व्यवस्था कायम हुन गएको थियो। नेपालमा २०६२÷ ६३ को आन्दोलन र २०६३ ÷६४ तिरको मधेस आन्दोलनताका पनि भारतीय राजनीतिक विचारधाराले मधेसी जनताहरूलाई आफ्नो अधिकारको लागि लड्न र अगाडि आउन निकै सहयोग पु¥याएको थियो । नेपालमा वामपन्थी आन्दोलनको सुरुवात पनि भारतीय भूभागबाट नै प्रारम्भ भएको थियो। परिणामस्वरूप नेपालमा लामो समयसम्म कम्युनिस्ट सरकारहरूले कार्य गर्ने अवसर प्राप्त गरेको थियो। भारतीय राजनीति जहिले पनि नेपाललाई सकारात्मक दिशातिर उत्प्रेरणा गराउने माध्यमको रुपमा काम गर्दै आएको इतिहास छ ।
अन्तर्राष्ट्रिय रूपमा चीनको बढ्दै गइरहेको दबदबाले गर्दा पनि नेपालमा चीनको बढ्दै गएको दबावप्रति भारत जहिले पनि ससंकित देखिने गरिएको छ । यस किसिमको राजनीतिक विरोधाभासलाई पनि नेपाली राजनीति र कूटनीतिबाट पन्छाउनु जरुरी छ । नेपाल सरकारले जहिले पनि आफ्ना राष्ट्रिय प्राथमिकताहरूलाई वैश्विक मञ्चमा राखेर विदेशका समकक्षी सँगको अन्तरक्रिया र छलफलबाट परस्पर विश्वासको वातावरण निर्माण गर्नु जरुरी छ ।