आज म अमेरिकी इतिहासको एउटा एक जना अभियान्ताको वक्तव्य पेश गर्दैछु । यसको उद्देश्य अमेरिका देखाउनु होइन । अमेरिका घोकाउनु पनि होइन । तर जरूर नेपाली राजनीतिका खेलाडीहरूलाई देखाउनु चाहिं हो । तिनलाई पढाउनु चाहिं हो ।
प्रमुख सियाटल (करिब १७८६ – जुन ७) अमेरिकी आदिवासी (रैथाने) समुदायका एक प्रभावशाली नेता तथा सुक्वामिस र डुवामिस जनजातिका प्रमुख थिए । उनी सन् १८५४ मा प्रस्तुत गरिएको आफ्नो प्रसिद्ध ‘भाषण’ अथवा कतिपय सन्दर्भमा यसलाई ‘पत्र’ भनिएको छ, का कारण विशेष रूपमा परिचित छन् । उक्त भाषण अमेरिकी सरकारका तर्फबाट वासिङ्टन क्षेत्रका गभर्नर आइज्याक स्टिभेन्सले आदिवासीहरूको भूमि खरिद गर्न प्रस्तुत गरेको सन्धि–प्रस्तावको प्रतिक्रियाका रूपमा आएको थियो ।
उनले पश्चिमी सभ्यताको तीव्र विकासले निम्त्याउन सक्ने विनाशप्रति सचेतना दिँदै प्रकृतिको संरक्षण गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए । यही कारणले हो, प्रमुख सियाटलको भाषणले साहित्यिक, सामाजिक तथा पर्यावरणीय क्षेत्रमा आजसम्म पनि उच्च सम्मान प्राप्त गरिरहेको छ ।
भाषणको सारांश
शताब्दीयौँदेखि माथिको आकाश शान्त, स्थिर र शाश्वत जस्तै रहँदै आएको छ, तर अब त्यसमा परिवर्तनको संकेत देखिन थालेको छ । कहिल्यै नबदलिने ताराहरू पनि बदलिन सक्ने छन् । ओझेलमा पर्ने छन् ।
गभर्नर आइज्याक स्टिभेन्सको आगमनलाई मित्रता र सद्भावनाको सन्देश लिएर आएको त हो, तर दुई समुदायको अवस्थाबीच रहेको गहिरो अन्तर छ । गोरा मानिसहरू विशाल प्रेरीमा फैलिएको घाँसझैँ असंख्य छन्; तर रैथानेहरू भने भने आँधीले उजाडेको मैदानमा छरिएका केही रूखहरूझैँ थोरै मात्र बाँकी छन् । यिनीहरूको पतनप्रति गम्भीर चिन्ता । आदिवासी जनतालाई ओह्रालो लाग्दै गएको ज्वारभाटासँग जस्तै छ, जो समुद्रबाट टाढिँदै पर जान्छ तर फेरि त्यो पहिलेझैँ फर्केर कहिल्यै आउँदैन ।
तर यस विपत्तिका लागि गोरा मानिसहरूलाई मात्र दोष दिन मिल्दैन । शोकमा डुब्न मिल्दैन । रैथानेहरूको पनि आवेगपूर्ण युवा अवस्था र विगतका हिंसात्मक व्यवहारका कारण केही दोष रहेको छ । उनाीहरूले आपूmलाई नबदलेको कारण संकटमा परिरहेका छन् । अब रिसाएर केही हुँदेन, रैथानेहरूको दिन अस्ताउँदै गएको छ र उनीहरूमाथि रात पर्दै गएको छ ।
गोरा मानिस र रेड इन्डियन (रैथाने) दुई पृथक् जाति हुन्, जसका उत्पत्ति र नियति पनि अलग छन् । गोरा मानिसहरूको धर्म क्रोधित ईश्वरको फलामे औँलाले ढुङ्गाका पाटीमा लेखिएको थियो, ताकि उनीहरूले त्यसलाई कहिल्यै नबिर्सून् । तर रेड इन्डियनहरूको धर्म भने कुनै ढुंगामा नभई मानिसहरूको हृदयमा लेखिएको छ । त्यसैले त्यो नजोगिन सक्छ ।
दुई समुदायबीचको सबैभन्दा गहिरो भिन्नता मृतकहरूप्रतिको व्यवहारमा देखिन्छ । गोरा मानिसहरू आफ्ना पुर्खाहरूको चिहानबाट टाढा जान्छन् र कुनै पछुतो वा दुःखबिना उनीहरूलाई बिर्सिएजस्तो देखिन्छ । तर रैथानेहरूलाई आफ्नो अस्तित्व प्रदान गर्ने सुन्दर संसार कहिल्यै बिर्सन सक्दैनन् ।
आफ्ना पैतालामुनिको धुलोसमेत पवित्र छ, किनकि त्यसमा पुर्खाहरूको रगत मिसिएको छ । गोरा मानिसका मृतकहरूले पृथ्वीप्रतिको प्रेम गुमाउँछन्, तर रैथानेका मृतकहरूले पनि पृथ्वीका घुमाउरा नदीहरू, पर्वतहरू र प्राकृतिक सौन्दर्यलाई निरन्तर प्रेम गरिरहन्छन् । यहाँ भूमि केवल सम्पत्ति होइन, पुर्खाहरूको स्मृति, आत्मा र अस्तित्वको पवित्र आधार पनि हो ।
अमेरिकी सरकारले रैथानेहरूको भूमि खरिद गर्न र उनीहरूलाई बस्नका लागि आरक्षित क्षेत्र अर्थात् रिजर्भेसन उपलब्ध गराउन चाहेको थियो । त्यही भएर उनीहरूसँग स्वीकार गर्नुबाहेक धेरै विकल्प छैन । वासिङ्टनमा रहेको ‘महान् पिता’ले उनीहरूलाई पुराना शत्रुहरू—हाइडा र सिम्सियन बाट सुरक्षा दिने वाचा गरेको छ । यदि उनीहरूले भूमि बेच्न अस्वीकार गरे भने पनि गोरा मानिसहरू हतियार लिएर आएर अन्ततः त्यो भूमि कब्जा गर्न सक्छन् ।
(सियाटल सन्धि स्वीकार गर्न तयार हुन्छन्, तर एउटा अत्यन्त महत्वपूर्ण सर्त राख्छन् ।)
रैथानेहरूलाई आफ्ना पुर्खाहरू, मित्रहरू र सन्तानका चिहानमा जुनसुकै समयमा पुगेर श्रद्धा व्यक्त गर्ने अधिकारबाट वञ्चित गर्न हुँदैन । यस भूमिको प्रत्येक अंश तिनीहरूका लागि पवित्र छ । प्रत्येक डाँडा, प्रत्येक उपत्यका र प्रत्येक मैदान कुनै न कुनै सुखद वा दुःखद ऐतिहासिक घटनाले पवित्र बनेको छ ।
यसरी भूमि उनका लागि केवल भौगोलिक भूभाग होइन; यो स्मृति, इतिहास, आत्मा र पुर्खाहरूसँगको सम्बन्धको जीवित प्रतीक पनि हो ।
(भाषणको अन्त्य अत्यन्त मार्मिक र भयावह भविष्यवाणीबाट हुन्छ ।)
जब अन्तिम रेड इन्डियन (रैथाने) पनि पृथ्वीबाट विलुप्त हुनेछ र उनीहरूको स्मृति केवल एउटा मिथकमा सीमित हुनेछ, त्यसपछि पनि यी किनाराहरूमा उनका जनजातिका अदृश्य मृतात्माहरू विचरण गरिरहेका हुनेछन् । गोरा मानिसहरू कहिल्यै पनि पूर्ण रूपमा एक्ला हुने छैनन् । रातको समयमा सहर र सडकहरू सुनसान देखिए पनि ती ठाउँहरू रैथाने पुर्खाहरूका फर्किएका आत्माहरूले भरिएका हुनेछन् । तिनका झिलिमिलि सहरहरू पनि रैथानेहरूका आत्माले भरिभराउ हुनेछन् ।
मृत्यु भन्ने केही छैन; केवल संसारको परिवर्तन हुन्छ । समय सधैँ कायम रहँदैन । अपरिवत्र्य पनि हुँदैन । शक्ति र सत्ता निरन्तर बदलिन्छन् ऋतु बदलिएजस्तै ।
एक जातिपछि अर्को जाति आउँछ र एक शासक पछि अर्को शासक आउँछ ।
यसरी अनिवार्य मृत्यु र परिवर्तनको साझा नियतिले अन्ततः गोरा र रैथानेहरूलाई पनि एउटै मानव परिवारका सदस्य अर्थात् भाइ–भाइ बनाउन सक्छ ।
भाषणको सारांश यत्ति नै हो ।
तर यसको गम्भीरता केवल भूमिको स्वामित्वमा मात्रै सीमित छैन । यो सत्ता र शक्तिको अस्थिरताको द्योतक पनि हो । यो संधै मेरै हो भन्ने मूर्खलाई सिकाइएको पाठ हो । कोही निरिह छ भन्दैमा उसको अस्थित्व ने छैन वा रहँदैन भन्ने होइन । त्यो झन धेरै ब्याप्त भएर जान्छ । अहिले नेपाली राजनीतिको आयाम पल्टाउने हो भने, प्रत्येक मानिसले यही कुरा बोल्न बाध्य हुनेछन् ।
सत्ता र शक्तिको उन्मादले, कमजोरहरूमाथि निरन्तर प्रहारले यो समाजलाई बस्नका लागि अझै अयोग्य बनाइरहेका छन् । यो भाषण केवल रैथानेहरूको पक्ष थिएन, यो सभ्यता कसरी सुन्दर बनाउने भन्ने कुरा पनि थियो । आज १८२ बर्ष पछि पनि उतिकै सान्दर्भिक लागेर यसको उल्लेख गरेको हुँ । किनभने अहिले एउटाले अर्कोलाई जसरी पनि सक्ने खेलमा नेपाली राजनीतिको संस्कार बनिरहेको छ र यसले समाजलाई पनि धमिल्याइरहेको छ । किनभने दिन र रात एकै समयमा रहनै सक्दैन ।
त्यसैले यो भाषण खालि एउटा राजनीतिको भाषण होइन, यो त भूमि, प्रकृति, पुर्खा, संस्कृति, धर्म, मृत्यु, विस्थापन तथा मानव सभ्यताको क्षणभंगुरतामाथिको चिन्तन पनि हो । मानिस पृथ्वीको मालिक होइन, मानिस स्वयं पृथ्वी र आप्mना पुर्खाहरूसंग जोडिएको एउटा शुक्ष्म अस्थित्व मात्रै हो ।