कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

अध्यात्ममार्फत् विश्व नवनिर्माणको अभियानमा ब्रम्हाकुमारीको योगभट्टी

दमक । विश्व शान्ति, सामाजिक सद्भाव र एकताका लागि झापा र मोरङ जिल्लाका ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका सदस्यले ‘अध्यात्मद्वारा विश्वको नवनिर्माण’ नारासहित संगठित योगभट्टी अभियान सुरु गरेका छन् ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र दमकको आयोजनामा दमकस्थित पशुपति मन्दिरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा करिब ३५० जनाको सहभागिता थियो । बढ्दो हिंसा, सामाजिक विद्वेष र घृणाका कारण सामाजिक तथा धार्मिक एकतामा चुनौती देखिएका बेला शान्ति, सद्भाव र एकता प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
ब्रह्मकुमारीज नेपालको ६०औँ स्थापना दिवस तथा हिरक जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानअन्तर्गत कम्तीमा पाँच वर्षसम्म हरेक महिना एकपटक संगठित योगभट्टी सञ्चालन गरिने दमक सेवा केन्द्रकी प्रमुख ब्रह्मकुमारी राधाले जानकारी दिइन् । उनका अनुसार नेपाली पात्रोअनुसार हरेक महिनाको अन्तिम शनिबार योगभट्टी सञ्चालन हुनेछ ।
अभियानको अर्को कार्यक्रम भदौ २७ गते मोरङको सिजुवामा आयोजना गरिने आयोजकले जनाएको छ । योग तथा आध्यात्मिक अभ्यासमार्फत विश्व र राष्ट्रमा शान्ति कायम गर्नुका साथै सामाजिक सद्भाव र एकता प्रवद्र्धन गर्ने उद्देश्य अभियानको रहेको आयोजकको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि आस्था कलेजका प्रमुख टेकनाथ भण्डारीले शान्ति, सद्भाव र सामाजिक एकताका लागि ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले थालेको अभियानको प्रशंसा गर्दै सफलताको शुभकामना दिए ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडकी प्रमुख ब्रह्मकुमारी पूर्णिमाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ब्रह्मकुमार विवेकले गरेका थिए ।
कार्यक्रममा दमकका समाजसेवी तथा व्यवसायी विक्रमकुमार शाहको परिवारले हालै दिवंगत भएकी उनकी आमा परमेश्वरी शाहको स्मृतिमा सहभागीका लागि नास्ता तथा पानीको व्यवस्था गरेको थियो । आयोजकका अनुसार दिवंगत शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारले उक्त सेवा गरेको हो ।

Author

You may also like