पथरी, ९ फागुन। एक पछि अर्को निरन्तर खोजमूलक पुस्तक लेखन तथा प्रकाशन गर्दै आएका स्थानीय लेखक दीपेन्द्रराज तिम्सिनाले पुनः अर्को पुस्तक ‘तिमिल्सिना ईतिहासः विगतदेखि वर्तमान सम्म’ प्रकाशन गरेका छन् ।
लेखक तथा प्रकाशक तिम्सिनाले नेपालमा तिमिल्सिना इतिहासदेखि वर्तमान समयका प्रसिद्धि कमाएका तिमिल्सिना वन्धुहरूका बारेमा उल्लेख गर्दै ५७ विषयसुची मार्फत २ सय २७ पृष्ठमा यो पुस्तक प्रकाशित गरेका हुन् । पुस्तकमा लेखकले विभिन्न जिल्लाहरुमा तिमिल्सिना बसोबास, तिमिल्सिना समाज र तिनका कार्यहरू, तपश्वी भवानी शंकर, राज्यका विभिन्न उच्च तह ,पद र ओहदामा पुग्ने तिम्सिनाहरू, पञ्चायत कालदेखि वर्तमान समयमा तिमिल्सिना जनप्रतिनिधीहरूको बारेमा गहिरो अध्ययन तथा खोज गरेका छन् । उनले प्रकाशित गरेको यो पुस्तकमा माओवादी द्वन्द्व र वेपत्ता पारिएकाहरू, तिमिल्सिना वन्धुका शहीदहरू, विद्या वारिधी गर्ने , वरिष्ठ शिक्षक, पत्रकार, राजनितिज्ञ, कुटनितिज्ञ, समाजसेवी, सफल कृषक, उद्योगी, वाणिज्य र व्यापारी आदिको विषयमा पनि सुक्ष्म खोज तथा अन्वेषण गरी प्रकाशमा ल्याएका छन् । त्यस्तै, उनले कला, साहित्य, ललितकला र संगीतको विधाका सम्मानितहरू, तिमल्सिना समुदायका अगुवाहरू, भारतलगायतका विभिन्न अन्तर्राष्ट्रिय मान सम्मान तथा पुरस्कार ग्रहण गर्ने वन्धुहरू, उद्यमी आदि तिमिल्सिना वन्धुहरूको बारेमा वर्तमानसम्मको विषयवस्तुलाई अटाएको पाइन्छ ।
लेखक तिम्सिनाले सो पुस्तकमा मदन पुरस्कार प्राप्त गर्ने, अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा काम गर्नेदेखि चर्चित आध्यात्मिक गुरुहरु, अञ्चलाधीश, जिविस सभापति, स्थानीय विकास अधिकारी, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासम्मका विषयमा मसिनो अध्ययन र खोज गरी प्रकाशित गरेको बताएका छन् । जसमा, तिमिल्सिनाको उत्पत्ति र इतिहास, पोखराको विकासको अगुवा मुक्तिनाथ तिमिल्सिना, पुष्पलाल श्रेष्ठलाई पुष्पलाल बनाउने वलराम उपाध्याय, तिमिल्सिना सांसदहरु राष्ट्रिय सभा अध्यक्ष सहित (११ जना), अछाम जिल्ला एकिकरणका अगुवा देवानन्द तिमिल्सिना, पूर्व प्रधानन्यायाधीश स्व. केशवप्रसाद उपाध्याय तिमिल्सिना, नेपाल राष्ट्र बैकको डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाका विषयमा समेटिएको छ ।
त्यस्तै, तिमिल्सिना प्रमुख÷सहायक जिल्ला अधिकारी, पञ्चायतकाल तथा जनयुद्धमा मारिएका र बेपत्ताहरु, भूकम्पमा निधन भएकाहरु, विद्यावारिधि गर्नेहरु, गिनिज बुकमा नाम लेखाउनेहरु, अन्तर्राष्ट्रिय संस्था जेसीज खोल्नेहरु, चर्चित कलाकार, पत्रकार, साहित्यकारहरुको कुरा उल्लेख गरिएको छ । चर्चित पत्रिका फोर्सको सुचिमा परेका किरण तिमिल्सिना, पञ्चायत काल र वर्तमान तिमिल्सिना जनप्रतिनिधि, भूकम्पविद चिन्तन तिम्सिना, पूर्व रजिस्टार डा. रामकृष्ण तिमिल्सिना, अन्तर्राष्ट्रिय कृषि बैज्ञानिक डा. जगदीश तिम्सिना, विश्व बैकमा कार्यरत डा. गोविन्द तिमिल्सिना, कोरोनामा पहिलोपटक निधन हुने सावित्री तिमिल्सिना बारे खोजमुलक सामग्री रहेको छ ।
पुस्तकमा नन्दप्रसाद तिमिल्सिना (पहिलो ब्राह्मण समुदायको भिक्षु ), चर्चित देउडाविज्ञ गायक नन्दकृष्ण जोशी (तिमिल्सिना), पहिलो प्राज्ञ परिषद सदस्य यज्ञराज उपाध्याय (तिमिल्सिना), मदन पुरस्कार बिजेता रामलाल जोशी तिमिल्सिना, नेपाल राष्ट्र बैंकको निर्देशक हुने डा. सत्येन्द्र तिमिल्सिना, ११६ वर्षीया कमला उपाध्याय तिमिल्सिनाको संघर्षको कथा पनि समेटिएको छ । भारतीय राष्ट्रपतिबाट सम्मानित अरुणा तिमिल्सिना, हमास युद्धग्रस्त क्षेत्रमा पहिलो नेपाली फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सेना, अटो चालक चर्चित समाजसेवी केदारप्रसाद तिमिल्सिनाकासाथै तिमिल्सिना समाज, यसले गरेका कार्यहरु लगायतका ५७ वटा विषय सुचिमा २२७ पेजको दस्तावेज रहेको छ । खोजकर्ता तिम्सिनाको यो ११ औ पुस्तक हो ।
हाल मोरङको पथरी शनिश्चरे १ मा बसोबास गर्दै आएका लेखक तिम्सिनाले यस अघि टेलिफोन डायरी (२०६८), मोरङको सामुदायिक वन एक चिनारी (२०६९) , मोरङको क्षेत्र नंम्बर २ एक चिनारी (२०७०), पथरी शनिश्चरे नगरपालिका एक चिनारी (२०७७), जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण (२०७७), जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण (२०७८), धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म (२०७८) , इतिहासमा पथरी शनिश्चरे (२०७८), मोरङका जनप्रतिनिधि सङ्गालो (२०७९), माईखोलादेखि पुनर्वाससम्म (२०८०), तिमिल्सिना इतिहासः विगतदेखि वर्तमानसम्म (२०८०) गरी १० वटा खोजमुलक किताव प्रकाशनमा ल्याइसकेका छन् । साहित्य कलामा रुचि राख्ने उनी पूर्व पत्रकार समेत हुन् । ४३ वर्षीय उनी यसखाले खोजमुलक पुस्तक प्रकाशन गरेबापत विभिन्न संघ संस्थाहरुबाट सम्मानित हुँदै आएका छन् ।