दमक÷ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्दै मन्त्रीहरूको जिम्मेवारी बाँडफाट गरेका छन् । २०८१ वैशाख २७ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्लाई विस्तार र परिमार्जन गर्दै मुख्यमन्त्री कार्कीले सोमबार नयाँ मन्त्री नियुक्ति र कार्यविभाजन गरेका हुन् ।
नयाँ कार्यविभाजन अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्री खिनु लङ्वा (लिम्बू) लाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् ।
त्यसैगरी तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
सरकारको अन्य महत्वपूर्ण मन्त्रालयहरूमध्ये गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानून, विदुर कुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना र रामप्रसाद महतोले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सामाजिक विकास मन्त्रालयको कार्यभार गीता तिम्सिनालाई सुम्पिएको छ । मन्त्रिपरिषमा दुई जना राज्यमन्त्रीलाई पनि सहभागी गराइएको छ । जसमा उमाकान्त गौतमलाई स्वास्थ्य र सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कोशी प्रदेश सरकारमा जाने चार जना मन्त्री र एक जना राज्यमन्त्रीको नाम टुंग्याएसँगै मन्त्रालयको बाडफाँड सकिएको हो । नेकपाबाट मन्त्री हुनेमा इलामकी खिनु लङ्वा लिम्बू, मोरङका जीवन आचार्य, गीता तिम्सिना, सोलुखुम्बुका गोम्बु शेर्पा र राज्यमन्त्रीमा सुनसरीकी सपना दर्जी रहेका छन् । नेकपाबाट सरकारको नेतृत्व खिनु लङ्वा लिम्बूले गरेकी छिन् ।
नेकपाबाट मन्त्रालयमा जाने नाम पार्टीका कोशी इन्चार्ज राजेन्द्र राई, दलका नेता इन्द्रबहादुर आङ्बो र संयोजक हर्क नेम्वाङको संयुक्त बैठकले टुंगो लगाएको हो ।
योसँगै कोशीमा एमालेको भागमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना, खानेपानी तथा सिँचाइ, स्वास्थ्य र कृषि मन्त्रालय रहेका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच साउन ९ गते भएको तीन बुँदे सहमति अनुसार कोशी प्रदेश सरकार विस्तार भएको हो । एमाले र नेकपा सहमति भएसँगै नेपालीकांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले साउन २५ गते पदबाट राजीनामा दिएका थिए ।
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो । सरकारलाई वहुमत सिद्ध गर्न ८३ सदस्यीय कायम रहेको प्रदेश सभामा ४२ मत आवश्यक थियो ।
प्रदेश सभामा कायम ८३ सदस्यमध्ये ७१ जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् ।
विश्वासको मतको पक्षमा परेको ४५ मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरेका हुन् । आचार्यलाई एमालेका २९, नेकपाका १२ मध्ये ११ , जसपा नेपालका ५ मध्ये ४ र जनमोर्चाको १ मत आएको हो । प्रदेश सभा बैठकमा आठ जना सांसद अनुपस्थित रहेका थिए । यस्तै ३ जना तटस्थ रहेका थिए । सत्ता पक्ष नेकपाका एक सांसद विदेश भएकाले अनुपस्थित भइन् भने जसपा नेपालकी अम्बिका काफ्ले पनि अनुपस्थित भइन् । प्रदेश सभा सचिवालयका अनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा अनुपस्थित भए ।
बागमतिमा नया“ सरकार गठनको बाटो खुल्यो
बागमती प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । कांग्रेसका इन्द्रबहादुर बानियाँले आज सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने भएको हो । अब प्रदेश प्रमुख देवकोटाले संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्दे दलहरुलाई दाबी पेश गर्न आव्हान गर्नेछन् । नेकपा र एमालेबीच प्रदेशहरूमा संयुक्त सरकार सञ्चालन गर्ने पूर्वसहमतिलाई टेकेर सोहि अनुसार सरकार गठन हुने नेताहरू बताउँछन् ।
दुई दलीय भागबण्डाअनुसार बागमती सरकारको नेतृत्व एमालेले गर्ने टुंगो लागिसकेको छ । १०४ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न ५३ जना सांसदको बहुमत पु¥याउनुपर्छ । नेकपा र एमालेसँग ५१ जना मात्रै सांसद छन् । बहुमत जुटाउन अन्य साना दलको समर्थन आवश्यक छ ।
कांग्रेसको ३६ सिट, नेकपाको २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । नेकपा र एमालेलाई सरकार गठनका लागि बहुमत सुनिश्चित गर्न राप्रपाको साथ निर्णायक देखिएको छ ।

Author

You may also like