देश–समाज राजनीति समाचार स्थानीय

जथाभावी आश्वासन नबाँड्न कांग्रेसमा आब्ह्वान

दमक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण संगठनलाई ३४ बुँदे परिपत्र पठाएको छ । “निर्वाचन परिचालन निर्देशिका–०८२” मार्फत कांग्रेसले उम्मेदवार र प्रचारकहरूलाई मत हासिल गर्नका लागि कुनै पनि अवास्तविक वा लहडका प्रतिबद्धता नगर्न सचेत गराएको छ । परिपत्रले स्थानीय मुद्दा पहिचान गरी नागरिक प्रत्यक्ष लाभान्वित हुने योजनामा मात्र प्रतिवद्धता जनाउन निर्देशन दिएको छ ।
निर्देशिकामा उम्मेदवारले भौतिक पूर्वाधारका परियोजनाबारे ‘फिजिबल’ र ‘भायबल’ आधारमा मात्र अभिव्यक्ति दिनुपर्ने उल्लेख गरिएको छ । राष्ट्रिय योजनाबारे केन्द्रले दृष्टिकोण तय गर्ने र स्थानीय आवश्यकतालाई प्राथमिकता दिने भनिएको छ। साथै, प्रचार अभियानका लागि स्वतःस्फूर्त सहयोग मात्र स्वीकार गर्न, व्यवसायीहरूलाई दबाब नदिन, सदस्यहरूको सहभागितामा कोष निर्माण गरी अनावश्यक खर्च नगर्न निर्देशन दिइएको छ ।
कांग्रेसले निर्वाचन सम्पन्न भएको १५ दिनभित्र खर्च विवरण निर्वाचन आयोगमा बुझाउन पनि अनिवार्य गरेको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा तयार निर्देशिका केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भएको हो। कांग्रेसले देशभर १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाइसकेको र फागुन २ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
परिपत्रका अनुसार उम्मेदवार र प्रचारकहरूले आचारसंहिता पालना गर्दै चुनावी वातावरणलाई स्वस्थ, मर्यादित र भयरहित बनाउनेछन् । प्रतिस्पर्धी दल र उम्मेदवारप्रति घृणास्पद वा भड्काऊ अभिव्यक्ति नदिने, आलोचना विषयगत र संयमित राख्ने नीति कांग्रेसले स्पष्ट गरेको छ ।
निर्देशिकाले युवाका सपना र सोचलाई आत्मसात गर्दै “बदलिएको कांग्रेस, नयाँ युगको नेतृत्व” भन्ने नारा अघि सार्न भनिएको छ। प्रचार अभियानमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, स्वतन्त्र प्रेसको सम्मान, विविधता र धार्मिक आस्थाप्रति संवेदनशीलता कायम राख्न जोड दिइएको छ । कांग्रेसले ५–५० को रणनीति अनुसार पाँच कार्यकर्ताले ५० घरपरिवारमा प्रत्यक्ष सम्पर्क गर्ने अभियान अघि बढाउने जनाएको छ। साथै, विदेशस्थित सम्पर्क समितिहरूले पनि प्रचार र समन्वयमा सक्रिय भूमिका निर्वाह गर्नेछन् ।
निर्देशिकामा मतदाता शिक्षा, श्रमिक–कृषकको सम्मान, सामाजिक न्याय र संविधान सुदृढीकरणलाई मुख्य विषयका रूपमा लिने भनिएको छ । सबै तहका पदाधिकारी, उम्मेदवार र सदस्यहरूले निर्देशिका पालनामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने परिपत्रको अन्तिम बुँदामा उल्लेख गरिएको छ ।
पार्टी एक ढिक्का ः शिवाकोटी
यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टी बदलेर देश बदल्ने अभियानमा साथ दिन सबै मतदातालाई आह्वान गरेका छन् । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिद्वारा विर्तामोडमा आयोजित संघसंस्थाका प्रतिनिधिहरूसँगको छलफलमा उनले कांग्रेसलाई सबल बनाउन सबैको योगदान रहेको भन्दै अब पार्टी एकढिक्का भएर चुनावी मैदानमा उत्रिएको बताए ।
शिवाकोटीले अन्य दलले नेतृत्व र नीति परिवर्तन गर्न नसकेको उल्लेख गर्दै नयाँ सोच, नयाँ नीति र ऊर्जासहित आएका कांग्रेसका युवाहरुलाई देशको नेतृत्व गर्ने मौका दिन मतदातालाई आग्रह गरे नयाँ शक्तिका नाममा आएको तर स्पष्ट योजना र इतिहासविहीन समूहप्रति सचेत रहन सुझाव दिए ।
सभापति खगेन्द्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न तहका नेताहरू, कार्यकर्ता र संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Author

You may also like