समाचार

दूध बिक्री नभएकोमा किसानको गुनासो

इलाम, २६ पुस। इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गर्दै पालिकाले यसको सहजिकरण गर्न माग गरेका छन्  ।
गाउँपालिकाले आयोजना गरेको ‘किसानका समस्या र समाधानका उपाय’ विषयक छलफलमा किसानले पछिल्लो समय जटिलरूपमा देखिएको दूध बिक्री नहुने समस्या समाधान गरिदिन पालिकासँग माग गरेका छन् । किसानले ठूलो लगानीमा पशुपालन गरे पनि पछिल्लो समय दूधको बजार शून्यझैँ हुँदा आफूहरू निरास हुने अवस्था आएको किसान पारस न्यौपानले बताए । उनले भने ‘किसान दूध नबिकेर गम्भीर समस्यामा परेका छन्, यस्तो अवस्थामा स्थानीय सरकारले चासो देखाउनुपर्छ ।’
अर्का किसान सुमन बेघाले किसानको दूधको मूल्य घटेको मात्र नभई डेरी र चिज उद्योगले दूधको पैसा नै दिन छाडेकाले किसान थप मर्कामा परेको जनाए । उनले उत्पादित घीउ, छुर्पी र चिज बिक्री नभएको भन्दै उद्योग सञ्चालकले दूधको भुक्तानी नदिएको बताए ।
किसानमात्र नभई उद्योगी र व्यवसायीसमेत मर्कामा परेका छन् । डेरीले उत्पादित घीउ र छुर्पी बिक्री नभएपछि किसानलाई भुक्तानी दिन सकिरहेका छैनन् । उत्पादित दुग्धजन्य पदार्थ बिक्री नभएपछि आफूहरुसमेत मारमा परेको व्यवसायी राजेन्द्र लिम्बूले बताए । गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले किसानका समस्या पालिकाले गम्भीर रूपमा लिएको जनाउँदै आफूहरूले गर्नसक्ने समाधानमा सधैँ प्रतिबद्ध रहेको जनाए ।

Author

You may also like