देश–समाज समाचार स्थानीय

कमलमा राष्ट्रिय पोशाक तथा टोपी दिवस

कमल/ झापाको कमलमा अंग्रेजी सम्बत (नयाँ वर्षको) स्वागतसहित बिहीबार राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइएको छ । पुलचोक संरक्षक समितिको आयोजना तथा नेपाल हेण्डलुम तथा ढाका व्यवसायी संघ झापाको सहयोगमा पुलचोकमा सो दिवस मनाइएको हो ।
पुल चोक संरक्षक समितिका अध्यक्ष सविना राईको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कमल–४ का वडाअध्यक्ष चन्द्र भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
राष्ट्रिय पोशाक, टोपी र यसको महत्वका विषयमा कार्यक्रम केन्द्रीत रहेको कार्यक्रम संयोजक सञ्जीव राईले बताए । उक्त दिवसका अवसरमा आगन्तुकहरु सबैलाई टोपी लगाएर स्वागत गरिएको थियो । करिब सय वटा टोपी वितरण गरिएको पनि राईले बताए ।
कार्यक्रममा वडाअध्यक्ष भट्टराईले राम्रो कार्यक्रम गरिएकोमा प्रशंसा गर्दै आगामी दिनमा वडाले पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने बताए । सहयोग गर्ने संस्था नेपाल हेण्डलुम तथा ढाका व्यवसायी संघ झापाका अध्यक्ष टिका खड्काले ज्येष्ठ नागरिकको शिरमा ढाकाको टोपीले सजाउन पाएकोमा खुशी हुँदै कार्यक्रममा सहभागिताका लागि धन्यवाद दिएका थिए । कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुले शिरमा टोपी लगाएर खुशीमनले बिदा भएको उनले बताए ।
लोकमान लावतीले सञ्चालन गरेको सो कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, ज्येष्ठ नागरिकलगायत टोलबासीहरुको सहभागिता रहेको थियो ।
यसैसन्दर्भमा झापाको कमल गाउँपालिका–२ स्थित राधाकृष्ण टोल विकास संस्थाले स्थानीय १२० जना ज्येष्ठ नागरिकलाई नेपाली ढाका टोपी लगाइदिएर टोेपी दिवस मनाएको छ । त्यस अवसरमा २०२८ सालदेखि अनवरत रुपमा ढाकाको टोपी बुन्ने २ जना आमाहरुलाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा नरमाया लिम्बू र दुर्गादेवी लिम्बू रहेको जानकारी गराइएको छ । यस्तो सम्मान कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष वीरेन्द्र तिवारीले गरेका हुन् ।

Author

You may also like