:– दिपक सुवेदी –:
टोपी कपडाबाट बनेको शिरमा लगाउने एक पोसाक हो । यो विशेष गरी ढाकाको कपडाबाट बनाइन्छ । ढाका नेपाली हातले बुनिने एउटा विशेष प्रकारको कपडा हो । ढाकाबाट बनेको टोपी नै ढाका टोपी हो, जुन नेपालीको शान पनि हो । टोपीलाई शिरपोस पनि भनिन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ शब्दकोशले ‘शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नका निम्ति चुलो र घेरा हाली सिइएको बस्त्र वा शिरपोस’ लाई टोपी भनी परिभाषित गरेको छ ।
टोपी प्राकृत नाम शब्द, शिर छोप्न वा शोभा बढाउन वा बचाउ गर्न घेरा मिलाई सिलाइएको पहिरनलाई टोपी भनिन्छ भन्दै वसन्त शर्मा नेपालको नेपाली शब्दसागर चौथो संस्करण २०६२ को पृष्ठ ५६४ मा ‘संस्कृत भाषामा टोप भन्नाले स्तूप अथवा शिरमालगाउने वरिपरि जालीदार घेरा भएको टोपीलाई बुझाउँछ’ भन्ने लेखिएको छ । यसरी यो टोपी शब्द टोपबाट नै आएको भन्न सकिन्छ । टोपलाई सम्मान र प्यारो बस्तुको रूपमा भन्दा टोपी नामाकरण भएको पनि हुन सक्छ ।
नेवारी भाषामा कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ, जसलाई ढाका टोपी भन्ने गरिएको मानिन्छ । डोटेली भाषा (खस भाषा) मा घरमै पराम्परागत तरिकाले बनाइएको धागोलाई धाका भनिन्छ । अतः नेपाली टोपीको साइ्नो बङ्गलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
ढाकाटोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने, बिचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सबैभन्दा तलको समथर भागले तराईलाई चिनाएको हुन्छ ।
टोपी विभिन्न आकार र प्रकारमा पाइन्छन् । टोपीहरूलाई फरक फरक बनोट र बन्ने वस्तुको आधारमा कानेटोपी, माक्कले टोपी, बिर्खे टोपी, भादगाउँले टोपी, पाल्पाली ढाका टोपी, तेह्रथुमे ढाकाटोपी, छत्रे टोपी आदि फरक प्रकारका नामकरण गरिएको पाइन्छ । नेपालमा विविध भूगोल, क्षेत्र, जाति वा समुदायअनुसार टोपी आ–आफ्ना प्रकारका रहेका छन् ।
नेपालमा टोपी लगाउन कहिलेदेखि सुरु भयो भन्ने जानकारी कहीँ कतै पनि पाइँदैन । भनिन्छ, त्यतिबेला जङ्गबहादुर राणाकी बहिनी डम्बर कुमारीले नेपाली टोपीको डिजाइन गरेकी थिइन् । उनले रिसाएका आफ्ना दाजुलाई फकाउन कलात्मक टोपी बनाएर लगाइदिएको बताइन्छ । वि.सं. २०१५ सालमा नेपालमै पहिलो पटक तानसेनबाट गणेशमान महर्जनले पाल्पाली ढाकाको व्यवसाय सुरु गरेका थिए ।
वि.सं. २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रूपमा मनाउन सुरु गरेका थिए । अर्थात् सन् २०१३ नोभेम्बर २६ मा सामाजिक सञ्जाल फेसबुकमा एउटा सार्वजनिक पेज निर्माण गरी पहिलोपटक जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको थियो ।
सन् २०१४ देखि अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्षको अवसर पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालियो । उक्त सामाजिक सञ्जालका संस्थापकहरू द्वय डा. लेखनाथ काफ्ले र शङ्कर बन्जाडे रहेका छन् । यो अभियान सुरु गर्नुभन्दा केही वर्ष पहिले टोरोन्टो, क्यानाडाबाट डा. गोविन्दसिंह रावतले महिनाको एकपल्ट नेपाली जम्मा भएर स्थानीय कुनै रेस्टुरेन्टमा बसेर टोपी लगाउने प्रयास गरेका थिए । सन् २०१४ पहिलो वर्षमा फेसबुकमा केही व्यक्तिमा मात्रै सीमित यो अभियान सन् २०१६ देखि ‘जागरुक युवा अभियान नेपाल’ ले सडकमार्फत टोपी दिवस मनाउन थाल्यो ।
हिजोआज टोपीलाई राष्ट्रिय स्वाभिमानसँग जोडेर यसलाई प्रचार गरियो र गरिँदैछ । आज पनि इतिहासलाई स्वाभिमानमा गाँसेर व्याख्या गर्न हामी अभ्यस्त छौँ । र, गाउँदै मात्र छौँ, “मेरो टोपी कैलाशको शीरजस्तो, मेरो टोपी हिमाली भीरजस्तो कहिले पनि झुक्न नजान्ने कहिले पनि लुक्न नमान्ने ।”
कथा हालिएको किवंदन्तीमय इतिहासमा आत्मरति गरिरहेछौँ, “यो जन्मँदै जगत्मा कयौँ प्रहार आए, साम्राज्य दुई हारे, हारेन यो सान हाम्रो ।” तर एउटा अल्झन रही नै रहेको छ प्रत्येक नेपालीको मनमा । हुन त ढाका टोपीले न त राष्ट्रियता मजबुत बनाउँछ न स्वाभिमान उँचो पार्छ ।
गाउँमा आएको भनिएको सिंहदरबारका समस्याबाट जबसम्म जनताले मुक्ति र शान्तिको स्वास फेर्न पाउँदैनन् तबसम्म आत्मसन्तुष्टि प्राप्त हुँदैन । चाहे हामी टोपी दिवस मनाऔँ चाहे दौरा दिवस । दिनानुदिन दिवस मनाएपनि त्यो आत्मरतिबाहेक केही हुँदैन । आत्मसन्तुष्टि प्राप्त नहुन्जेल स्वाभिवानले नाम्चेको यात्रा आरम्भ गर्न सक्दैन । स्वाभिमानको अवधारणा र प्रतीकलाई वास्तविकताको कसीमा जाँच्नु आवश्यक छ अबको युवा पुस्ताले । स्वाभिमान त अरूले सम्मान गरेपछि सिर्जना हुने होइन र ?
अभियानका अग्रज डा.गोविन्दसिंह रावत र संस्थापकद्वय डा.लेखनाथ काफ्ले र शङ्कर बन्जाडेप्रति आभार ।