संसारले ओशोलाई ध्यान, प्रेम, चेतना र आनन्द सिकाउने मार्ग दर्शक गुरुको रुपमा स्वीकार गरी सम्मान दिई रहेको छ । योग ध्यानबाट मानसिक शान्ति पाउन सकिन्छ र तनावरहित जीवन हाँसी खुसी बिताउन सकिन्छ भन्ने आदर्श वाक्यलाई ओशो दर्शनको मूल मन्त्र मान्न सकिन्छ ।
महिला र पुरुषको शरीरमा रहेको ऊर्जालाई मात्र काम वासनाको पूर्ति र आनन्द प्राप्तिको रूपमा प्रयोग न गरी शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई समेत बलियो बनाउन सम्भोग बाट समाधिमा जान सकिन्छ कि भन्ने विचारले ओशो आश्रम तिर आउ–जाउ गरिरहेका ओशो प्रेममा अहोभाव खोज्ने जिज्ञासु युवा युवतीहरुको ठूलो आकर्षण देख्न सकिन्छ । सम्भोगबाट समाधिमा जान सक्ने परिकल्पनाले नै युवा युवतीहरुलाई अझ स्वतन्त्र र उर्जाशिल बनाउँछ र ओशो सन्यासी र सन्यासिनिको रूपमा ओशो ध्यान केन्द्रसंग आबद्ध हुन उत्प्रेरित गराउँछ । ओशो ध्यान केन्द्रमा ध्यान र नृत्य गर्ने ओशो सन्यासीहरु कुनै गीता रामायण र वेदमा वर्णित भगवान र देवी देवताको दर्शन र सिद्धि हुने आशाले न भएर आत्म साक्षात्कार र आत्म अनुभूति गर्ने उद्देश्यका लागि ओशोको शिष्यत्व ग्रहण गर्दछन् । उनी समाजले बनाएका नियमहरू परम्पराहरू मूल्यमान्यताहरू सबै ढोङ हो भन्ने गर्दथे ।
उनले विभिन्न धर्महरुमा रहेको विरोधाभासपूर्ण विचारहरूलाई खण्डन गरी एउटा अत्यन्त नयाँ र आधुनिक विचारको रुपमा ओसो मतको प्रतिपादन गरेका थिए । उनको विचार र दर्शन फ्रायडको यौन मनोविज्ञानसँग सम्बन्धित थियो । मानिसको अवचेतन मनभित्र काम भावनाले जरा गाडेर बसेको हुनाले मानिसहरु जीवन पर्यन्त यौन सन्तुष्टिका लागि निरन्तर प्रयत्नशील रहेका भेटिन्छन् । भौतिकवादी दर्शन र मनोविज्ञानले सेक्सुअल ओर्गनिजम लाई नै मानव शरीरको सबैभन्दा विशिष्ट र सक्रिय अङ्गको रुपमा स्वीकार गरेकोले काम भावनालाई दमित पारेर मानिसहरूले जीवनमा कुनै किसिमको सुख शान्ति र आनन्दको अनुभूति गर्न सक्दैन भन्ने विचारले नै ओशोको दार्शनिक पक्षलाई अभिव्यक्त गर्दछ ।
परम्परावादी सनातन हिन्दू संस्कृतिमा यम नियम, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको निरन्तर अभ्यास बाट मानिसहरूले योग साधना गर्दै ईश्वर प्राप्तिको अवसर भेटाउन सक्नेछन्, अनि मात्र शान्ति प्राप्त गर्न सक्दछन् भनेर धार्मिक ग्रन्थहरुमा लेखिएको पाइन्छ, तर ओसोले यस्ता विचारहरूलाई रूढीवाद र पाखण्ड भनेर मात्र बताएनन् उनले संयमित जीवन बिताउने र ब्रह्मचर्य पूर्वक जीवनयापन गर्ने साधु सन्यासीहरूलाई चुनौती दिँदै आफ्नो ओसो मतको प्रतिपादन गर्नुभयो । ओशो कै जीवनकालमा ओसोले परम्परावादी समाजको ठूलो विरोध र आलोचना खेप्नु परेको थियो।ओशो पूर्णरूपमा भौतिकतावादी विचारक थिए । जीवनमा सुख र आनन्द प्राप्त गर्नको लागि मनज्ञै धन कमाउनुपर्छ ।
गरिब व्यक्तिहरूले जीवनमा सुख र शान्ति तथा आनन्द प्राप्त गर्न सक्दैन। उनले आफ्नो आश्रममा चर्को शुल्क नतिरी बस्न र सिक्न पाइँदैन भन्ने किसिमको नियमहरू बसाएका थिए । ओशो आश्रममा मूलत युवा सन्यासी तथा सन्यासीनीहरूलाई मात्र प्रवेश दिने गरिन्थ्यो । गरिब, वृद्धवृद्धाहरु बालबालिकाहरु तथा रोगीहरू लाई आश्रममा बस्न पूर्ण रुपमा निषेध गर्ने गरिन्थ्यो । ओशोको स्वयंको जीवनमा ईश्वरको कुनै अस्तित्व थिएन । ओशो मूल रूपमा अनीश्वरवादी थिए । उनका कोही गुरु थिएन र उनले आफ्नो जीवनको अन्त्य हुँदासम्म पनि आफ्नो कुनै उत्तराधिकारी गुरुको छनौट गर्नुभएन । उनले खोलेका ट्रष्टहरूलाई अहिले ओशोका शिष्यहरुले नै चलाइरहेका छन् । दार्शनिकहरू स्वभावैले विद्रोही हुन्छन् । ओशोले पनि आफ्नो विचार र दर्शनलाई तार्किक रूपमा प्रस्तुत गर्दै विभिन्न धर्म र संस्कृतिमा प्रचलित मूल्य मान्यता र परम्परा भित्र रहेका आडम्बर र गलत कुराहरुलाई पाखण्ड भन्दै खण्डन मण्डन गरे तथा गौतम बुद्ध जस्तै संसारभरि नै एउटा नयाँ ओशो धर्म बनाउने र चलाउने गरी ओशो कम्यून विचार केन्द्र र ध्यान केन्द्र जस्ता संस्थाहरू सञ्चालन गर्न लगाए ।
ओशो मूल रूपमा दार्शनिक विद्वान भएकोले उनले विश्वविद्यालयमा पढाउने गरेका विषय मनोविज्ञान र, तर्क शास्त्र भएकोले उनले लेखेका पुस्तकहरूमा मानव जीवनका अनुत्तरित गुढ प्रश्नहरू, गम्भीर विषय वस्तुहरू तथा मानव मनका अनुत्तरित प्रश्नहरू तथा जीवनका शाश्वत सत्यलाई गहिरो अध्ययन गरी बुझन सकिन्छ ।
खासगरी युवावस्थामा प्रवेश गर्दै गरेको युवा र युवतीहरुको मनलाई व्युँझ्याउने र किशोर किशोरीहरुमा काम भावना उद्दिपित गराउने गरि स्वतन्त्र रूपमा यौन साथीहरू रोज्ने र ओशो केन्द्रहरुलाई अविवाहित जोडीहरूको मेटिङ् प्लेसको रूपमा विकसित गराउने उनको योजना यूरोप अमेरिका क्यानाडा डेनमार्क नेदरल्यान्ड युके लगायत भारत तथा नेपालका शहरी क्षेत्रहरूमा व्यापक रूपमा विस्तार हुँदै गयो । रजनिशको जीवन कालमा नै मुम्बई महाराष्ट्रको पुणे स्थित रजनिशपुरम तथा मध्यप्रदेशको पुना स्थित उनको आश्रममा हजारौंको संख्यामामा विदेशी पर्यटक हरूको आगमनले गर्दा संस्थालाई ठूलो मात्रामा धनको पनि प्राप्ति हुँदै गयो ।
रजनीशबाट आचार्य रजनीश त्यसपछि भगवान रजनीश बनेका मध्यम वर्गीय परिवारका जैन धर्मावलम्बी कपडा व्यापारी बाबुको छोरो रजनीश ओशो रजनीशमा रूपान्तरण भए । उनले आफूलाई चिनाउन बौद्ध धर्मको गुरु परम्पराको जापान तिर प्रचलनमा रहेको ओशो नामलाई मृत्युपर्यन्त सम्म फेर्न पाउनु भएन ।
सन् १९९१मा मात्र ५७ वर्षको उमेरमा उहाँको मृत्यु खास गरी युवा महिलाहरूले प्रयोग गर्ने धेरै सुगन्ध आउने अत्तरको एलर्जीको कारणले स्वाँस प्रंस्वास प्रणालीमा इन्फेक्सनको कारण ले भएको थियो । ओशोले आफ्नो जीवनकालमा आफ्नो प्रवचनहरूबाट विश्वका प्रसिद्ध लेखकहरू, कलाकारहरू, कविहरू, फिल्म निर्माताहरू, तथा सिनेकर्मीहरू लगायत ठूलठुला उद्योगपति र पुँजीपतिहरुलाई प्रभावित पारेका थिए। वैश्विक रूपमै नारी र पुरुष बीचको समान स्वतन्त्रता, लैङ्गिक स्वतन्त्रता र अधिकारको माग गर्ने समाज र संस्थाहरूले ओशोको विचारलाई पूर्णरूपमा समर्थन गरेका थिए ।
ओशो जहाँ–जहाँ गए त्यहाँ–त्यहाँ उनका समर्थकहरू र उनको विचारलाई सुन्ने र आफ्नो जीवनमा त्यसलाई पालना गर्ने व्यक्तिहरूको समूह बढ्दै गयो तथा उनको विरोध गर्नेहरूको संख्या पनि उत्तिकै बढ्दै गयो। ओसोले लेखेका पुस्तकहरू नै अहिले ओशोलाई एउटा असल भौतिकवादी र आध्यात्मिक गुरुको रुपमा चिनाउन थालेको छ । ओशो मूलरूपमा यौन स्वतन्त्रताका पक्षपाती थिए । उनी धार्मिक कर्मकाण्डका कट्टर विरोधी थिए । ओशो लाई मन्दिर मस्जिद, चर्चा गुरुद्वारा जैन मन्दिर आदिप्रति कुनै आस्था थिएन । व्यावहारिक रूपमा हुने उनी घोर नास्तिक थिए ।
अहिले शारीरिक रूपमा ओशो जीवित नभएर पनि उनका विचारहरूलाई उनका समर्थकहरूले तथा शिष्यहरूले प्रचार प्रसार गरिरहेका छन् र उनले खोलेका आश्रमहरूमा समाजका ठूला व्यक्तिहरू पनि स्वास्थ्य र मानसिक शान्तिको चाहना राखेर जाने गरेका छन् । अहिले पश्चिमेली मुलुकहरूमा जुन किसिमको यौन स्वतन्त्रता छ त्यस्तै किसिमको यौन स्वतन्त्रताको पृष्ठपोषण गर्दै ओशो प्रेमीहरू प्रेम ध्यान र सेक्स थेरेपीको माध्यमबाट युवा युवतीहरु लाई स्वतन्त्र रुपमा बाँच्न र जीवनयापन गर्न उत्प्रेरणाहरू जगाइरहेको देखिन्छ ।
वास्तवमा ओशो विचारधाराले परम्परावादी संस्कारलाई विस्थापित गर्न खोजिरहेको र महिला र पुरुषबीच उन्मुक्त प्रेम सम्बन्धको रितिथिति बसाल्न समाजको अगुवाई गरिरहेको जस्तो अनुभव गर्न सकिन्छ । ओशो साँच्चिकै अर्थमा एउटा असल बुद्धिजीवी, भविष्य द्रष्टा गुरु र दार्शनिक व्यक्तित्व थिए ।

Author

You may also like