दमक, २० असोज-
झापाको दमकमा यसबेला बर्मेली नेपालीहरुको पीडादायी भोगाइ समेटिएको नाटक ‘जयमाया आफू मात्रै लिखापानी आईपुगी’ खचाखच दर्शकमाझ प्रस्तुत भइरहेको छ ।
असोज १२ देखि स्थानीय कदम थिएटरको आयोजनाको प्रदर्शनमा दर्शकहरु टिकट काटेर दैनिक हलमा खचाखच छन् । दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि त्यहाँ रहेका नेपालीमुलका मानिसहरु ज्यान जोगाउन लिखापानी भागेको अवस्थाको जीवन भोगाइलाई कलाकारहरुले सो नाटकमा जीवन्त रुपमा उतारेका छन् । नाटकको कथावस्तुको प्रस्तुति अति नै प्रभावकारी भएको दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंको प्रतिक्रिया छ । नाटकको कारुणिक कथामा उस्तै जीवन्त अभिनयले नाटक हेर्दा रेगिनाको पनि आँखामा आँशु आँशु भयो । अरु दर्शकको पनि आँखा ओभाना रहेनन् । साहित्यकार इन्द्रबहादुर राईले लेखेको कथामा आधारित नाटक असोज २१ गतेसम्म १० दिनमा १५ शो मञ्चन गर्नेछ । नाटकको निर्देशन पथरीशनिश्चरेका अनुभवी नाट्यकर्मी जीवन वरालको रहेको छ ।
नाटक हेर्नका लागि टाढा टाढाबाट नाट्यप्रेमीहरु आएर टिकटमा नाटक हेर्ने अभ्यास बढाउन सहयोग गरेकोप्रति कदम थिएटरका कला निर्देशक सिजन दाहाल आभारी छन् । भन्छन् ‘नाटकमार्फत समाजका यावत पक्षलाई प्रभावकारी रुपले प्रस्तुत गर्दै नाटकको व्यवसायिकताको समेत प्रवद्र्धन गर्ने हाम्रो अभियानमा दर्शकको साथले उत्साह भरेको छ ।’ ९५ जना दर्शक क्षमताको हल दैनिक खचाखच हुने गरेको छ । विद्यार्थी सहुलियतका लागि १ सय ५० देखि १ हजार रुपैयाँसम्मको टिकट काटेर आउने दर्शक हलमा अट्न हम्मे परेको दाहालले सुनाए । शनिबार २ शो र अन्य दिन साँझको एक शो हुने गरेको छ । नाटक हेर्नैका लागि इलामको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो नाटकघर आइपुगेर नाटक हेरेर निकै प्रभावित बने । विर्तामोड, भद्रपुर, काँकडभिट्टा, धरान, विराटनगरसम्मबाट दर्शकहरु नाटक हेर्न आउने गरेका छन् । शनिबारको शो का लागि भद्रपुर र लेटाङका युवा समूहले अग्रिम टिकट बुकिङ गरेको छ । नाटकको सवै पक्ष प्रभावकारी भएकोमा ७० वर्ष अघिको समयको बर्मेली नेपालीको भेषभुषालाई समेत दुरुस्त पार्नु पर्ने सुझाव केहि दर्शकको छ ।
नाटकमा अनिल दुलाल, आयुुश खतिवडा, जंग मगर, पारुमा राई, पुनम भुजेल, पुष्प राई, भरत मगर, नविन भण्डारी, नविन रिजाल, रश्मी उप्रेती, रोशन मुर्मु, विवेक राउत, संचिता लामा, सुष्मा रानाको अभिनय रहेको छ ।
दमक नगर उपप्रमुख प्रसाइ सहितका सामाजिक व्यक्तित्वहरुको समेत नाटक हेर्ने निमन्त्रणाका भिडियो क्लिप्सले स्थानीयलाई नाटकको स्वादप्रति आकर्षक गर्ने ध्याउन्ते गरेको देखिन्छ । चुलाचुली रंगमञ्च इलामले जंगल अवस्थामा रहेको क्षेत्रमा कसरी बसोवास अघि बढ्यो भन्ने इतिहासलाई खोतल्दै ‘झोडा’ नामक नाटकसँगै कदमकको जारी नाटकको संयुक्त प्रचार प्रसार गरेको छ । ‘झोडा’ असोज २६ देखि ३० सम्म दमकको किरात भवनमा प्रदर्शन हुनेछ । साहित्यकार गणेश रसिकको उपन्यास आकाशगंगाको ओतमुनिमा आधारित रहेर चेतन डरको परिकल्पना/निर्देशनमा सो नाटक तयार भएको हो । ‘दमक नाटक गर्छ’, ‘दमक नाटक हेर्छ’ भन्ने नाटकप्रतिको लगाव सिर्जना गरिएको स्लोगन अगाडि राखेर कदम थिएटरका युवाहरु साइकिलिङ गर्दै नाट्य प्रचारमा चोक वस्ती घुमेका छन् । केहि प्लेकार्डमा भनें ‘म नाटक गर्छु,’ ‘म नाटक हेर्छु ’ लेखेर दुवै नाटकका पोष्टर राखेर नाटक हेर्न निम्तो बाँढ्दै टोली घुमेको थियो ।