विजयादशमी अर्थात बडा दशैं हाम्रा अगाडी ठिङ्ग उभिएको छ । नेपाली समाज यतिखेर सांस्कृतिक संक्रमणको संघारमा छ । हिन्दु धर्म, संस्कृति र जीवन पद्धतिबाट अभिसिञ्चित हुँदै विकसित भएका मानव कल्याणकारी सन्देशहरू क्रमशः तिरस्कृत र लोप हुँदै गएका छन् भने नेपाली संस्कृतिमाथि आक्रामक गतिले नेपाली समाजको मौलिक अस्तित्व नै समाप्त हुनेसम्मका खतरापूणर् संकेतहरू पनि देखिन थालेका छन् ।
यही अवस्थामा यो वर्षको बडा दशैं पर्व सबै नेपालीको घर-दैलोमा आइपुगेको छ । वर्षमा एकपटक मनाइने यो पर्वको आध्यामिक चेतनाले ओतप्रोत नेपाली समाजमा धार्मिक-सांस्कृतिक महत्व बिशिष्ट छ ।
राजबनीति, धर्म र जातिको अस्तित्व बचाउने नाममा श्रेय लिने प्रतिष्पर्धात्मक जुधाइको अचानो पनि संस्कृति र चाडपर्व नै हुने गरेका छन् ।
अवसरलाई धार्मिक-सांस्कृतिक अतिक्रमणको सुनौलो मौका ठान्नेहरू नै नेपाली समाजको मौलिक संस्कृति रक्षाका लागि ठूलो चुनौती बन्दै गएका छन् । राजनीतिक परिवर्तन र सामाजिक-आर्थिक रूपान्तरणको लहरले सिंगो नेपाली समाज प्रभावित भैरहेको मौका छोपेर नेपाली समाजको सद्भाव, मेलमिलाप र सहिष्णुताको संस्कार र संस्कृति नष्ट गर्न खोज्ने आसुरी प्रवृत्तिप्रति नेपाली समाज सचेत हुनैपर्ने अवस्था सिर्जित भैसकेको छ । बडा दशैं जस्तो धार्मिक-सांस्कृतिक महत्वको राष्ट्रिय चाडपर्व क्रमशः समृद्धि र विलाशिता प्रदर्शन गर्ने अवसरका रुपमा समेत उपयोग हुनका साथै खर्चिलो र बोझिलो हन थालेको छ । परिवारजनसँग भेटघाट गर्ने, राम्रा-राम्रा नयाँ लुगा लगाउने, मीठो-मीठो खाने र सुख-समृद्धिको अनुभूत गराउने यो अवसरलाई सवै नेपालीले समान रुपमा मनाउन सक्ने वातावरणको सिर्जना गर्दै दशैंलाई सबै नेपालीको साझा बनाउन सक्नुपर्छ ।
अन्त्यमा, हामी विभिन्न आरोह अवरोह, चुनौति र सम्भावनाकावीच पूर्वसन्देश दैनिकलाई यहाँसम्म ल्याउन सफल भएका छौं । पत्रिकाको अनवरत प्रकाशन पनि ठूलो कुरा हो । पत्रिकालाई यहाँसम्म ल्याउन तपाई पाठक, ग्राहक, स्तम्भकार, विज्ञापनदाता र शुभचिन्तकको योगदान र भूमिका हामी सदैव स्मरण गर्न चाहन्छौं । पत्रिकाको तर्फबाट तपाई सबैप्रति हार्दिक आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछौं । बडादशैं शुखद रहोस् । हार्दिक मंगलमय शुभकामना ।