दमक नगरपालिकाले दमक बजारक्षेत्रभित्र निर्माणाधिन रहेका बाटोहरु समयमा नबन्दा जनताले सास्ती व्यहोर्नु परेको कुरा औंल्याएर सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । विशेष गरेर ढल निकास आयोजना तथा सडक कालापत्रे आयोजनाका लागि खानेपानी मन्त्रालय र अन्तर्गतका विभागसँग एससी स्वामीनारायण आर्शिवाद जेभीसँग सम्झौता गरेर काम अगाडि बढाएको तर लामो समयदेखि उक्त काम समयमा पूरा नहु््ँदा स्थानीयबासीले भोग्नु परेको समस्या उजागर गरेर ध्यानाकर्षण पत्र संघीय खानेपानी मन्त्रालयलाई बोधार्थ दिएर लेख्यो । यो एउटा प्रतिनिधिमूलक समस्या मात्र हो । यस्ता समस्या सबै स्थानीय तहले भोग्दै आइरहेका छन् । खास गरेर विकासको काममा सबैका सबै निकायबीच समन्वयको जरुरी पर्ने गर्दछ । एउटा पूर्ण रुपमा विकास हेर्न विजुली, खानेपानी, ढल, बाटो, पिच, टेलिफोन, इन्टरनेटलगायत सौन्दर्यकरणका लागि आवश्यक संरचनाहरु आवश्यक हुन्छ ती सबै काम एउटै स्थानबाट हुन सम्भव छैन । सबैले आ–आफ्नो कार्यतालिका, योजना वा निर्देशन बमोजिम मात्र गर्ने गरेका छन् । तर उनीहरुले स्थानीय सरकारसँग कुनै समन्वय गरिरहेका हुँदैनन् । स्थानीय तहको विकास नहुनुको मूल जड यसैलाई मानिएको छ । सरकारका निकायहरुबीच आ–आप्mना स्वार्थले समन्वय हुँदा–हुँदै पनि असहयोग गर्ने प्रवृत्ति पनि मौलाउन थालेको छ । अर्को कुनै निकायले जस पाउने गरी काम गर्दा आप्mनो निकायले हेर्ने पूर्वाधारहरुले क्षति ब्यहोर्नुपर्ने अवस्था नस्वीकार्ने भन्दै सरकारी अधिकारीहरु एकले अर्कोलाई काममै निषेध गर्ने तहसम्म पुग्न थालेका छन् ।
अर्को बाधक भनेको ठकेदारको लापरवाही । ठेकेदारले ठेक्का लिने अनि समयमा काम पुरा नगर्ने रोग धेरै पुरानो भईसकेको छ । कतिपय ठेकेदारहरुले १० ठाउँमा ठेक्का लिने र उनीहरुको म्यानपावर र निर्माण औजार, उपकरणले नभ्याउने हुँदा काममा ढिलासुस्ती हुने गरेको छ । कतिपय ठेकेदारले काम समयमा सक्दा पनि समयमा सरकाररले भुक्तानी नदिएर पनि कतिपय कामहरु रोकिएका छन् । अर्कोतिर स्थानीयबासीको अवरोध पनि बेला–बेला हुने गरेको छ । निर्माण हुने स्थान आपसमा जग्गाको विषयलाई लिएर पनि स्थानीयबासीबाट मुद्दामामिलामा जाने र काम लामो समय अड्किने गरेका दृष्टान्तहरु प्रशस्तै स्थानीय तहका सरकारहरुले भोग्दै आएका छन् ।
अब यी यावत् समस्याको समाधानका लागि स्थानीय सरकार र नेपाल सरकारका निकाय र जनताबीच समन्वयको खाँचो रहेको देखिन्छ । सबैभन्दा ठूलो कुरा त जनताको जनजीविका र स्वास्थ्यको ख्याल सबै पक्षले गम्भिरतापूर्वक लिन आवश्यक देखिन्छ । जनता वा स्थानीयबासीप्रति जनउत्तरदायी र जिम्मेवारी भएर कामलाई प्राथमिकतामा राखेर गएको खण्डमा मात्र समयमै थालिएका योजनाहरु पूरा हुने देखिन्छ । नत्र विकासको नाममा जनताले भोग्नुपर्ने सास्ती घट्ने होइन झन बढ्नसक्छ । कतिपय ठेकेदारहरुले समयमा भुक्तानी नपाउने अवस्थाको अन्त्य हुन पनि उत्तिकै आवश्यक छ । आफ्नो घरगाउँको विकासमा स्थानीयबासी पनि चनाखो भएर खबरदारीका गतिविधिमा सचेत गराउन उत्तिकै चनाखो हुनुपर्दछ । यसरी स्थानीय सरकारको काम भनेको राज्यको विकास निर्माण जोडिने भएकोले समग्रमा समृद्धिका बाधक यी सन्दर्भमा हटाउन सरकारले नीति, नियम बनाएर नियमन गर्न पनि उत्तिकै जरुरी देखिन्छ ।
