दमक । भारत र पाकिस्तानबीचको बढ्दो तनावले नेपालसहित विश्वलाई चिन्तित तुल्याएको छ । छिमेकी देशबीच आतंकवादी हमलालाई लिएर हुन गएको आक्रमण र पत्याक्रमणको शृंखलाका विषयमा विश्वमै छलफल र बहस चलिरहेका छन् । यसबाट नेपाललाई पार्ने प्रभावका विषयमा नेपाल सरकारले विभिन्न सर्तकताका निम्ति विभिन्न निर्णयहरु गरेको छ ।
भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा हवाई हमला सुरु गरेपछि दुई देशबीचको तनाव बढ्दै गएपछि नेपालमा पनि सर्तकता अपनाउन थालिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बुधबार गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठकबाट द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । उक्त छलफलमा मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए ।
सीमावर्ती क्षेत्रमा निगरानी बढाउने, आपतकालीन योजनाहरू अद्यावधिक गर्ने र सम्भावित शरणार्थी बहावको सामना गर्न गृह मन्त्रालय, सशस्त्र प्रहरी र स्थानीय प्रशासनलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । नेपालले ऐतिहासिक तटस्थताको नीतिअनुसार कुनै पक्ष नलिई संयमता र संवादको मार्गलाई समर्थन गर्ने नीति अवलम्बन गर्ने निष्कर्ष बैठकले निकालेको छ ।
राष्ट्रिय सुरक्षा परिषदको बैठकले विशेष गरेर नेपाल–भारत खुला सीमा रहेकाले आवातजावत गर्नेहरूको पूर्णरूपमा परिचयपत्र हेर्ने र अभिलेख समेत राख्ने निर्णय भएको छ । बुधबारदेखि कश्मीर नजिक पर्ने कैलाली, कञ्चनपुर, डडेलधुरा लगायत पश्चिम नाकामा विषेश निगरानी बढाइएको छ । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरू सबैको परिचयपत्र हेर्ने र नेपालमा जाने स्थान समेत यकिन गरेर मात्रै प्रवेश दिएको छ । नेपाल प्रहरीले पनि आवश्यक पर्दा सशस्त्रसँगै सीमा क्षेत्रको गस्ती गर्ने भएको छ ।
सरकारले युद्धसम्बन्धी सूचना प्रचारप्रसारमा
संवेदनशीलता अपनाउने र अफवाह तथा दुष्प्रचार रोक्न सञ्चारमाध्यमलाई संयमित रिपोर्टिङको आग्रह गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार नेपालले केही दिनभित्रै शान्तिपूर्ण संवाद र संयमतर्फ उन्मुख हुन दुवै पक्षलाई आह्वान गर्ने औपचारिक विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ । साथै, यथास्थितिमा गम्भीर परिवर्तन भएमा राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय गरी मानवीय र सुरक्षा उपायहरू विस्तार गर्ने रणनीति सरकारले लिएको छ ।
नेपाल भारत र पाकिस्तान दुबैसँग भू–राजनीतिक, व्यापारिक, र सामाजिक सम्बन्ध भएका देश हो । भारतसँग खुला सिमा रहेकोले युद्धको असर सिधै नेपालमा पर्न सक्ने खतरा बढेको छ । सम्भावित शरणार्थी बहाव, आपूर्ति लाइनमा अवरोध, र सुरक्षामा जोखिमको आँकलन सरकारले गरेको छ ।
यसैबीच, पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबि)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पेट्रोल र खबर आदान–प्रदानलाई तीव्रता दिएको छ । यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको छ ।
भारतले आतंककारी लक्षित गरी ९ ठाउँमा हवाई आक्रमण गरेपछिको स्थितिले विश्वलाई आश्चर्यमा पारेको छ । सो विषयलाई लिएर पाकिस्तानले उचित समय र स्थानमा यसको जवाफ दिने चेतावनी दिएको छ । यद्यपि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको कार्यालयले देशका सशस्त्र बललाई “प्रत्युत्तरात्मक कारबाही” गर्न अनुमति दिएको छ । द गार्जियन न्युजका अनुसार भारतले बुधबार मध्यरात पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीरमा आक्रमण गरेपछि यस्तो अनुमति दिइएको हो । यो हमला पछिल्लो दशकको सबैभन्दा गम्भीर सैन्य झडप मानिएको छ ।
को–कसले के भने ?
उक्त युद्धका सम्बन्धमा संयुक्त राष्ट्र संघले आपचारिक रुपमा प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् । दुजारिकले भने, ‘भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ ।’
यसैगरी, भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ विषयमा चीनले मुख खोलेको छ । खेदजनक भनेको छ । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आउने क्रममा चीनले यसलाई खेदजनक भनेको छ ।
यसैगरी भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकाले तत्कालै प्रतिक्रिया दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई लाजमर्दो भनेका छन् । उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ, लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो । उनीहरू दशकौँ र शताब्दीयौँदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ ।’ कश्मीरको पहलगाममा अप्रिल २२ मा २७ जनाको ज्यान जाने गरि भएको आतंककारी आक्रमणको बदलामा भारतले बुधबार हवाई आक्रमण गरेको हो । भारतको आक्रमण पछि पाकिस्तानले कडा प्रतिक्रिया दिने बताइसकेको छ ।

Author

You may also like