नेकपा एमाले नेतृत्व पंक्तिप्रति असन्तुष्ट रहेका प्रदीप नेपाल भौतिक रुपमा टाढा भईसकेका छन । पुराना नेताको पंक्तिमा दरिएका मनमोहनको उचाईको नेताप्रति पार्टी नेतृत्वको वेवास्ताले उनमा असन्तुष्टि बढेको देखिन्छ । बाँचुञ्जेल प्रदीप नेपाल कहाँ छ कुन अवस्थामा छ भनेर नखोजेको पार्टी नेतृत्वले झण्डा ओढाएर तिनीहरुको श्रद्धाञ्जली ग्रहण गर्नुलाई उनले राजनीतिक बेइमानी ठानेरहोला इमान्दातिराको इच्छापत्र छोडेर जान बाध्य भए । बाचुञ्जेल समाज परिवर्ननका निम्ति राजनीतिक चेतसँगै कलमका माध्यमबाट समाजलाई परिस्कृत र परिमार्जनका निम्ति स्व. नेपालले खेलेको भूमिकालाई त्यो बेला बुझ्ने मौका पाइयो जतिबेला इटहरीस्थित सप्तकोशी एफएमको वार्षिकोत्सवको कार्यक्रम भएको थियो । सो कार्यक्रममा उनलाई अलिकति नजिकबाट नियाल्ने र बुझ्ने अवसर यो पंक्तिकारलाई मिलेको थियो । उनको त्यो लवज, शालिन अभिव्यक्ति र बौद्धिक विचारले पार्टी, समाज र राष्ट्रका निम्ति पुर्याएको योगदान प्रष्ट्याएको थियो । एक स्वतन्त्र कमलजीवी भएको नाताले नेताहरुसँग कमै नजिकिने मेरो स्वभाव हुँदा हुँदै पनि त्यो कार्यक्रमबाट स्व. प्रदीप नेपालको बौद्धिक विचारले मेरो मन जितेको थियो । त्यसो त हामी सहयोत्री पनि उनी नेपाल, म सुतार कार्की त्यसै पनि सम्बन्ध स्थापित भयो । त्यसपछि कम्युनिष्टहरुको तल्लो लेभलका साथीहरुसँगको संगत बढ्यो । सप्तकोशी एफएमका स्थापनाकालदेखि कै सक्रिय र क्रियाशिल व्यक्तित्व विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेका लिलाराज भट्टराईसँग नजिकिएर एमालेसम्बद्ध धेरै काम, साथ र सहयोग भए र गरिए जुन निरन्तर चलिरहेकै छ । त्यसो त भट्टराई पत्रकारितामा मात्र नभएर पार्टीको नेतृत्व पंक्तिमा चिनिएका व्यक्ति पनि हुन । चाहे त्यो एमाले सम्बद्ध पत्रकारको संगठन प्रेस चौतारी होस् वा एमाले पार्टी उनी सबैको साझा मात्र छैनन धेरै एमालेका गुरु (प्रशिक्षक) समेत हुन । यद्यपि एमाले मात्र होइन ठूला दलको उच्चस्तरीय नेतृत्वका गतिविधि, आचारविचार, विधिविधान र प्रवृत्ति मलाई मन पर्दैन । तर ती दलभित्र रहेर प्रदीप नेपालजस्तै भूमिकामा रहने धेरै नेताहरुका पक्षमा भने सँधै उभिन्छु चाहे उनीहरु चिनुन वा नचिनुन । चिनिएरै हिंड्ने सौख पनि मलाई छैन । जसले जनतालाई शिरोपर गरेर लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा राजनीतिक गतिविधि गरिरहेका हुन्छन । तिनीहरुको पक्षमा साथ, सहयोग गर्ने दायित्व त्यो बेलादेखि नै बोकेको छु । तर कुनै दल विशेषको टिकट काटेर उसकै पक्षपोषणमा झोला बोकेर मागी खाने बनेको भने होइन । नेपाली कांग्रेससँग त झनै पारिवारिक सम्बन्ध छ । मेरो पिताजी इन्द्र बहादुर कार्की नै नेपाली कांग्रेसको स्थानीय नेता, भतिज गजेन्द्र कार्की गाउँपालिका अध्यक्ष हुँदै जिल्ला तहकै नेता, दाजु ज्ञानेन्द्र कार्की कांग्रेसको उच्चस्तरीय नेता त्यसै पनि कांग्रेससँग नजिकिने आधार थिए तर पनि किन हो उनीहरुको कार्यशैलीमा म कहिल्यै सन्तुष्ट हुन सकिन । अझ माथिल्लो स्तरका नेताहरु आधाभन्दा बढीको कार्यशैली ठिक छैन । मेरो पुरै परिवार नै कांग्रेस हुँदा हुँदै यहि कार्यशैलीले सबै तितरवितर भईसकेका छन् । फेरी कार्यशैलीका आधारमा विरोध मात्र हो । मेरा लागि कोही नजिक र कोही टाढा हुँदैनन । कसैसँग दुस्मनी म साँध्धिदन । त्यसो गर्नु पनि हुँदैन । यद्यपि युवाहरुमा नयाँ जोस र उर्जा दिनसक्ने कुशल नेतृत्व र तार्किक क्षमताका धनी प्रदीप नेपालसँग त्यो भेट आज पनि मानसपटलमा ताजै रहेको छ जुन अन्तिम बन्न पुग्यो ।
नेतृत्वमा देखिने उतारचढाव उनमा कहिल्यै देखिएन । नेकपा एमालेको महासचिव हुनखोज्दा होस् वा उपाध्यक्ष बन्न खोज्दा नै उनीहरु शालितापूर्वक कुनै वादविवाद, गुटउपगुट वा क्रियाप्रक्रिया विना नै प्रतिपर्धामा उत्रिएका भए पनि पार्टी नेतृत्वमा रहने उनको चाहना भने अधुरै रह्यो । उनका ति बौद्धिक र सादगी चरित्रलाई आफु मरेरे गएपछि पनि अनुकरणीय बनोस् र सबैले सिकुन भनेर इच्छापत्र फ्याकेर अस्ताए । पदीय जिम्मेवारीमा रहेका हुन वा कुनै दल विशेषका हुन मृत्युपछि अकेकन तामझाम का साथ होहल्ला गर्दै आर्यघाटमा पुर्याउने परम्परा तोड्दै उनले सामान्य मानिसको भन्दा फरक नपार्न दिएको सन्देशले निकै भावुक र विक्षित बनायो । उनले ‘इच्छापत्र’मा लेखेका थिए– “मलाई झन्डा नओढाउनु, मृत्युपछिको तामझामबाट टाढै राख्नु’ त्यसै पनि उनको मृत्युमा भावविव्हल हुनेहरुले यो सन्देश सुनेपछि अझ भावविव्हल बनाएको थियो । उनको स्तरका नेताहरु कमै भेटिन्छन । उनी मनमोहन अधिकारी, भरतमोहन अधिकारको स्तरका नेतामा गनिन्छन जुन कर्म, चिन्ता र विचार छोडेर भौतिक रुपमा हामीबाट बिदा भएका छन्– जसले उनलाई सदैव जीवित राख्नेछ । ७१ वर्षीया वामपन्थी नेता नेपाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित नेपाललाई सोमबार आईसीयूमा राखिएको थियो । नर्भिक अस्पताल थापाथलीमा उपचारका क्रममा उनको निधन भयो ।
उनको निधनपछि उनका परिवारका सदस्य भाई समिर नेपालले निकै सक्रियता देखाए । दाजुले मरेपछि गर्नुपर्ने कामको लिष्ट निकाल्दै दाजुको इच्छापत्र अनुसार काम हुने बताएका थिए । उनले भने– दाजुको इच्छापत्र अनुसार झण्डा ओढाउन मिल्दैन, कुनै श्रद्धाञ्जली कार्यक्रम गर्न मिल्दैन अर्थात मृत्युपछिको तामझामबाट टाढै राख्न र विद्युतीय शवदाहमा जलाउनु भन्ने आदेश बमोजिम गर्न सबैलाई सुचित गरेका थिए र सोही बमोजिम उनको कहिँ कतै केही भएन । पार्टी कार्यालयमा समेत कुनै श्रद्धाञ्जली कार्यक्रम गरिएन र सिधै पशुपति लगेर हिन्दु परम्परा अनुसार अन्तिम संस्कार भएको छ ।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा २०५१ सालमा सञ्चारमन्त्री भएका थिए । राजनीतिक विश्लेषकसमेत रहेका उनी पञ्चायतकालमा ‘सञ्जय थापा’ को नाममा लेख लेख्ने साहित्यकार पनि थिए । नेता नेपाल कोअर्डिनेसन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक एमाले स्थायी समिति सदस्य रहेका थिए । उनी पाँच दशकबढी समय कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए । उनी एमाले र मालेका संस्थापक नेता पनि थिए । स्वास्थ्य समस्याका कारण पछिल्लो एक दशक भने उनी राजनीतिबाट टाढा थिए । ८ पुस २०१० मा भोजपुरको पोखरे गाउँमा जन्मेका नेता नेपालले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको सुरुवात गरेका थिए । सानैदेखि विद्रोही स्वभावका उनी त्रिचन्द्र कलेजमा अध्ययन गर्दैगर्दा विद्यार्थी राजनीतितर्फ आकर्षित भएका थिए । २०२६ सालमा विद्यार्थी आन्दोलनमा सहभागी भएपछि उनी वामपन्थी विचारधारासँग जोडिएका थिए ।
नेकपा मालेको पनि संस्थापकमध्ये एक नेपाल पनि हुन् । ११ पुस २०३५ मा नेकपा माले गठन भएको थियो । त्यसअघि झापा विद्रोहका अन्य नेतासँगै जेल परेका बन्दीहरू २०३३ साल जेल ब्रेक गरेर निस्किएका थिए । जेल ब्रेक गर्ने १५ नेतामध्ये एक नेपाल पनि थिए ।
उनले लामो समय एमालेको प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । प्रवक्ता, साहित्यकार एवं लेखरचना लेखिराख्ने नेपालको सञ्चारकर्मीसँगको सम्बन्ध पनि राम्रो मानिन्छ । कुशल संगठक एवं प्रस्ट वक्ताका रूपमा चिनिएका नेपाल २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा (एकीकृत समाजवादी)को नेता पनि भए । तर, सो पार्टीले जनताको बहुदलीय जनवाद (जबज) छाडेको भन्दै एमालेकै सदस्यता नवीकरण गरेका थिए । उनी स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा भने रहेनन् ।
आठौं महाधिवेशनमा केपी शर्मा ओली प्यानलबाट महासचिवमा उम्मेदवारी दिएका नेपाल ईश्वर पोखरेलसँग पराजित भएका थिए । नवौं महाधिवेशनमा ओली समूहबाटै उपाध्यक्षमा उम्मेदवारी दिएर पुनः पराजित भएका थिए ।
उनी राजनीतिसँगै साहित्यमा पनि लामो समय सक्रिय रहेका थिए । नेपालको साहित्यिक नाम सञ्जय थापा हो । उनले सञ्जय थापाका नाममा प्रगतिशील साहित्य लेखेका छन् । उनका १६ वटा उपन्यास र १० वटा कथासंग्रह प्रकाशित छन् । राजनीतिकाबारेमा समसामयिक विषयमा उनले नियमित लेख लेख्ने गरेका थिए । नेपाललाई एमालेका अध्ययनशील नेताहरूमध्ये एक मानिन्छ नेता नेपाल । उनले नेताहरूमा पठन संस्कृतिको कमी भएकामा चिन्ता व्यक्त गर्दै आएका थिए । उनी नेताहरूले पढ्ने बानी छोडेकाले भाषण मात्र गर्ने गरेको बताउँथे ।
नेपाल एमालेमा सबैभन्दा पहिला मोबाइल प्रयोग गरेका नेता हुन् । उनी एमालेवृत्तमा सबैभन्दा पहिला घरमा कम्प्युटर राख्ने नेतासमेत थिए । खुला राजनीतिमा आएपछि आफूलाई केही साथीले म्याक ल्यापटप उपहार दिए पनि चलाउन अप्ठ्यारो भएपछि बेचेर डेस्कटप किनेको स्पष्टीकरणसमेत उनले दिनुपरेको थियो । उनले ल्यापटप र मोबाइल चलाएको भन्दै एमालेका कतिपय नेताले विरोधसमेत गरेका थिए । उनले चलाएको आधुनिक टेलिफोनको त तत्कालीन महासचिव माधवकुमार नेपालले नै विरोध गरेको नेताहरू बताउँछन् ।
नेपालको निधनले नेपाली वामपन्थी आन्दोलनका एक प्रखर नेता गुमाएको भन्दै नेताहरूले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायतले उनको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् ।