–ः व्यंग्यनारन पाँडे ः–
ऐंसेलु झाँगेले “अब मैले पनि ’पत्रकार गर्न’ थालें नि !“– भन्दै हिंड्ने गरेको क्रममा र पाँडेको घरमा पनि लुब्रुक–लुब्रुक आउने गरेकै बेलादेखि बोक्ने गरेको क्यानभसको खराने झोला बोकेर आज पनि आइपुग्यो । र, पाँडेको नजिक आउँदा आउँदै भन्यो –“तपइँले मलाई नपत्या’र अस्तिको खेप म सोएम् तपइँकाँ आइकिन ’पत्रकार गर्नेे’ सिदान्तको कुरो छ्यास्स निस्काउनासाथ कस्तो उजाति गरेका थेउ ? आज्ज चइँ
मैले हामेरू ’पत्रकार गर्ने’–हर्काे ब्रतमान समाजका ज्यान्जी चोलाका भाइ–बैनाले थापित गरेको सिदान्तको रिट्ठो नबिराई फ्लोअप गरेर त्याडी पारेको निउज सुनाउन आइराँछु । यो सुनाउन आउँदाखेरी इ यो एक पागिट नबाब ब्रानको फस किलास,अति टेसिलो र पिउर अर्गानिक खैनी पनि लेराइदिया छु । र, आज्ज चइँ तपइँ नरिसाइकिन सिरेसली भ–र सुनिदिन्छौ भने सुनाउँ र सुनिदिँदौन भने भने पनि कोइ बात छैन भन्–र घुर्ने इस्टम्याट गरेर आइरछु । कसो भन्छौ तपइँ ?“
पाँडे भर्खर खाना खाएर बरण्डामा सुस्ताइरहेको थियो, उसको यस्तो प्रस्तुती सुनेर एक प्याराग्राफ जति हाँस्यो र भन्यो “सुनाऊ न सुनाऊ । न्यूज किन नसुन्नु ? गज्जबले सुन्छु ।“
उसले झोला काखतिर घुमाउँदै गन्गनायो –“ होइन आच्कालका मान्छेलाई इन्टरन्याटको फेसुकसँग खेल्दै निउज जान्ने हर्रामी कुलत लागिरछ कि, अन्तखेरि बा त – ’सुन्दिन हए तेसरी लेख्या निउज, इन्टरन्याटे ताजा निउज कस्ता–कस्ता च्वाँक हुन्छन् ’ भन्लाउ भन्ने ससपेट लागेर सोदेको नि । तर तपइँ मैले कथेर त्याडी पारेको इन्टरन्यनटमा आउनेभन्दा ताजा निउज–म्याटर मुन परा’र सुन्छउ नै सुन्छउ भन्नेमा म मनपेटले चइँ सिउरली नै थेँ क्या !“
यसरी बर्बराउँदे झोलाबाट एउटा दुईपन्ने कागज निकालेर भन्यो –“ लु तो मोबिल चइँ ट्याप्प बन् गर । बी–बीचाँ रिङ बजेर डिसटप गर्छ तो पढ्केले । मोबिल भन्ने जिनिस पनि फताउरो पो हुन्छ त, कोसित के गम्बीर बात हुँदैछ भन्ने तो साँढेले नबुजेर कैलेकाइँ त डिस्टप गरेर बिरक्तै पार्छ भन्ने मेरो अन्नुभउ छ !“…
१. उसले कागजमा आँखा दौडायौ, एकछिन् मुख बजाएन र लामो सास तानेर छोडेपछि भन्यो –“लु सुन । यो निउज अस्तिका दिन पअअअअर केचनाको अलि ओर्तिर कोनि के भन्ने गाम–टोलको पराइमेरी इस्कुलमा सन्पन्न समारोको हो । एसमा लेखेको जस्ताको तेस्तै पढेर यो छापिनुभन्दा पैलीबड लिक् गर्नु ’पत्रकार गर्ने’ सिदान्तको एगेनेस हुन्छ । तेसो भा’हुनाले एसमा के लेखिया छ सोको कर्जीमर्जी ठ्याक–ठ्याक बताउँछु, तेसबड तपइँलाई ऐना जैसै छर्लङ्ग भइजान्छ ।…तो समारो एउडा सकारी सङ्सथाको बार्सिकी थ्यो । सबापति… होइन, तेस लोकलका सब्से ठूला जिदार कम्रेट काइँला माजनकी जेठी सिरमति मैनाकी ठूल्यामा भन्–र चिनिने रत्नमयाँ सबापतिनी थिन् भने पर्मुक अथिति उनै कम्रेट काइँला माजन सिरि डिघम्भर पर्सात मइदालीले पाइरथे । म ऐसेलु झ्याँगे सोयम् र थानीय गाम्पाल्काका एकजाना कर्मचारी, छेउकै उसै इस्कुलका हेट सर र अलि पर्तिरको बोडिङकी एउडी साएक टिच्चरनीले बिसिस्ट अथितिको आसन ग्रण गरेका थिम् । स्वागत भाषन हामेरका इउबा फोसका ज्यान्जी कम्रेट हर्सबादुरले गरेका थिए भने समारोहका लागि हामेरू ठूलाठालाले आसन ग्रण गर्ने र तेस समारोमा हाँकिने भासन सुन्ने आबा न चाबाका झिनाझाँकडा हाभीजाभी सप्पैहेरू बस्ने ब्रेन्ची तेइ इस्कुल बड बोक्ने–ओसार्ने काम चइँ तेसै इस्कुमा पढ्ने इस्टुड्यान–इस्टुड्यान्नी पाटीले गरेका थे । ती कुर्सी–ब्रेन्ची मजा…ले मिलाउने काम चइँ सबापतिनी भकी रत्नमयाँका माइती गाम पिर्थिबीन’रतिराड आगमन भका उसै–उसै राम्रा, गोराखिला र फुर्तीफार्ती जमान केटीहर्ले गरेका थे, हेर्ने हए । बी–बिचाँ पानी माङ्नेलाई पानीको सेबा पुगाउन उछिन्–पाछिन् गर्नेहरू थुप्रै थे । माएक अप्रेटरिङमा दोडा डढेका ठुटा जैसा काला–स्वाँठ झ्याप्ले इण्डेन केटा थे । सब्से इन्पोरट्यानमा थ्यो समारो फिनिसिन लाग्दा भ’को च्या–नस्ता आइटीमको पोरगाम । चाना–मट्टर र नयाँ–नुतन आलुको लदबदे झोलाइलो सभ्जी, गोल्भेँडा र प्याज मिस्कट पि…रो अचार, काँक्रा र मूलाका चाना एक भाँडो राखिएको दिस्र्से झन लोभाइलो थ्यो । पुरी खानेलाई पापान्टा पुरी र च्यूरा खानेलाई भुज्या सरोबरी मिस्कट च्यूरा अनि तेसपछि बाक्लो दूदसरिको च्या टन्न थ्यो ।“….
उसले उसको हातको कागज हेर्दै भन्दै गयो –“सो–उक्त समारोमा भासन भन्नेहर्काे नामेरोल लिस्टी मैले अथ्बा ऐंसेलु झाँगेले नै ख्यार–ख्यार लेखेर दिया हूँ केरे । र, तेस अन्सार भासन भन्नेहेरूबड आउँदो–अगामी एलेक्सिनका र भोटका कुरा टन्नै उठ्नु साभाभिकै थ्यो । काङरेस, राप्पपा, रासोपा र माउबादीलाई जिताउने कुरा मात्तै पनि जम्मा भासनमा कतिपएले भनेका थे रभापनि टोट्टलिङमा धेरैपएले चाइँने हामेरकै केप्पी बाको कडिएल कन्टोलको पाटी एम्मालेलाई जिता’र फेरि–पुनहँ गन्तन्त्र बल्यो बनाउने कुरा नै भनेका थे भन्ने सुत्रको दाबी छ । किनभनेरभन्देखुन्, भासनको पालो आकै ट्याममा मलाई दुईखेप लगालग थामिनसक्नु लेटिन लागो र खोला किनारमा जान बाद्दे भकाले म आफैले सुन्न पिटिस्सै नै पाइन ।“….
यति भनेपछि उसले कागज पट्याएर झोलामा कोच्यो अनि झोलाको खकन भिर्दै भन्यो–“लु अब मैले एस निउजको गुदी–गुदीबड एउडा रिो नछाडी होल डिट्टेल इन्फोरमिसन हुने गरी भनिहालें । म समारोको रिपोटिन गरेर निउज उठाउने ’पत्रकार गर्न’ कति एसपोट भएछु भन्ने, तो मेरो कोसेलीको नबाब छाप खैनी ओठाँ चेपेर, तपइँ आफ्फै मुल्लेन्किन गर्नु । पछि–पछि आउँदाखेरी सो–उक्त पर्तिकिर्या सुनम्ला ! मलाई चइँ आर्काे ठामको निउज रिपोटिनमा जान ढिला भइगो र म तपइँबड फुटें पनि ।“–भन्दै र खुशी हुँदै ऊ त हिंडी पो गो गाँठे ! पाँडे दाँत किच्च पारेर छक्क छटामा ऊ गएतिर हेरिरह्यो !…. ++++++++++