मुख्य

मेचीनगरको संग्रहालय अलपत्र

काँकडभिट्टा, १ फागुन। आदिवासी जनजाति सहितको लोपोन्मुख कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगर वडा नम्बर ११ मा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक संग्रहालय’ अलपत्र अवस्थामा रहेको छ ।

आदिवासी जनजातिले दुई दशकदेखि संग्रहालयको माग गरेका थिए । उनीहरुको परम्परागत कला, मौलिक संस्कृति, वेषभूषा र वाद्यवादनको जगेर्ना गर्न मेचीनगर नगरपालिकाले २०७५ सालमा आदिवासी जनजातिहरुको संग्रहालय बनाउने योजना अघि सार्यो । विस्तृत परियोजना प्रस्ताव (डीपीआर)मा बहुजातीय सांस्कृतिक संग्रहालय बनाउने गरी विभिन्न भौतिक संरचनाको लागत अनुमान समेत नगरपालिकाले गर्यो । स्थानीय बलभद्र माध्यमिक विद्यालयको तीन बिगाहा जग्गा भाडामा लिएर २०७८ सालमा ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’को विभिन्न संरचना निर्माण गरिएको थियो । तर सञ्चालनमा चासो नदेखाउँदा नगरको करोडौं लगानीमा बनेका संरचनाहरु अहिले प्रयोगविहीन बनेका छन् । मेचीनगरको आदिवासी जनजातिका अगुवाहरु संग्रहालय निर्माणमा लक्षित समुदायसँग नगरपालिकाले कुनै परामर्श नगर्दा यसखाले समस्या आएको आदिवासी जनजाति महासंघ मेचीनगरका पूर्व अध्यक्ष ओमप्रकाश खापुङले आरोप लगाए । ‘कुनकुन जातिका लागि बनाएको हो हामीलाई थाहा भएन । नगरपालिकाले आफूखुसी नाम फेरेर बहुआयामिक बनाएछ ।’ नगरवासीको करबाट भएको करोडौँ लगानी खेर जान नदिन नगरपालिकाले नगरभित्रका सबै जातीय समुदायसँग सल्लाह गर्नुपर्ने उनको सुझाव छ ।

मेचीनगर नगरपालिकाको योजना शाखाका अनुसार खनाल निर्माण सेवा मेचीनगर र ब्लूस्टार कन्स्ट्रक्सन प्रालि काठमाडौंमार्फत संग्रहालयको निर्माण कार्य तीन चरणमा सम्पन्न भइसकेको छ । पहिलो चरणमा संग्रहालय परिसरको पक्की घेराबेरा भएको थियो । दोस्रो चरणमा स्वागतद्वार, सार्वजनिक शौचालय, टिकट घर र पहुँच मार्गको निर्माण भयो । तेस्रो चरणमा पाँच वटा ठूलो हलसहितको भवन निर्माण भएका थिए । लागत अनुमानभन्दा निकै कम रकममा ठेक्का लगाइएका ती भौतिक संरचनाको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको छ। स्रोतका अनुसार पाँच वटा भवन निर्माणका लागि ६८ लाख ५० हजार ९१८ को लागत तयार पारिएकामा खनाल निर्माण सेवाले ४४ लाख ७६ हजार ७३ मा उक्त ठेक्का लिएको थियो । संग्रहालयको पहुँच मार्ग, स्वागतद्वार, शौचालय र टिकट काउन्टर निर्माणको ९१ लाख ८१ हजार १३५ लागत अनुमान गरिएकामा ब्लूस्टार कन्स्ट्रक्सन प्रालिले ७८ लाख ८४ हजार ६३९ मा उक्त ठेक्का लिएको थियो । मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजबंशीले वार्षिक एक लाख विद्यालयलाई दिने शर्तमा नगरपालिकाले संग्रहालयका लागि जग्गा भाडामा लिने सम्झौता गरेको बताए । हालसम्म नगरपालिकाले विद्यालयलाई भाडाको रकम उपलब्ध गराएको छैन ।

संग्रहालयको थप निर्माण कार्य अघि बढाउन र छिटो सञ्चालनमा ल्याउन नगरपालिकाले आवश्यक पहल गरिरहेको अवस्थामा अख्तियारमा संग्रहालय निर्माणका विषयमा मुद्धा परेको कारण समस्या थपिएको उनको भनाइ छ । नेपालमै मेचीनगरमा मात्र पाइने ‘किसान’ जातिको बसोबास छ । यसबाहेक धिमाल, दनुवार, मेचे, थारू, मुण्डा, सुनुवार, राई, लिम्बु, भोटे, तामाङ, शेर्पा, नेवार, मगर, गुरुङ, भुजेल, राजवंशी, जोगी, ब्राह्मण, क्षेत्री, माझी र कुमाल गरी २२ जातिको बसोबास भएका कारण संग्रहालय २२ वटा भवन बनाएर सबै जातिलाई अलगअलग पहिचान दिलाउने सङ्ग्रहालयको विस्तृत परियोजना प्रस्तावमा उल्लेख छ । उनले लक्षित समुदायको अपनत्व हुने गरी परियोजना सञ्चालनका विषयमा छलफल गर्न नगरपालिकालाई आग्रह गरेका छन् ।

Author

You may also like