कला/साहित्य/संस्कृति

‘डाँडावारि डाँडापारि’माथि विमर्श

दमक। प्रतिभा निकेतनको आयोजनामा पुराना सर्जक प्राध्यापक विष्णु एस राईको नियात्रा कृति ‘डाँडावारि डाँडापारि’माथि शनिबार दमकमा विमर्श गरिएको छ ।

नेपालीका साथै अंग्रेजी, हिन्दी, मैथिली, बंगला, उर्दू भाषामा समेत दख्खल राख्ने राईको कृतिमाथि बोल्दै प्रा.डा. गोविन्दराज भट्टराईले उनको लेखनमा जादु भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भट्टराईले आफुले लामो समयदेखि लेखन तथा प्राध्यापनमा सहकार्य गरेका राईको सालिनता जस्तै लेखनमा पनि सरसता र मिहिनता रहेको विश्लेषण गरे ।

कार्यक्रममा उनको कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै लेखक व्यन्जना शर्माले सरस कविता लेख्ने राईको नियात्रा कथा भनेजस्तो ‘कथात्मक हाइबुन शैली’को रहेको उल्लेख गरिन् । हरेक नियात्राको भावलाई कवितांशमा समेत वर्णन गरिँदा नियात्रा सजीव चित्र बनेको उनको बुझाई छ । नियात्रामा आफ्नी छोरीलाई लेखिएको चिठ्ठीमार्फत प्रत्येक छोरीहरुलाई असल मान्छे बन्ने उत्प्रेरणा भरेको पाइएको उनले विश्लेषण गरिन् । लेखनमा ३ वटा प्रबृत्ति भेटिने उल्लेख गरिन् ।

सर्जक दीपक संचुले पनि कृतिमाथि टिप्पणी गर्दै काल्पनिकताको उच्चता र रोमाञ्चकताको पुञ्ज भएको सुनाए । मानतावादी स्वरलाई उतार्दै हरेक यात्रामा जहाँको वर्णन छ, त्यहीँको आञ्चलिकता प्रस्तुत गरिँदा प्रत्येक पाठकलाई आफ्नै यात्रा भएको जस्तो अनुभूति गराउने बताए । उनले नियात्रा छुट्टै विधा समेत भएको भन्ने तर्क अघि बढिरहेको अवस्थामा उनको लेखनले पनि त्यसखाले प्रभाव पारेको बुझाई राखे ।

कृतिमा डाडाँवारि अन्तर्गत नेपालका विषयवस्तुका ११ र डाँडापारि अन्तर्गत विदेश यात्राका ६ गरी १७ नियात्रा समेटिएका छन् । जसमा सन् १९९९ देखि २०२० सम्मका यात्राका वर्णन छन् । निकेतनका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षताको कार्यक्रममा, साहित्यकारहरु विष्णु न्यौपाने, अभागी थेगुवा, मेघराज बन्धु, पृथक प्रकृति लगायतले रचना वाचन गरेका छन् । कार्यक्रममा, निकेतनका संस्थापक अध्यक्ष खेमलाल पोखरेल, पूर्व अध्यक्ष मेघराज तिम्सिना, प्रा.डा. अञ्जना वस्ती, यादव अधिकारी, विवश बलिभद्र कोइराला, प्रकाश भण्डारी सहित झापा, मोरङ र इलामका साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

यसैबीच, नेपाली साहित्यमा सर्वाधिक लेखिने विधाका रुपमा रहेको ‘गजल’ सम्बन्धी कार्यशाला र मुशायरा शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । वीरता रिडर्स, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोपीकृष्ण स्मृति प्रतिष्ठानको आयोजना तथा प्राञ्जल साधना केन्द्र, नेपाल गजल प्रतिष्ठान, साहित्य पत्रकार मञ्च, बिर्तामोड पुस्तकालयको सहकार्यमा गजल कार्यशाला सहित गजल मुशायरा सम्पन्न भएको हो । कार्यशालामा गजल अनुसन्धानमा सक्रिय अभियन्ता घनेन्द्र ओझाले सहजीकरण गरेका छन् । मुशायरामा सुरेश सुवेदी, जीवन काश्यप, राधा कँणेल, खगिन्द्रा खुसी, दुष्यन्त भट्टराई, रश्मि असफल, घनश्याम पथिक, प्रदीप कुमार गणेश (दीप प्रदीप), गीता सुवेदी नेपाल, जानुका गुरागाईं, मिलनकुमार ढुंगाना, टीका खड्का राष्ट्रप्रेमी, आँचलकुमार शर्मा, अञ्जान यात्री, डा. प्रदीपकुमार मैनाली र लालकाजी श्रेष्ठले गजल प्रस्तुत गरेका छन् ।

Author

You may also like