नेपाली राजनीतिका तेत्तिसकोटी कांग्रेस, एमाले र एमाओवादीले सहमति गरेर सिर्जना गरेको संविधान संविधानसभाबाट जारी भइरहंदा मान्छेले त्यो संविधानलाई अनेक बिम्बमा देखे । अनेक रंगमा देखे । अनेक आयाममा देखे । अनेक उचाइमा देखे । ताली लगाए । सुभकामना पठाए । बधाइ पनि दिए एक अर्कालाई । तिनको खुशीको कुनै सीमा थिएन । ती हर्षले उन्मादित भए । उत्तेजित भए । दीपावली गरे । सुभकामना बाँडे । आतिसबाजी गरे । सरकारले दुइदिनको छुट्टी समेत दिएर संबिधानमाथिको उत्सव सर्वब्यापी बनायो । मान्छेहरु यसैमा आंँफूलाई समाहति गरेकोमा गोरवले भरिए । तिनले ठान,े यो संविधान आएपछि यो मुलुकका तमाम समस्याहरुको हल हुन्छ । संविधान आएपछि नेपाली जनताका मुहारमा हाँसो आउँछ । यी बीस बर्ष देखि देखाइएका सपना पुरा हुनेछन् । शान्ति, सम्बृधी, विकास, समाजिक सदभाव सबै पुरा हुनेछन् । नयाँ नेपाल निर्माण हुनेछ । खेतमा कुलो आँउँनेछ । भ्रष्टाचार रोकिनेछ । छुवाछुतको अन्त्य हुनेछ । महिला हिंसा रोकिनेछ । महंगी हटनेछ । सुरक्षा स्थापित हुनेछ । स्वास्थ्य र शिक्षा सर्वसुलभ हुनेछ । उद्योगधन्दाको सुरक्षा र उन्नती हुनेछ । कालोबजारी रोकिनेछ । हत्या र हिंसा रोकिनेछ । अपहरण रोकिनेछ । किसानले मल र वीउ सित्तैमा पाउँनेछन् । मुस्ताङ्गको स्याउले बजार पाउनेछ । भारतीय चामलले नेपाली चामलको बजारलाई ध्वस्त पार्ने काम रोकिनेछ । खानेपानी, विजुली, फोन र इन्टरनेट सित्तैमा वा सर्बसुलभ हुनेछ । सडकमा गाडी पल्टिएर मान्छे मार्ने क्रममा कमी आउनेछ । पेट्रोलियम पदार्थ नेपाल आँफैले उत्पादन गरेर जनतालाई सर्वसुलभ रुपमा वितरण गर्नेछ । तेल र ग्याँसको हाहाकार रोकिनेछ । सडक बन्द, हडताल र चक्काजाम रोकिनेछ । साइवर अपराध रोकिनेछ । घर अगाडीका बाटा र नाली सरकार आफैंले बनाइदिनेछ । मजदुरले रोजगारी नपाएको दिनको गाँसको ब्यावस्था सरकारले गरिदिनेछ । पकेटमारहरुको नियन्त्रण हुनेछ । लुटराहरु, तस्करहरु, डाकाहरु, चोरहरु निरुत्साहित हुनेछन् । खातावालका पैसा भ्mवाम पार्ने वित्तिय संस्थाका मान्छेहरुलाई कार्वाही हुनेछ । गुण्डाको संरक्षण गर्न दलहरुले बन्द गर्नेछन् । यस्तै यस्तै बिम्बमा धेरै मान्छेले यो संबिधानलाई देखे । अनि उत्तेजित र भावुक भए । यस अर्थमा पनि कि ६७ बर्षको पर्खाइपछि नेपाली जनताले आप्mनै प्रतिनिधीहरुले बनाएको संविधान पाए । यो नेपालको इतिहासको अनुपम दिन भएको छ ।
तर मैले संविधानसभामा देखिरहेको त्यो संबिधानलाई ग्रीक पुराणमा उल्लेखित ‘पाण्डोराको बाकस’ देखें । मैले अरुले देखेजस्तै नदेखेर यसलाई अर्कै आयाममा देखें । आज जीवनका हरेक पाटाहरुको र खासगरी राजनीतिको बिम्बलाई उजार गर्ने उत्तम बिम्ब बनेको छ पाण्डोराको बाकस । त्यो बाकसको उचाइमा मैले मेरै देशको उचाइ देखें ।
यो संसारको सुरुमा शान्ति, संबृधि, अमन चैन थियो । कोही पनि मान्छे दुखी र गरिव थिएनन् । सबैका मुहारमा हाँसो मात्रै थियो । कसैले पनि रुनु पर्दैनथ्यो । त्यो राम राज्य थियो । मान्छेले दुख र पीडाको अनुभूति संम पनि गर्न पाएका थिएनन् । ती भगवान सरह शुखी थिए । आनन्दीत थिए । सुन्दर थिए । संबृद्ध थिए । मान्छेको त्यो भगवानसरहको सुख, शान्ति र संबृधि भगवानहरुलाई मन परेको थिएन । मान्छेको त्यो सुखलाई जसरी भए पनि हरण गर्न चाहन्थे । उनीहरु मान्छेका मुहारमा पीडा, आँश र छटपटी देख्न चाहन्थे । त्यसैले भगवान जिअसले (क्रिश्चियन धर्ममा एउटै मात्र ईश्वर हुने हुनाले यो काम पनि एउटैले गरेको हो) मान्छेलाई आँशु र पीडा दिने योजना अनुसार आप्mनो दूत ‘हर्मेस’ लाई एउटा अतिनै सुन्दर, जादुमय र रहस्यमय एउटा बाकस लिएर पृथ्वीमा पठाउने निधो गरे । सोही योजनाअनुसार हर्मेस पृथ्वीमा आयो । एउटी चञ्चले र उत्सुक केटी पाण्डोरा र उसको साथी इपिमेथस बल खेलिरहेको ठाउँमा ल्याएर हर्मेसले त्यो बाकस अगाडि राख्यो, अनि भन्यो, ‘यो बाकस कहिल्यै पनि नखोल्नु’ । तर उसको आसय चाहिं यिनले बाकस खोलून भन्ने नै थियो । त्यस पछि ऊ गयो ।
साथीसंग राम्ररी बल खेलिरहेकी पाण्डोरा बाकस अगाडी खेखेपछि उसको त्यो सुन्दर रंगीचंगी बाकसमा सारा तन र मन गयो । बाकसले ल्याएको परिवर्तन अजिव थियो । पाण्डोराको समग्र ध्यान त्यही बाकसमा गयो । सारा इन्द्रिय त्यही बाकसमा गयो । स्वास त्यही बाकसमा गयो । सारा दिमाग त्यसैमा जकडियो । उसलाई खरो भयो, भाउन्न भयो । आखिरी त्यो सुन्दर बाकसभित्र के छ ? उसको मन थामिएन । उसलाई त्यो बाकसले यति धेरै तान्यो कि जीवनमा कुनै पनि चिजले यसरी तानेको थिएन । ऊ पटक पटक बाकसको छेउमा जान्थी, इपिमेथसले उसलाई बाकस नखोल्न, त्यता नहेर्न र त्यसलाई रोमाञ्चक नठान्न भनिरहेको थियो, तर पाण्डोरा बत्तीका वरिपरिका पुतली भइ, किन छाडथी, बाकस खोलेरै छाडी । बिर्को उघारेकि मात्र के थिइ, भित्रबाट बिषालु सर्प, बिच्छी, अरिङ्गल, बारुला आदि बाहिर निस्केर ति‘’नैले पाण्डोरालाई आक्रमण गर्न थाले । ऊ रुन र कराउन थाली, आइया र आत्था गर्न थाली । इपिमेथसले आएर उसलाई उद्धार ग¥यो । तर ती बिषलु जीवहरु भगेर पृथ्वीलोकमा फैलिइसकेका थिए । तिनलाई पुःन बाकसमा थुन्न संभव भएन । बाकस बंद गरे तिनले । केही समयपछि पाण्डोरालाई लाग्यो, यतिराम्रो बाकसमा कति खराव चिज हाल्यारहेछ । उसलाई फेरी त्यो खोल्न मन लाग्यो, खोली । यसपटक भित्रबाट दुष्ट चिजहरु नभएर ‘आशा’ बाहिर आयो र तिनलाई दुःखको सामना गर्न हौसला मिल्यो । खुःमा पनि खुशीका किरणहरु पाउन सकिने ठाउँ मिल्यो । दुख मात्र छ, तर सुख भोगको आशा छैन भने मान्छे एक पल पनि बाँच्न सक्दैन ।
आज म यो हाम्रो गौरवका गाथा भरिएको भनिएको संविधानलाई बाहिरबाट हेर्दा त्यही रंगीन, संगीन, सुन्दर, र रहस्यमय देखिएको तर भित्र बिषालु प्राणी हालेको पाण्डोराको बाकसमा देखिरहेको छु । हामी पाण्डोरा भएका छौं, त्यो बाहिर हेर्दाको जादुमय सुन्दर तर भित्र घातक कुराहरु राखेको बाकसलाई जीवनको सबैभन्दा उत्तम र महान उपलब्धी भनिरहेका छौं ।
अहिले मधेसमा मधेसबादी दलहरुले उठाएको आन्दोलनलाई मात्र हेरेर तिनको अभिब्यक्ति हेरेमा यो देशको अस्थित्व धरापमा परेको देखिन्छ । उनीहरु नेपाल खोज्देछन् कि मधेस, पत्तै लाग्दैन । अहिले मधेसी र आदिबासहिरुलाई अधिकार चाहिएको हो कि किपट, पत्तै लागेको छैन । संघीयता भनेको बाबुको जग्गा छोराले डोरी टाँगेर बाँडेर मालपोतमा पास गरेर लिएको अंश बुझेका छन् संघीयताको माग गर्नेहरुले । तिनलाई बुझाउनेले पनि त्यही बुझाए, बुभ्mनेले पनि त्यही बुझे । संघीयतालाई राणा र त्यस पुर्वका शाह राजाहरुले बाँडेको ‘किपट’ प्रथा बुभ्mने र बुझाउने काम भयो । कहिले चौध, कहिले एघार, कहिले दश, कहिले आठ, कहिले छ त कहिले सात प्रदेशको खाका ल्याएर ठूला दलहरुले के संदेश प्रवाह गरे कि ‘संघीयता भनेको भूगोलको बिभाजन हो र यो जतिवटा पनि पार्न सकिन्छ’ । यसले भोली संविधान आएपछि पनि आगो लगाइरहने भयो संघको माग भइरहने भयो । जुनसुकै समुदायले पनि संघीयता माग्न सक्ने भयो । भारत सरकार जस्तो राष्ट्रवादी सरकार नेपालमा हुन पनि गाहे छ जसले गोरखाल्याण्डको आन्दोलनलाई दबाउन सक्यो । नेपाल सरकारले त्यो गर्न सक्ने हैसियत राख्ने छैन । संविधान जारी भएपछि पनि यही मुद्धाले देश बाँचुञ्जेल जनतालाई रुवाइरहनेछ । नाइजेरियामा संविधानसभाले संविधान बनाउँदा ३ प्रदेश थिए, आज ३६ प्रदेश भइसक्दा पनि मार्ने र मर्ने काम त्यहाँ रोकिएको छैन । नेपालमा दशबर्ष भित्रमा कम्तिमा पन्ध्रवटा प्रदेश बनिसक्नेछन् र गरिवी, बेरोजगारी, बिक्रिति– बिसंगति र भ्रष्टाचार झनै बढने छ । प्रदेशको श्रोतले प्रदेशको खर्च धान्न सक्ने छैन ।
अर्को जातीय सदभाव यो संबिधान निर्माणको क्रममा सबै खलबलिएको छ । अहिले पनि मधेसी आदिवासीहरु जातीय आधारमा राज्यको चरित्र छ भनेर खुलेआम भनिरहेकाछन् । उनीहरुको निसानामा खस समुदाय परेको छ र यति धेरै समावेशी भएको संविधनसभा, राज्यका सबै अंगहरु हुँदाहँदै पनि यो गैह् जिम्मेवारीपूर्ण अभिब्यक्ति दिनुले भोलि यो संविधानबाट सर्प, बिच्छी र अरिंगल ननिस्किएर अमृत निस्केला त ? भोलि यो संविधानको अपनत्व तिनले लिएनन भने त्यसलाई यो बाकसबाट भोलेनाथ प्रकट भए भन्ने ? नेपालको इतिहासमा कहिल्यै पनि धर्मको नाममा द्धन्द्ध भएको थिएन । सबै धर्मावलम्भीहरु मिलेरै बसेका थिए । आज धर्मको नाममा झगडाको बीउ रोपिदिए । यी नेताको मन्द बुद्धिलाई के भनौं, धर्मको लडाई सबैभन्दा खतरनाक हुन्छ । आज तालिवानले के गरिरहेकाछन्, आइएसआइले के गरिरहेकाछन्, भारतको राम जन्मभूमिमा के भयो, रौतहटको गौरमा के भयो । यी सबे जग जाहेर छन्, कि धर्मलाई राजनीतिले कहिले पनि बिबादमा ल्याउनु हुदैनथ्यो, ल्याए ।
यसर्थ, सय संविधानले मुलुकलाई संघीयताको नाममा, धर्मको नाममा, जातीयताको नाममा कहिल्यै नअस्ताउने झगडाको बीउ रोपेर गएको छ । ठूला दलका नेता भन्न थालेका छन्, ‘संविधान जारी भएपछि आन्दोलनमा जान्छौं ।’ अनि बाबुराम भट्टराइले त यसलाई ‘आधा भरिएको गिलास’ भने । आधा गिलास भर्न ६७ बर्ष लाग्यो लाखौं मान्छेको ज्यान गएर । अव आधा गिलासलाई भरी पार्न यो मुलुकलाई आगामी ६७ बर्ष आतंक, हत्या, आन्दोलन, हडताल, तालाबन्दी, राँका र लाठीको प्रदर्शनमा बिताउने लाइसेन्स यही संविधानले दिंदै छ । आफैं संविधान बनाउने अनि आँफैं ‘पूंँजिबादी क्रान्ति सकियो, बअ यो संविधानसंगै समाजवादी क्रन्ति सुरु भयो’ भन्नुले यो देश भोलिका दिनमा शान्ति र अमन चैनमा गुज्रिन सक्ने कुनै पनि आधारहरु बनेनन् । अस्थिरता कायमै रहने भयो । यो संविधान आन्दोलन मात्र गरेर जिवीका चलाउने नेपालका दलहरुलाई राम्ररी गरिखाने भाँडो बनिसकेछ । धन्य छ । अर्थात यो संविधान पाण्डोरको बाकस भएको छ आज । सग्लो, शान्त, विकासको बाटोमा भर्खरै लम्कदै गरेको र अक्षुण मुलुकलाई बिदेशीको नजर लाग्यो, जसरी भगवानहरुको मानवको संबृधिमा नजर लागेको थियो । ‘परिवर्तन ÷ गणतन्त्र ÷ धर्म निरपेक्षता ÷ संघीयता ÷’ को रंगीचंगी बाकस बिदेशीहरुले ल्याएर काठमाण्डूमा राखिदिए अनि हामी त्यसैमा सती गयौं, अनि यो संविधान बाकस भयो । यसले जातीय आरक्षणलाई बैज्ञानिक भनेर गएको छ । यो संविधानले ‘साजबादमा जाने’ भनेर प्रस्तावनामै उल्लेख गरेर मुलुकमा अरु ‘अक्टोवर क्रान्ति’ गर्ने ढोका मात्रै खोलेन, लाइसेन्स पनि दिएर गएको छ । लोकतन्त्रलाई सामाजवादमा जाने बाटो भनेर संविधानमा किटान गरिएकोलाई कुन दुनियाँको राजनीतिशास्त्रले यो संविधानले लोकतन्त्रलाई साध्य बनाएको छ भनेर ब्याख्या गर्न सक्छ ? यहाँ त लोकतन्त्र साधन बनेको छ, अनि कथित लोकतन्त्रवादी हुँ भन्नेहरु लोकतन्त्रलाई साधन बनाईंदा पनि उत्तेजनामा आएर चोक चोकमा द्धीप प्रज्वलन गरिरहेकाछन। यो भन्दा ठूलो बौद्धिक दिवालिया दुनियाँमा कुनै हुँदैन ।
हामी पाण्डोरा भयौं आज । दुबै अज्ञानी । दुबै नालायक । किनभने उनले त्यो बाकस नखोलेको भए आजसम्म पनि यो धरतीमा कुनै अभाव र दुःख हुने थिएन । उनकै नालायकीले यो सब भित्रियो । हाम्रो नालायकीले गर्दा यस्तै यस्तै भित्र्यायौं । कुरा यत्ति हो । तै पनि बाकसबाट निस्किएको दोश्रो बस्तु आशा लिएर बाँचौं । यो संविधान पाण्डोराको बाकस नबनोस । हाम्रो आत्मा बनोस । यही कमना गरौं ।