देश–समाज सम्पादकीय

‘क्षयरोग’ निर्मूलप्रतिको संवेदनशिलता

नेपाली संक्रमित बन्दै र निर्मुलीकरणका उपाय अपनाउँदै आएको रोगमध्येको एउटा हो ‘क्षयरोग’ । यहि क्षयरोग निवारण तथा सचेतनाका लागि हरेक वर्षको २४ मार्चमा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । यो वर्ष ‘लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदै छ । प्रचिनकालदेखि नै नेपालमा क्षयरोगीहरु देखिँदै आएका छन् । आजभन्दा ५० वर्षपहिले यो रोग लाग्ने बिरामीलाई धेरै नकारात्मक तरिकाबाट हेरिने भएकाले समाजमा तिरस्कार हुने भयले गोप्य तरिकाबाट उपचार गरिन्थ्यो । आज भने मेडिकल विज्ञानले गर्दा यो रोगलाई सामान्य रूपमा लिइन्छ । राष्ट्रिय क्षयरोग केन्द्रको आँकडाअनुसार लगभग ४० प्रतिशत नेपाली यो रोगबाट प्रभावित हुने गरेको पाइन्छ । झापामा मात्रै नयाँ क्षयरोगीहरु ७ सय रहेका छन् । उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष छन् । विश्व जनसंख्याको एकतिहाइ क्षयरोगको कीटाणुले संक्रमणको जोखिममा रहेको पाइन्छ । विकासोन्मुख देशमा भने यसको दर अझ धेरै छ । प्रत्येक वर्ष विश्वमा झन्डै ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने सो रोगको कारण २० लाखको मृत्युसमेत हुने गर्छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको छ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीय स्वरूप, भौगोलिक एवं जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाको न्यायोचित वितरण गर्नु, आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु, गुणस्तर स्वास्थ्य सेवाप्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैका लागि स्वास्थ्य बिमा लागू गर्नु, वैदेशिक सहयोग परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु, भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचना पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो ।
यो रोगको लक्षणमा तीन हप्ता वा बढी खोकी लागेमा, खकारमा रगत देखिएमा, सास फेर्न गाह्रो भएमा वा छाती भारी भएमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने घेरै भएमा, थकाइ बढी महसुस भएमा, नजिकको स्वास्थ्यकर्मीलाई जँचाउनुपर्छ । यो रोग सर्न पनि सक्छ भने शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कमी भएमा संक्रमण भई रोगीको अवस्था नाजुक हुन सक्छ । अतः बेलैमा नजिकको स्वास्थ्य संस्थामा जँचाउनुपर्छ । यो रोग चुरोट, रक्सी वा लागूऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको मात्रा पूर्ण सेवन नगरेमा संक्रमण फेरि देखिन सक्छ । विश्वव्यापी रूपमा यो रोग प्रमुख समस्याको रूपमा रहेको छ । नेपालमा प्रयास गर्दागर्दै पनि प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ । हाम्रो स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाई गुणस्तरीय सेवामा समतामूलक पहुँचको विस्तार गर्न आवश्यक छ । यसका लागि क्षयरोग रोकथाम निदान र गुणस्तरीय उपचार सेवा वृद्धि गर्न स्थानीय समुदायको सहभागितामा नवीनतम प्रविधि र रणनीतिक साझेदारी आवश्यक पर्छ । विशेषगरी गरिबी, कुपोषण, मधुमेह, धूमपान, मद्यपान, एचआईभी संक्रमित आदिमा यो रोग उच्च रहेकाले सोको प्रभावकारी व्यवस्था बेलैमा मिलाउन आवश्यक छ । अतः क्षयरोगको न्यूनीकरणमा तीनै तह सरकार, गैरसरकारी संस्था, लक्षित समूहको भूमिका महत्वपूर्ण हुन्छ । क्षयरोग रोकथामका लागि स्वास्थ्य संस्थामा आवश्यक दक्ष स्वास्थ्य जनशक्तिसहित आवश्यक साधनस्रोत हुनुपर्छ । आम नागरिकलाई प्रवर्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रम सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । स्वास्थ्य संस्थामा आधुनिक सूचना प्रविधिको विकास गरी सेवाप्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीलाई आफ्नो कार्यक्षेत्रमा उत्साहसाथ कार्य गर्ने वातावरण मिलाउन आवश्यक छ । यसो भएमा मात्र क्षय रोगको न्यूनीकरण गरी लक्षित समूहको स्वास्थ्य सुरक्षा गर्न सकिने छ । तब मात्र हरेक वर्ष २४ मार्चमा मनाइने विश्व क्षयरोग दिवसले सार्थकता पाउनेछ ।

Author

You may also like