दमक/ निर्वाचनको मिति तोकिएसँगै मुलुक औपचारिक रूपमा चुनावी प्रक्रियामा प्रवेश गरेको देखिए पनि समग्र राजनीतिक वातावरणले भने निर्वाचन सहज र सुनिश्चित रूपमा सम्पन्न हुने संकेत दिएको छैन ।
राजनीतिक दलहरूको अस्पष्ट भूमिका, आपसी अविश्वास र पछिल्लो समय उदाएको जेन जी समूहभित्र देखिएको विभाजनका कारण निर्वाचन थप अनिश्चिततामा फस्दै गएको छ ।
निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो । मिति घोषणा हुनु भनेको राजनीतिक स्थिरताका लागि एउटा स्पष्ट मार्गचित्र तय हुनु हो । तर मिति तोकिनु मात्र पर्याप्त देखिएको छैन । प्रमुख राजनीतिक दलहरू चुनावप्रति प्रतिबद्ध देखिए पनि व्यवहारमा उनीहरूबीच न्यूनतम सहमति र विश्वासको अभाव प्रस्ट देखिन्छ । सत्ता–विपक्षको द्वन्द्व, सरकार गठन र विघटनको आशंका तथा निर्वाचन प्रणाली र व्यवस्थापनसम्बन्धी विवादले चुनावी वातावरणलाई थप जटिल बनाइरहेको छ । एकातिर निर्वाचनको मिति नजिकिरहेको छ, अर्कोतिर सरकारमा मन्त्री थपिइरहेका छन् । भर्खरैमात्रपनि ३ मन्त्री थपिएका छन् । सरकारको यो प्रक्रिया र भूमिकाप्रति जेन जी समुहहरु नै असन्तुष्ट देखिन्छन् । चुनावकालागि चुनाव गराउनमात्र सरकार नबनेको प्रतिक्रिया उनीहरुले सामाजिक सञ्जालमार्फत पनि दिइरहेका छन् । दलहरू आफ्ना रणनीतिक स्वार्थमा अल्झिँदा निर्वाचनको मूल उद्देश्य जनताको मतमार्फत वैध नेतृत्व चयन हुन नसक्ने र जेन जी विद्रोह नै ओझेलमा पर्ने खतरा बढेको छ । कतिपय दल निर्वाचनलाई सत्ता सौदाबाजीको माध्यमका रूपमा प्रयोग गर्न खोजिरहेका छन् भने कतिपय चुनावी परिणाम आफूअनुकूल नआए पुनः आन्दोलन वा असहयोगको बाटो रोज्ने संकेत दिइरहेका छन् । यस्तो मनोवृत्तिले निर्वाचनप्रति जनविश्वास कमजोर बनाउँदै लगेको छ ।
यसैबीच, राजनीतिक परिवर्तनको मुख्य वाहकका रूपमा देखिएको जेन जी समूहभित्रको विभाजनले पनि निर्वाचनको अनिश्चितता बढाएको छ । सुरुवाती चरणमा जेन जी आन्दोलनले स्थापित दलहरूप्रति गहिरो असन्तोष व्यक्त गर्दै वैकल्पिक राजनीतिको आशा जगाएको थियो । तर समयसँगै नेतृत्व, कार्यदिशा र राजनीतिक उद्देश्यलाई लिएर समूहभित्रै मतभेद देखिन थालेका छन् । एउटै आवाजमा प्रस्तुत हुन नसक्दा जेन जी समूहको राजनीतिक प्रभाव खण्डित हुँदै गएको छ ।
जेन जी समूहको विभाजनले दुईवटा असर देखाएको छ । पहिलो, परिवर्तन चाहने युवा र असन्तुष्ट मतदातामा अन्योल बढेको छ । दोस्रो, परम्परागत दलहरूलाई पुनः सास फेर्ने मौका मिलेको छ । तर यो अवस्थाले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउनुको साटो झनै अस्थिर बनाउने जोखिम बोकेको छ, किनकि वैकल्पिक शक्तिको स्पष्ट उपस्थिति बिना चुनाव पुरानै शक्तिसन्तुलनमा सीमित हुन सक्छ ।
निर्वाचन आयोगले प्राविधिक तयारी अघि बढाइरहेको भए पनि राजनीतिक वातावरण अनुकूल नभएसम्म चुनावी प्रक्रिया प्रभावकारी हुन सक्दैन । दलहरूको जिम्मेवार व्यवहार, चुनावी परिणाम स्वीकार्ने संस्कार र असन्तुष्ट पक्षलाई लोकतान्त्रिक प्रक्रियामै समेट्ने प्रतिबद्धता अपरिहार्य हुन्छ । त्यसैगरी, जेन जी समूहले पनि आन्तरिक विभाजनलाई व्यवस्थापन गर्दै स्पष्ट र संगठनात्मक एकता निर्माण नगरेसम्म दीर्घकालीन प्रभाव कायम गर्न कठिन देखिन्छ ।
अन्ततः निर्वाचन अनिश्चित हुनुको मूल कारण मिति होइन, राजनीतिक इच्छाशक्ति हो । दलहरू र नयाँ शक्तिहरू दुवैले लोकतान्त्रिक मर्यादा, संवाद र सहमतिलाई प्राथमिकता नदिएसम्म तोकिएको मितिमा निर्वाचन भए पनि त्यसको वैधता र स्वीकार्यता प्रश्नको घेरामा पर्न सक्छ । अर्थात पुरानै दलहरु हावी हुन्छन् । अहिलेको आवश्यकता निर्वाचनलाई केवल प्रक्रियागत औपचारिकतामा सीमित नगरी राजनीतिक स्थायित्व र जनविश्वास पुनःस्थापना गर्ने माध्यमका रूपमा स्थापित गर्नु हो । त्यसका लागि सबै राजनीतिक पक्षहरूले जिम्मेवारीबोधसहित अगाडि बढ्नु पर्ने देखिन्छ ।