:– बाबुराम कार्की–:
दमक / दमक नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ को बजेट निर्माण प्रक्रियालाई थप सहभागितामूलक बनाउन वडागत सिलिङ बजेट तथा योजना छनौटसम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ ।
नगरपालिकाले कुल १६ करोड रुपैयाँ वडागत बजेट विनियोजन गर्दै प्रत्येक वडालाई आफ्नो क्षेत्रको आवश्यकता र प्राथमिकताअनुसार योजना तथा कार्यक्रम छनौट गर्न निर्देशन दिएको हो । सार्वजनिक गरिएको विवरणअनुसार वडा नं. १ ले सबैभन्दा बढी करिब १ करोड ५५ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ भने अन्य वडाहरूले जनसंख्या, सेवा प्रवाह र विकास आवश्यकताका आधारमा क्रमशः बजेट पाएका छन् । वडागत बजेटमध्ये ६५ प्रतिशत पूर्वाधार विकास, १० प्रतिशत आर्थिक विकास तथा स्वरोजगार प्रवद्र्धन, १५ प्रतिशत सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार साथै ५–५ प्रतिशत वातावरण तथा विपद् व्यवस्थापन र मर्मत सुधारका क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाले विकास निर्माण प्रक्रियामा स्थानीय नागरिकको अपनत्व र सहभागिता बढाउने उद्देश्यले टोल विकास संस्था, नागरिक समाज, बालबालिका, महिला, युवा तथा अन्य सरोकारवालालाई वडा तथा टोल भेलामार्फत बजेट निर्माण प्रक्रियामा सहभागी गराउने निर्णय गरेको नगरप्रमुख रामकुमार थापाले जानकारी दिए ।
टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि, २०८२ अनुसार प्रत्येक टोलबाट आवश्यक योजना तथा कार्यक्रमको पहिचान गरी वडा तहमा प्रस्ताव लैजाने व्यवस्था मिलाइएको छ । यसबाट स्थानीय आवश्यकता र जनचाहनाअनुसार योजना छनोट हुने अपेक्षा गरिएको थापाले स्पष्ट पारे ।
मार्गदर्शनअनुसार प्रत्येक वडाले नगरस्तरीय महत्वका कम्तीमा दुई वटा योजना छनोट गर्नुपर्नेछ, जसका लागि प्रत्येक योजनामा ३० लाख रुपैयाँको सीमा तोकिएको छ । साथै साविकका तीन वडा गाभिएर बनेका हालका वडा नं. २, ३, ४ र १० मा जनसंख्या र सेवा प्रवाहको चाप बढी भएकाले ती वडाहरूले थप २५ लाख रुपैयाँ बराबरको कम्तीमा एक
नगरस्तरीय योजना छनौट गर्न सक्ने व्यवस्था गरिएको छ । नगरपालिकाले नगरस्तरीय योजनालाई टुक्र्याएर साना–साना आयोजना बनाउने, एउटै योजनालाई पटक–पटक खण्डीकरण गर्ने वा एकीकृत योजनाको स्वरूप बिगार्ने कार्य गर्न नपाइने स्पष्ट निर्देशन दिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई जनमुखी, पारदर्शी र आवश्यकतामूलक बनाउन वडा तथा टोल भेलामा सक्रिय सहभागिता जनाउन नगरवासीलाई आग्रह गरेको छ । स्थानीय स्तरबाट प्राप्त सुझाव, माग र प्राथमिकताका आधारमा नै आगामी वर्षका विकास योजना तथा कार्यक्रमलाई अन्तिम रूप दिइने भएकाले नागरिकको सहभागिता महत्वपूर्ण रहने नगरपालिकाले जनाएको छ ।

Author

You may also like