दमक/ झापाको दमक–५ स्थित गोरखा डिपार्टमेन्ट स्टोरको भव्य भवनमा भूइँ तलाका कोठा बहालमा लिएका १६ जना व्यवसायीले भाडा नतिर्दा संचालकले आफू मर्कामा परेको बताएका छन् ।
ति व्यवसायीले व्यापारिक प्रयोजनका लागि लिएको २१ वटा कोठाको न्यूनतम १३ महिनादेखि अधिकतम ४५ महिनाको भाडा नतिरेको सो स्टोरका संचालक बलराम आचार्यले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।
बक्यौता भाडा रकम जम्मा १ करोड २८ लाख ९८ हजार २१३ रुपैयाँ रहेको छ । एक जना व्यवसायी बराबर कम्तिमा १ लाख ५ हजारदेखि बढीमा २३ लाख ५ हजारसम्म रहेको त्यस अवसरमा सो स्टोरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । पटक–पटक ताकेता गर्दा पनि व्यवसायीहरुले भाडा बुझाउँछु भन्ने गरेको तर व्यवहारमा भने नतिरेको जानकारी गराइएको छ । भाडा असुलमा सहयोग गर्न गत पु्ष ४ गते दमक नगरपालिका वडा नम्वर ५ को कार्यालय, इलाका प्रहरी कार्यालय दमक र दमक उद्योग वाणिज्य संघलाई लिखित अनुरोध गरेपनि ति कार्यालयहरुबाट कुनै सहयोग नपाएको गुनासो समेत सो स्टोरका संचालक आचार्यले गरे । सुनसरीको इटहरीमा सो स्टोर संचालन गरी झापाको दमक लगायतका ठाउँमा विस्तार गरी व्यापारमा सफल इतिहास रचेको गोरखा डिपार्टमेन्ट स्टोरले कोरोना महामारीका कारण भने आफ्नो कारोबारमा असर पुगेको समेत बताएको छ । दमकमा विगत ६ वर्षदेखि गोरखा डिपार्टमेन्ट स्टोरको शाखा संचालनमा आएको हो । दमकमा सो डिपार्टमेन्ट स्टोरले ६ जना घरधनीहरुबाट सो भवन ५१ वर्षका लागि लिजमा लिएर आफ्नो व्यापार व्यवसाय संचालन गरिरहेको छ । इटहरीमा मुख्य कार्यालय रहेको सो स्टोरको विराटचौक, पथरी र दमकमा गरी ४ वटा शाखा रहेका छन् ।
व्यवसायीहरुले भाडा नतिरेपछि कोठामा ताला लगाउन खोज्दा त्यसको प्रतिवाद गरेको समेत त्यस अवसरमा जानकारी गराइयो । र्एक करोड रुपैयाँभन्दा बढी भाडा नउठ्दा आफूहरु अन्यायमा परेको स्टोरका संचालक आचार्यले गुनासो गरे । व्यापार गरिरहने तर कोठाको भाडा नतिर्ने साथै उल्टै विभिन्न संचारमाध्यमहरुमा सो डिपार्टमेन्टकै गलत प्रचार गरी बद्नाम गर्न खोेजिएकाले बाध्य भएर पत्रकार सम्मेलन गरी यथार्थ कुरा सार्वजनिक गर्नुपरेको स्टोर संचालक आचार्यले प्रष्ट पारे ।तर व्यवसायीहरुले अझै बक्यौता भाडा तिर्न अटेर गरे कानुनी प्रकृयामा जाने सो अवसरमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा स्टोर संचालक र घरधनीहरुबिच भने कुनै समस्या नरहेको पनि प्रष्ट पारियो ।