दमक/ राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमिसम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् । झापाको कमल गाउँपालिकामा सोमबार पालिकासंग भूमि सम्बन्धी समस्या समाधान गर्न आयोगसंग सम्झौता पत्र आदानप्रदान गर्दे उनले सुकुम्बासीहरूको सुकुम्बासी, भूमिहिन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीहरुको भूमि समस्या समाधान गर्न आयोग प्रतिवद्ध भएको बताए । देशैभरि देखिएका भूमि समस्या हटाउन सरकारले जिम्मेवारी दिएको उल्लेख गर्दे अध्यक्ष निरौलाले भने, –भूमि आयोग निष्पक्ष भएर सुकुम्बासी लगायतका भूमि सम्बन्धी समस्या हटाउँदै भूमिमा सबैको अधिकार स्थापित गर्ने गरी काम थालेका छौं ।’ सम्झौता पत्र आदानप्रदानका क्रममा पालिकाकी अध्यक्ष मेनुका काफ्लेले गाउँँपालिका भित्रका सुकुम्बासी, भूहिहीन दलित, अव्यवस्थित बसोबासीलाई सहज ढंगले जतिछिटो जग्गाको धनीपूर्जा प्रमाणपत्र दिन आग्रह गरकी थिइन् । उक्त सम्झौता आदानप्रदान कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डे लगायतको उपस्थिति रहेको थियो । आयोग टोलीले सोमबारनै गौरादह नगरपालिकासंग त्यहाँको भूमि सम्बन्धी समस्याका बारेमा अन्तरक्रिया भएको आयोगका जिल्ला अध्यक्ष पाण्डेले बताए ।