दमक/ आर्थिक अभावका कारण उपचार गर्न समस्या झेल्दैआएका झापाको दमक –९ का ७ वर्र्षीय बालक योगेन्द्र कटुवालले उपचार पाएका छन् ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका योगेन्द्रको उपचारमा समस्या भएको समाचार पूर्वसन्देश दैनिकमा यही फागुन १२ गते प्रकाशित भएपछि दमक जेसीजको समन्वयमा दमकको मेची नेत्रालयले निःशुल्क उपचार गरिदिएको हो ।
योगेन्द्रको स्थानीय अस्पतालमा उपचार सम्भव भएपनि त्यति गर्न समेत पैसा नहुँदा कटुवाल परिवार बिचल्लीमा परेको समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भए लगत्तै दमक जेसीजका अध्यक्ष सञ्जीव बरालले बालकको उपचारका लागि नेत्रालयका नेत्र रोग विशेषज्ञ डाक्टर राजेश श्रेष्ठसँग परामर्श गरी उपचारको व्यवस्था मिलाएका थिए । बालकको आँखाको बाहिरी भागमा पलाएको मासु नेत्रालयका डा. श्रेष्ठसहितको टोलीले आइतबार शल्यक्रिया गरिदिएको होे । छोराले उपचार पाएपछि उनका बुवा भक्तबहादुरले सबै मनकारी सहयोगीहरुलाई धन्यवाद दिएका छन् । गतवर्ष क्यान्सरबाट आमा गुमाएका कक्षा १ मा अध्ययनरत बालकलाई रोजियट ब्राइट अंग्रेजी बोर्डिङ स्कूलले निःशुल्क पढाउँदै आएको छ ।