दमक/झापाको दमकमा घर–घरका सेफ्टीट्याङ्कीबाट निस्कने पानीजन्य फोहोर ढल प्रशोधन गरेर विद्युत तथा मल उत्पादन गर्ने योजनाको १५ महिनामा भौतिक प्रगति ३७ प्रतिशत भएको छ । पहिलो चरण अन्तर्गत ढल व्यवस्थित रुपमा संकलन गर्न पाइपिङ गर्ने काम धमाधम भइरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत दमक नगरपालिका ढल निर्माण योजनाको काम विगत १५ महिनादेखि सञ्चालन भइरहेको छ । प्रत्येक घरका सेफ्टीट्याङ्कीबाट निस्कने फोहोर तथा किचन र बाथरुमको धाराबाट निस्कने तरल तथा फोहोरजन्य पदार्थ विभिन्न क्षेत्रबाट एकै ठाउँमा संकलन गरिने छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका आयोजना प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनियर विपुलकुमार लाल दासका अनुसार ढलको पानी प्रशोधन गरेर मल र विद्युत उत्पादन गर्न सकिन्छ ।
हालसम्म ११ किलोमिटर पाइपिङ गर्ने काम सम्पन्न भएको छ । ढल व्यवस्थित हुँदा एकातिर शहर सुन्दर सफा हुन्छ भने अर्कोतिर त्यसै खेर जाने ढललाई प्रशोधन गरीण् पुनः सफा पानी नदीमा नै फर्काउन समेत सकिन्छ । ढलमा खाली फोहोर मात्र बग्ने होइन यसबाट मोहोर साट्न सकिन्छ । यो योजना देशका ठूला शहरमा सफल भएका कारण अन्य क्षेत्रमा समेत विस्तार गर्न थालिएको हो प्रमुख दासले बताए । पहिला निर्माण गरिएका ढलमा घरको ट्वाइलेटको सेफ्ीट्याङ्कीको फोहोर हाल्न मिल्दैन थियो । तर यसमा अब सबै घरका सेफ्टीट्याङ्की ढलमा जोडिन्छ ।
यसरी जोडिएको ढलको फोहोर शहरको पुछार बालुवाटारमा ब्यवस्थित रुपमा प्रशोधन गरी पुनः स्वच्छ पानी नदीमा फर्काइन्छ । यसरी प्रशोधन गर्दा उद्योगबाट निस्कने फोहोर भने मिसाउन पाइने छैन । जैविक फोहोर ढलमार्फत् संकलन गरी प्रशोधन पश्चात् वायो ग्याँसबाट विद्युत उत्पादन गरिन्छ । नेपालमा काठमाडौंको गुह्येश्वरीमा अहिलेपनि ७ मेगावाट विद्युत उत्पादन भइरहेको छ । यसले गर्दा यो परियोजना दमकमा समेत सफल हुनेमा अपेक्षा गरिएको छ । दमकमा भने अढाइ मेगावाट विद्युत उत्पादन हुनसक्ने अनुमान गरिएको छ ।
शहरको दक्षिण क्षेत्रमा प्रशोधन केन्द्र स्थापना गरी ठोस पदार्थबाट प्राङ्गारिक मल उत्पादन गरिन्छ । दमक नगरपालिका अन्तर्गत १, २, ३, ५, ६, ७ र ८ वडामा ढलको पाइप विस्तार गर्ने काम गरिनेछ । दमक नगरपालिका अन्तर्गत पूर्वोत्तर नमुना बस्तीदेखि पश्चिम उत्तर जिराइत चौक आम्दा रोड हुँदै दक्षिण पश्चिममा क्याम्पस मोड र पूर्वदक्षिणमा औद्योगिक क्षेत्रभित्र विस्तार गरिने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका साईट इञ्जिनियर हुमेन्द्रप्रासद देवले जानकारी दिए ।
घना बस्ती भएको बजार क्षेत्रलाई लक्षित गरेर पहिलो चरणमा ३४ दशमलव ०७ किलोमिटर ढलको पाईप बिछ्याइने इञ्जिनियर देवले जानकारी दिए । यसमा प्रत्येक ३० मिटरको दूरीमा मेन चेम्वर राखिन्छ । पाईप विस्तार गरिएको दाँयाबाँया हाउस कलेक्सन चेम्बर निर्माण गरिन्छ । यहाँ मेन होल १ हजार ४ सय ३ वटा निर्माण गरिनेछ । घरधुरी कलेक्सन २ हजार ८ वटा निर्माण गरिने जनाइएको छ । यसको कुल बजेट ७४ करोड ३१ लाख रहेको छ । आयोजना मिति २०७७ आसोज २६ गते सुरु भइ आगामी २०७९ चैत २५ गतेसम्ममा सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ । हाल पाइप विछ्याउने काम मात्र सञ्चालन भएकाले दोश्रो चरणमा प्रशोधन र उत्पादनको समेत योजना आउने छ । हाल ढलमा पाइप विछ्याउने काम मात्र भइरहेकाले मल उत्पादन गर्ने कामको मात्र टुङ्गो लागेको छ । बाँकी विद्युत उत्पादनको विषय भने पछि नै मात्र टुङ्गो लाग्ने जनाइएको छ । आयोजना सम्पन्न भएपछि आवश्यक परामर्शदाता छनौट गर्ने प्रकृया अघि बढिरहेको छ । यसका साथै ढलको पाइप विछ्याउँदा भत्काइएका सडकमध्ये यस आर्थिक वर्ष भित्रमा ७ किलोमिटर सडक कालोपत्रे गर्ने काम अघि बढिरहेको जानकारी गराइएको छ ।