र्थिक मन्दी र दानाको निरन्तर मूल्यवृद्धिका कारण लामो समयदेखि दबाबमा रहेको कोशी प्रदेशको पोल्ट्री व्यवसाय अहिले बर्डफ्लु सङ्क्रमणको अर्को गम्भीर संकट झेलिरहेको छ ।
चैतयता झापा, मोरङ र सुनसरीमा ४ लाख १२ हजार ९५४ वटा कुखुरा नष्ट गरिनु र यसबाट ५० करोड रुपैयाँभन्दा बढीको क्षति हुनु केवल केही किसानको समस्या मात्र होइन, प्रदेशको कृषि अर्थतन्त्र र खाद्य सुरक्षामाथिको गम्भीर चुनौती हो ।
विशेषगरी झापा, मोरङ र सुनसरीमा बर्डफ्लुको समस्या दिनप्रतिदिन विकराल बन्दै गएको छ । विभिन्न पालिकामा संक्रमण देखिनु, फार्महरू सिल गरिनु र हजारौं कुखुरा नष्ट गरिनुले किसानमा त्रास बढाएको छ । एकातिर उत्पादन बन्द हुने अवस्था छ भने अर्कोतिर लगानी डुब्ने चिन्ताले किसानहरू मानसिक र आर्थिक रूपमा थिलथिलो बनेका छन् । कृषिमा आधारित जिल्लाका रूपमा परिचित झापामा यस्तो संकटले समग्र स्थानीय अर्थतन्त्रलाई समेत असर पार्ने संकेत देखिएको छ ।
पोल्ट्री व्यवसाय नेपालको कृषि अर्थतन्त्रको महत्वपूर्ण आधार हो । हजारौं किसान, मजदुर, व्यवसायी तथा यातायात र दाना उद्योग यस क्षेत्रसँग प्रत्यक्ष जोडिएका छन् । तर विडम्बना, यही क्षेत्रका किसानहरू विगत केही वर्षदेखि एकपछि अर्को संकटको सामना गर्न बाध्य छन् । कोरोना महामारीका बेला बजार बन्द हुँदा ठूलो क्षति बेहोरेका किसान आर्थिक रूपमा अझै उठ्न सकेका छैनन् । त्यसपछि दानाको मूल्य आकाशियो, उत्पादन लागत बढ्यो, बजारमा माग घट्यो र अहिले बर्डफ्लुले थप संकट निम्त्याएको छ । किसानले निरन्तर घाटा व्यहोर्नुपरेको अवस्था छ ।
कृषि प्रधान देशको अर्थतन्त्रलाई टेवा दिने किसान नै बारम्बार समस्याको चपेटामा पर्नु दुःखद मात्र होइन, राज्यका लागि पनि गम्भीर चिन्ताको विषय हो । उत्पादनको जोखिम किसानले एक्लै बोक्ने र संकटका बेला राज्यको उपस्थिति कमजोर देखिने प्रवृत्तिले कृषिप्रति निराशा बढाउने खतरा छ । यदि यही अवस्था कायम रह्यो भने धेरै किसान पोल्ट्री व्यवसायबाट विस्थापित हुन सक्ने जोखिम रहने देखिन्छ ।
यस्तो अवस्थामा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले प्रभावित किसानलाई तत्काल राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ । रोगका कारण नष्ट गरिएका कुखुरा तथा अन्य सामग्रीको वास्तविक मूल्यांकन गरी शीघ्र क्षतिपूर्ति उपलब्ध गराउनु आवश्यक छ । साथै, किसानलाई सहुलियत ऋण, बीउपूँजी पुनस्र्थापना कार्यक्रम तथा प्राविधिक सहयोग प्रदान गरिनुपर्छ ।
किसानले देशलाई खाद्य सुरक्षाको आधार प्रदान गरेका छन् । आज बर्डफ्लुले थला परेको पोल्ट्री क्षेत्रलाई जोगाउन राज्यले तत्काल र प्रभावकारी योजना र राहत प्रदान गर्न सकेन भने यसको असर केवल किसानमा सीमित रहने छैन; यसले समग्र कृषि क्षेत्र, रोजगारी र उपभोक्ता बजारलाई समेत प्रभावित गर्नेछ ।

Author

You may also like