कतै तेस्रो वैकल्पिक शक्तिको उदय त हुने होइन? फेरि पनि पुरानै राजतन्त्र फर्किने त होइन? यदि त्यस्तो भयो भने पुराना राजनीतिक दलहरूको अवस्था के होला? यस्ता अनेक प्रश्न र अड्कलबाजीको संघारमा देश उभिएको थियो ।
तर गत फागुन २१ गते सम्पन्न प्रत्यक्ष तथा समानुपातिक निर्वाचनले यी धेरै अन्यौललाई चिरेको छ। समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको यस निर्वाचनले नेपाली जनताको राजनीतिक चेतना र परिपक्वताको पुनः पुष्टि गरेको छ। छिटफुट घटनाबाहेक कुनै ठूलो अप्रिय अवस्था सिर्जना नभएकोमा राज्य संयन्त्र र सरकारको भूमिका उल्लेखनीय रह्यो ।
यस निर्वाचनले एउटा स्पष्ट सन्देश दिएको छ–नेपाली जनता अब केवल पार्टी होइन, योग्य उम्मेदवारको पक्षमा उभिन थालेका छन्। परिणाम पनि त्यस्तै आयो, जुन धेरैका लागि अप्रत्याशित थियो। लामो समयदेखि शासन सत्तामा आलोपालो गर्दै आएका ठूला दलहरू खुम्चिएका छन् भने नयाँ शक्तिहरूको उदय भएको छ ।
विगत तीन दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले आलोपालो सरकार सञ्चालन गर्दै आएका थिए। लोकतान्त्रिक अभ्यासको निरन्तरतामा यो स्वाभाविक प्रक्रिया भए पनि जनअपेक्षा अनुरूप शासन सञ्चालन हुन नसकेको गुनासो बढ्दै गयो। विकास निर्माणका काम भए पनि राजनीतिक अस्थिरता, बारम्बार सरकार परिवर्तन र सत्ताकेन्द्रित राजनीति जनतामा वितृष्णा पैदा गर्ने कारक बने ।
विशेषतः नयाँ पुस्ता–जेनजीले यी सबै अवस्थालाई मौन रूपमा विश्लेषण गरिरहेको थियो। उनीहरू चिच्याएनन्, सडकमा देखिएनन्, तर भित्रभित्रै निष्कर्ष निकालिरहेका थिए। पुराना नेताहरूको दोहोरिने भाषण, आत्मआलोचनाको अभाव र समयअनुसार रूपान्तरण गर्न नसक्ने प्रवृत्तिले उनीहरूलाई थप निराश बनायो ।
समय सधैं गतिशील हुन्छ। राजनीति पनि यसबाट अछुतो रहँदैन। यही क्रममा नयाँ ऊर्जा, नयाँ सोच र नयाँ दृष्टिकोण बोकेका युवाहरू राजनीतिक मैदानमा उत्रिए। तर सत्ता र शक्तिको उन्मादमा रमाएका पुराना शक्तिहरूले यस परिवर्तनको संकेत समयमै बुझ्न सकेनन् ।
शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत मुद्दामा राज्यको प्रभावकारी उपस्थिति नदेखिँदा असन्तुष्टि झन् बढ्दै गयो । शिक्षक आन्दोलनदेखि विभिन्न पेशागत समूहका मागसम्म बेवास्ता गरिँदा जनआक्रोश गहिरिँदै गयो । तर यो आक्रोश सडकमा होइन, मतपेटिकामा विस्फोट भयो ।
यसपटकको निर्वाचनमा कलमजीवी, बुद्धिजीवी, कलाकार, पत्रकार र नागरिक समाजका धेरै व्यक्तिहरूले पुराना दलप्रतिको आफ्नो परम्परागत झुकाव तोड्दै नयाँ विकल्प रोजे। यो केवल राजनीतिक परिवर्तन होइन, सामाजिक मनोविज्ञानमा आएको ठूलो रूपान्तरण हो ।
विशेषतः राष्टिूय स्वतन्त्र पार्टी (रास्वपा) प्रति देखिएको आकर्षण यसैको परिणाम हो। लामो समयदेखि थिचिएका, मिचिएका र उपेक्षित जनताले स्वतःस्फूर्त रूपमा आफ्नो मत यस नयाँ शक्तिलाई दिएका छन्। पुराना वाचा पूरा नगर्ने, भ्रष्टाचारका काण्डमा मुछिने र जनभावनाबाट टाढा हुने प्रवृत्तिप्रति जनताले यसरी प्रतिक्रिया दिएका हुन्।
विगतमा घटेका विभिन्न काण्ड, हराएका फाइलहरू, लम्बिएका मुद्दाहरू र कानुनी राज्यको कमजोर कार्यान्वयनले जनविश्वासमा गम्भीर चोट पु¥याएको थियो। सत्ताको पहुँचमा रहेका व्यक्तिहरूको जीवनशैलीमा आएको अस्वाभाविक परिवर्तनले पनि जनआक्रोशलाई थप उचाइ दियो ।
यही सन्दर्भमा नयाँ शक्तिले गाउँ(सहरमा गोप्य रूपमा जनमत निर्माण गर्दै आफ्नो प्रभाव विस्तार ग¥यो। परिणामस्वरूप, अपेक्षाभन्दा धेरै स्थानमा नयाँ अनुहारहरूले विजय हासिल गरे। प्राविधिक, चिकित्सक, शिक्षित र पेशागत रूपमा सक्षम व्यक्तिहरूको संसद् प्रवेशले नयाँ सम्भावनाको संकेत दिएको छ ।
तथ्यांकले पनि यही कथा भन्छ(२०६४ मा माओवादीको उदय, २०७० मा कांग्रेसको पुनरागमन, २०७४ मा एमालेको वर्चस्व र २०७९ मा पुनः कांग्रेसको अग्रता। तर अहिलेको परिदृश्यमा रास्वपाले छोटो समयमै जनविश्वास जित्दै उल्लेखनीय उपस्थिति जनाएको छ ।
अब प्रश्न उठ्छ–के यो तेस्रो शक्तिको स्थायी उदय हो? वा क्षणिक उभार मात्र?
यसको उत्तर भविष्यले दिनेछ। तर एउटा कुरा स्पष्ट छ(जनता अब चेतनशील भएका छन्। उनीहरू परिवर्तन चाहन्छन्, जवाफदेहिता खोज्छन् र परिणाममुखी शासनको अपेक्षा राख्छन् ।
यदि नयाँ शक्ति संयम, समावेशिता र सहकार्यको मार्गमा अघि बढ्न सके भने यसले दीर्घकालीन राजनीतिक विकल्पका रूपमा आफूलाई स्थापित गर्न सक्छ। अन्यथा इतिहासले फेरि दोहोरिन पनि सक्छ ।
अन्ततः लोकतन्त्रको सौन्दर्य नै यही हो–जनताको मत नै अन्तिम निर्णय हो।
लोकतान्त्रिक गणतन्त्र जिन्दावाद ।